सत्ता जब गाउँमा पुग्छ
घुमिरहन्छ-
गरिबको हर प्रहरमा
मजदुरहरूको हरेक रहरमा
श्रमिकहरूको घर घरमा
किसानहरूको प्रत्येक चरणमा
सत्ता जब पुग्छ स्कुलमा
घुमिरहन्छ-
कुम च्यातिएका सर्टहरूमा
कपाल नकोरेका चाम्रिएका अनुहारहरूमा
किताब नभएका रित्ता झोलाहरूमा
खुट्टा भाँचिएका बेन्चहरूमा
जब सत्ता पुग्छ अस्पतालमा
घुमिरहन्छ-
मृत्युसँग लडिरहेका बिमारहरूमा
कुपोषण भएका लङ्गडाहरूमा
सिटामोल नभेटिने र्याकहरूमा
थर्मोमिटर नदेखिने टेबलहरूमा
पुग्छ जब सत्ता भाषणमा
घुमिरहन्छ-
भोका पेटहरूमा
नाङ्गा शरीरहरूमा
निराश आँखाहरूमा
उदासीन जिउँदा लासहरूमा
तर,
जब पुग्छ सत्ता सिंहदरबारमा
भुलिदिन्छ उसले सबै-
लङ्गडा-बेन्च-कुम-नाङ्गा अनि भोकाहरूलाई
सिर्फ घुमिरहन्छ-
व्यवधानहरूमा
व्यभिचारीहरूमा
बेतुक-हरूमा
जब पुग्छ सत्ता सिंहदरबारमा
घुम्दैन बिचराहरूमा
केवल घुमिरहन्छ-
साँठगाँठहरूमा
सम्झौताहरूमा
खरिद-व्यापारमा
सत्ताले त्यहाँबाट बेच्छ-
अस्पतालमा दान गरिएका किड्नीहरू
कलेज पढाउँदै गरेका प्रोफेसरहरू
चिनी बनाउने हातहरू
आलु उत्पादन गर्ने पाखुराहरू
सिंहदरबारमा व्यस्त रहन्छ सत्ता-
नादानका चेहरा कुल्चिरहनेमा
गरिबका पसिना लुटिरहनेमा
सिंहदरबारमा सत्ता घुमिरहन्छ-
भ्रष्टाचारका आयामहरूमा
भ्रष्टाचारीका मेलमिलापहरूमा।