बधाई छ !!
तिमी मेरो एक सानो साहित्यको मुख्य पात्र बनेको छौ! यो मेरो इतिहास हो, जुन रच्नको लागि मैले यो मौका पाएको छु! जहाँ अध्यायभन्दा धेरै भोगाइ महत्त्वपूर्ण रहेछ! भौतिक रूपमा नजिक हुनु र भावनात्मक रूपमा नजिक हुन सक्नु आकाश पातलको फरक हो भन्ने महसुस भएको छ!
प्राय: कुनै पनि व्यक्ति सुरूमा ज्यादै राम्रो, र विस्तारै मन पर्न छाड्नु प्राकृतिक नियम जस्तै नै हो! सायद कसैलाई यो नियम पूर्णरूपमा लागू भएको हुनुपर्छ!
के लेखूँ? तिमी लेखूँ वा तिम्रो त्यो झुटा मुस्कान लेखूँ? परिचित हौ भनेर लेखूँ या अन्जान भनेर लेखूँ? लेख्दै त छु!
अनावश्यक कुरा सुन्न र सुनाउन धेरैलाई मन नहुन सक्छ, जो कोहीले अरूको पीडा मर्का अलिकति ख्याल गर्दैनन् पनि, सुख दु:ख बाँड्ने र कुरा सुन्न आउनेहरू कम नै हुन्छन्! यस्तैको लागि आउने भए आऊ नत्र आफू एक्लै काफी छु भन्ने लागेकै कारण कुनै सम्बन्धमा हतपत रहन चाहन्नथेँ।
कोही कसैले जबर्जस्ती गरिदिँदा थाहै भएन कतिबेला परिवर्तन भएछु, मान्छेको मन बदलिन समय लाग्दो रहेनछ।
हिजो कस्तो थिएँ, आज कस्तो भएँ भन्ने नसोचेको पनि होइन, विदेशको लामो बसाइँ, आफन्तहरूसँगको कम बोलचाल, कम साथीभाइ, पातलो साथीहरूसँगको भेट सम्बन्धले शिथिल मन, कुनै काममै व्यस्त भए पनि करकापमै नजिक हुँदै जाँदा केही हप्तामै आदत बन्न पुगेको हेक्का रहेन, समयको बाबजुद भौतिक दूरी टाढा भए पनि, करकापमा भेट्ने बाध्यता पर्यो, भविष्यको चिन्ता गर्ने ऊ। सम्बन्ध रहिरहे विगत जे भए पनि बनाएपछिको सम्बन्ध त्यत्तिकै सकाउने सोचाइ थिएन!
पहिलो भेटमा भएको सुमधुर सम्बन्धले मनसाय निकै उत्साहित थियो। फेरि यसै त किन भेट्नु, भेटिएपछि केही सम्झन लायक भेट होस्, सधैं याद आइरहने खालको भेट होस्, फेरि भेटौं भेटौं लागिरहोस् त्यस्तो भेट होस् नसोचेको म, दोस्रो भेटसम्म आइपुग्दा, आजसम्म कसैले नचलाएको कमलो मन फुटेर विचलित भएछ! होसमा आएपछि मात्रै मूल्यांकन गर्न सकेछु! बेहोसीमै रोएँ, कराएँ सजिलै थियो केही भएन तर होसमा आएपछि सहनुपर्ने लाज भयो, सहन ज्यादै गाह्रो हुने रहेछ! कसैको मनमा माया जगाएर धोका दिनु उसको हत्या गरे बराबर हो, हो मेरो मनको हत्या भएको छ, दुखको बेग छेक्न बनाएको पर्खालले मेरै खुसीको किरण केही समयको लागि भए पनि छेकेरै अन्धकार बनाएरै छाड्यो!
हामी दुबै बीचमा कुनै सम्बन्ध थियो या थिएन, थाहा छैन। तर केही त थियो, जो प्रेमजस्तै मीठो थियो तर उनीप्रति धेरै कुराहरू अपरिचित थिए र भई पनि रहे! सामान्य भोगाइ पनि केही नभएको मेरो आफ्नो मनको कुनामा कता कता यस्तै हुन्छ कि भन्ने डर नभएको होइन, तर गरिने लगातारको संवाद, व्यवहारले झलक दर्साउन सक्ने थिएन जुन कला कुनै व्यक्ति विशेषमा हुने रहेछ!
पहिलेका भेटहरूमा छुट्टिँदा हुने कुरा संवाद अलग फरक रहे, सधैं अब कहिले फेरि भन्ने उनी बाई भनेर कुनै निसङ्कोच आफ्नो बाटो लागेको देखेर मन भारी भैराखेको थियो। जे गरे पनि जस्तो गरे पनि छुट्टिने बेला अलिकति भावनात्मक सम्बन्ध देखाइदिएको भए सायद अलि बेग्लै महसुस हुने थियो होला!
छुटे पछिको पहिलो म्यासेज नै बाई र त्यसपछि पनि फेरि बाई बाई, भनेर लगातार आएको पहिलो चोटि, जुन कहिले अगाडि आएको जस्तो लागेको थिएन जुन पहिलो थियो। कहाँ जाने कसरी जाने कति बेला जाने अघिल्ला छुटाइमा लगातार प्रश्न भैरहने थिए। अपसोच यसपटक कुनै भएन, गरिएका प्रश्नहरू सुख्खा आकाशमा वर्षा बिनाका फिका बादल जस्तै हल्का भैसकेका थिए, आएका प्रतिउत्तरबाट नमिठो गन्ध आइरहेको अनुभव गरेको थिए, अपसोच विस्तारै मन बुझाउन नसक्ने अवस्थामा रहिरहेँ!
केही गल्ती पो हो कि! भनी कारण नसोधेको पनि होइन फकाउन प्रयास पनि गरेँ तर रिसाउनेलाई फकाउन सकिन्छ, तर अघाउनेलाई होइन भन्ने लाग्यो! नलेखिएको साइनो अधुरो हुँदोरहेछ बिछोडको बेदनाले मन जल्दाको पीडा के थाहा मुटुमा पथ्थर हुनेलाई! याद निकै नै आइरहे, यात्रा गर्दागर्दै चिनजान भएका मानिएहरूको त याद आउँछ, ऊ त जबर्जस्ती मन नै ओगटेको मान्छे कसरी बिर्सन सक्छु र? जसको यादले सताउँछ, उसको हृदयमा पनि तिमी नै हुनेछौ भन्नु भ्रम मात्रै रहेछ! म यस्तै छु हरकोहीसँग मिल्न नसक्ने र मिल्नेहरूलाई भुल्न नसक्ने ....आइरह्यो याद, चस्की रह्यो मुटु र फुटिरह्यो साहित्य!!
तिमी गयौ सबथोक गयो, मन भित्रको आलोक गयो, आफन्त छन् तर बिराना छन्, यादहरू छन्, तर पुराना छन्! जो छोडेर गयो ऊ त गैसक्यो,फर्केर आउँछ भन्ने आशमा पर्खेर बस्नु भनेको मेरो बेवकुफी मात्र हो! फेरि याद आयो मैले तिमीलाई आफू नै नरहेर चाहेको थिएँ, चाहन्छु पनि अझै त म भन्दिनँ, तिमीलाई बिर्सिनु भनेको मैले सास फेर्न छोड्नु जस्तै हो जुन असम्भव छ तर तिमीलाई सम्झिएर पनि त अघि बढ्न सक्छु तिम्रो यादहरूमा अल्झिएर बस्नुभन्दा तिम्रा यादहरूसँगै लिएर सफल हुन सक्छु!
तिमी प्रेम गर या नगर मलाई कुनै सरोकार छैन म तिमीलाई एकोहोरो गरिनै रहन्छु! मेरो लागि यति नै काफी छ! तिमी मेरो जीवनको त्यो क्षणिक खुसी हौ जसलाई म चाहेर पनि आफूबाट अलग गराउन सक्दिनँ!!
मनका चोटहरू सन्चो होलान् तर त्यो चोटका कारण बसेको खोटलाई पुर्न ममा असम्भव नै छ! मलाई तिमी अरूकै भयौ भनेर कुनै गुनासो छैन, किनकि तिमी मेरो कहिल्यै थिएनौ। हिजो तिमी कसैको छोरी थियौ, कसैकी प्रेमिका, र भोलि कसैकी श्रीमती! तिमी मेरो कहिले पो थियौ र? थियौ त केही छोटो समयको लागि! तिमी जससँग हुन चाहन्छौ, उससँग हुने तिम्रो हक हो। म तिम्रो खुसीको लागि मेरो सर्वस्व त दाउमा राख्न पनि सक्दिनँ भने, तिमी जससँग खुसी हुन्छौ, उसँग हुन दिन्नँ भन्ने सोच्नु मेरो भ्रम मात्र हो!
मलाई तिम्रो खुसीमा खुसी हुन आउँछ! तिमी जहाँ छौ खुसी रहनू। यदि जिन्दगीको कुनै मोडमा तिमीलाई मेरो सामीप्यताको जरूरत पर्यो भने, तिमी निसंकोच मलाई याद गर्नू। म तिम्रो लागि हरपल हुनेछु, बस कुनै माध्यमका ढोकाहरू बन्द हुनु हुँदैन! म तिम्रा यादहरूलाई साथ लिएर अघि बढ्ने छु। नसोच्नु, तिमीलाई भुल्छ भनेर। तिम्रो यादमा मेटाउन दोस्रो कोही रोज्ने छैन, तिम्रा लागि बनाएको त्यो स्थानमा कोही रहने छैन! मन भुलाउनका लागि कोही कसैको साथ खोज्ने छैन, म बस सम्हालिएर अघि बढ्ने छु र व्यक्ति विशेषको चरित्र बुझ्न प्रयास गर्नेछु!
यसरी सफलतालाई हासिल गर्ने कोसिस गर्नेछु कि भोलि तिमीले तिम्रो उसलाई मलाई चिनाउँदा तिमीलाई गर्व महसुस होस् कि ऊ मेरो कोही थियो भनेर!
तिमीले जस्तो मलाई अनुहार फेर्न आउँदैन। बोलेको कुरा फेर्न आउँदैन। देखावटीपनमा आफैलाई भुल्न आउँदैन। फेर्नेहरू त पित्तललाई पनि सुन बनाउँदा रहेछन्, मलाई त लेप लगाउन पनि आउँदैन। तुलना नगर मलाई, म यथार्थमा जिउने मान्छे, कल्पनाको मान्छेसँग प्वाँखको पखेंटा हालेर उड्न आउँदैन!
मैले तिम्रो सम्झनामा सच्चा प्रेमको आँसु बगाएको छु, तर तिमीले त मेरो जलिरहेको आत्मालाई समवेदनाका शब्दसमेत खर्चेनौ। त्यसैले सम्हाल्न सकिनँ। छिया-छिया भएको हृदयलाई शिथिल बनाइरहेँ! गल्ती मेरै रहेछ, मलाई ती व्यक्तिसँग पनि अथाह एकोहोरो प्रेम भएछ, जो आफ्नो स्वार्थका लागि मसँग जोडिन आएका रहेछन्। आवश्यकता थियो, त्यसैले सकियो; प्रेम हुन्थ्यो त दिगो रहने थियो होला! त्यसै भनिएको होइन रहेछ, मान्छेको मन चिन्न गाह्रो, मान्छेको मन बुझ्न गाह्रो, मान्छे रङ फेर्दो रैछ!
थाहा थिएन उसको मनमा के चलिरहेछ भनेर। फर्केर नहेरेको पनि होइन तर धेरै खुसी देखेको थिएँ, त्यसैले हिम्मत नै भएन, याद आउँछ कि आउँदैन भनेर प्रश्न गर्नलाई। जबाफले तीर रोप्ने पक्का थियो! उसलाई समय बिताउने चाहिएको रहेछ अनि म भने यहाँ प्रेमको सागरमा डुब्दै गएर त उसैको सजाय भोगिरहेको छु। मिल्छ भने कम गराइदेऊ यो सजाय, अपराधी होइन म; संयोगले जबर्जस्ती प्रेम भएको थियो तिमीसँग! फेरि फर्किन्छौ कि फर्किन्नौ, त्यो तिमी जान्नू। यदि फर्किहाल्यौ भने म बाँचेको कुनै पनि एउटा क्षण मलाई उपहार ल्याइदिनू, किनकि अस्तित्वको विघटित ऐनामा म आफ्नो एकोहोरो प्रेम पुनः एकपटक हेर्न चाहन्छु!
भन्छन्, दसा थाहा नदिई आउँछ, त्यसैले त अकस्मात् आइदिन्छन् मुटु फुट्ने गरी तिम्रा याद। म त्यसलाई पनि दसा सम्झन्छु र भोग्दै छु, थाहा छैन कहिलेसम्म रहन्छ यो मनमा! बिझेको काँडा निकालेर फ्याँकेपछि हलुङ्गो हुन्छ भन्ने भोगाइ छ, प्रयास गर्दैछु! याद नआउने होइन, आएर पनि अरू विकल्प छैन। जब मलाई तिम्रो याद आउँछ, तब आकाशतिर हेर्ने गर्छु र चित्त बुझाउने गर्छु, 'सँगै नभए पनि एउटै आकाशको छानोमुनि त छौं नि!' भनेर।
भोगाइ अनुरूप रहेका पवित्र मनहरू कहिल्यै पनि थिचाइमा नपरून्। दुबैले चाहेका सम्बन्ध अजर अमर रहून्। एकले चाहने र अर्कोले नचाहने सम्बन्ध कहिल्यै नबनून्। जस्तो चाहन्छन् उनीहरू, उस्तै मन माथिबाट नै भगवानले मिलाइदिऊन्।
बस् अनाहकमा कसैलाई बहकनु नपरोस्! स्वार्थका लागि गरिएका सम्बन्धले निकै पीडा दिनेछन्। सम्बन्ध कहाँ, कोसँग, के र कति बनाउने भन्ने कुराको हेक्का राख्न त गाह्रो नै पर्छ, तै पनि थोरै धैर्य गर्न सकेमा सफा छर्लङ्ग देखिने सिसा जस्तै मन चिरिएर धारिलो हतियार बन्ने थिएन होला!
(यो काल्पनिक लेख कसैको भोगाइसँग मेल खान गएमा संयोग मात्रै हुनेछ!)