बिहानको सुनौलो सूर्योदय हेर्दै
बाहिर निक्लँदा बुबाको मुखबाट पनि
सुनौलो शब्द निक्लन्छ- ए बेरोजगार!
पल्लो घरको जेठो छोरो अस्ट्रेलिया गयो रे
तल्लो घरे माइली सरकारी कर्मचारी भई रे
तँसँगै पढेको बिरे डक्टर भयो रे
किन यति तुलनात्मक भयो यो समाज
आजभोलि गाउँघरमा डुल्दा पनि
बाँस निहुरेझैँ शिर निहुराउँछु
जब आफ्नै घरबाट बेरोजगार कहलिन्छु
तब म आफूले आफूलाई रोजगारको लायक
छैन भनेर चित्त बुझाउँछु।
ए मेरा बा, म मेरा डिस्टिङ्सनका सर्टिफिकेट
आकाशे पुलमा गएर बेचम्?
कि परराष्ट्रको अगाडि बसेर
राहदानी बनाम्?
जब मैसँग पढेको मिल्ने साथी कारको हर्न बजाउँदै
मेरै अगाडिबाट हिँड्छ
कैयौँ रात सँगै काटेको साथीले
भ्याइ नभ्याई एक शब्द बोलेर जान्छ
अनि सम्झन्छु मेरा बाको बोली
तुलनात्मक हैन उदाहरणीय रहेछ
खल्ती रित्तो हुने बेरोजगारी
अनि मगज रित्तो हुने रोजगारी हुने दिन आएछ
देशको विषम् परिस्थिति र अनपढ नेतालाई देख्छु
अनि यो उध्रेको देशमा
म पनि उध्रेकै पोसाक काम चलाउँछु
र म आफूले आफूलाई रोजगारको लायक छैन भनेर
चित्त बुझाउँछु।
बानेश्वरको एभरेस्ट होटेल हुँदै
एउटा सानो चिया अड्डामा चिया पिउने
पनि मेरो हैसियत भएन
भाटभटेनी हुँदै काठमाडौँ मल छोड्दै
म छ सयको सेल खोज्दै
र भृकुटीमण्डप भित्र पस्दै
एउटा पाँच सय पचासको टी-सर्ट किनेर
फर्कँदा पनि कम्ती खुसी थिएन
काठमाडौँको प्रत्येक गल्ली नियाल्दा पनि
म मेरो अस्तित्व भेटिनँ
दिनभरि भौँतारिएर पनि जिल्ला टप गरेका
मेरा सर्टिफिकेटलाई स्थान दिन सकिनँ
मजस्ता हजारौँ युवाहरू
आ-आफ्नो बजारमा मार्कशिट डुलाउँदै होलान् भन्दै टोलाउँछु
हो, यस्तै अवस्था देखेर म आफूले आफूलाई
रोजगारको लायक छैन भनेर चित्त बुझाउँछु।
कागजको खोजीमा हिँडिरहेको म
ब्याग खोलेर हेर्दा मेरो मेहनतको फल
कागजकै रूपमा देखिन्छन्
सधैँ रित्तो हुने मेरो पर्स पनि
आजभोलि पुतलीसडकका कागजले भरिएका छन्
सपनाको सहर पठाउँछौँ भन्ने सबै म्यानपावर
कागजमा हैन दिमागमै कण्ठ भइसकेका छन्
म यी सबैबाट हार खाँदै
मेरा सफलताका कागजलाई धिक्कार्दै
शैक्षिक प्रणालीसँगै जोडिएको
मेरो सफलताको हारलाई स्विकार्दै
अनि रित्तो दिमागले सरकार चलाइरहेकालाई पूजा गर्दै
जब म मेरै भाग्यलाई दोषी ठहराउँछु
तब म आफूले आफूलाई रोजगारको लायक छैन भनेर
चित्त बुझाउँछु।