धेरै मान्छेहरूसँग भेट हुन्छ। भेट भएकाहरू मध्ये कोही याद हुन्छन् त कोही आँखाबाट ओझेल भएर जान्छन्।
करिब बिहान ५:३० बजे अत्तरियाबाट सुर्खेतको लागि गाडीमा चढेँ। ड्राइभरको पछिल्लो झ्याल साइडमा सिट पाएँ र त्यहीँ बसेँ। गाडीले गति पक्रियो र आफ्नै लयमा गुडिरह्यो। म भने गाडीमा अप्ठ्यारो महसुस हुने भएकाले आँखा चिम्लेर सुतेको जस्तो भएको थिएँ। अचानक मेरो काँधमा राखेको कसैको हातले मलाई बिउँझाएको जस्तै गरी बोलायो।
'सर मलाई भोमिटिङ धेरै हुन्छ,' मैले हवस् भनेर झ्यालको साइड उनलाई छोडिदिएँ।
सेतो वर्ण मानौँ विदेशीका जस्तै, चिम्सा आँखा, कपाललाई मुडुलो बनाएर बाँधेकी, आँखाको गाजल परेलीको एक छेउ लगाएकी थिइन्। मैले धेरै हेरिनँ तर नहरेर बस्न पनि सकिनँ। न वार्ताको सुरुवात गर्नै सकेँ। केबल शान्त सौम्य भएर आँखा चिम्लेर बसेको थिएँ। उनले आफ्नो झोलाबाट किताब निकालिन्, कृषि विकास बैंक तह- ५।
म एक टकले हेरिरहेँ। कसरी नहेरूँ, म पनि त्यहीँ बैंकको लोक सेवा दिन त सुर्खेत प्रस्थान हुँदै थिएँ।
वार्ता मैले नै सुरु गरेँ।
'मिस परीक्षाको लागि सुर्खेत जाँदै हुनुहुन्छ?'
'उम।'
घर चाहिँ कता हो नि?
'धनगढी।'
पढाइ सक्नु भयो कि?
'मास्टर्स रनिङ।'
जागिर पनि गर्नु हुन्छ कि?
'नो, वान्ली स्टडी।'
मैले यति प्रश्नको सँगालो गर्दा पनि उनी चुपचाप पढिरहेकी थिइन्।
उनी बोल्दा यस्तो लाग्दै थियो कि मानौँ ऊ वस्तुगत परीक्षाको जाँच दिइरहेकी हुँदी हो। एक वाक्यमा उत्तर दिँदै थिइन्।
अन्तिम प्रश्न सोध्छु भनेर एक प्रश्न सोध्ने कोसिस गर्दै थिएँ, आँखाबाट चस्मा निकालेर सफा गर्दै उनले प्रतिप्रश्न गरिन्, 'तपाईं कहाँबाट आउनु भएको?'
मैले भनेँ, 'म डडेलधुराबाट।'
'ए'
फेरि उनी पुस्तकमा आफूलाई व्यस्त बनाइराखिन्।
म भने एकै पोस्टको लोक सेवा भएकाले बाटोभरि पढाइको गफगाफ गरूँ भनेर बोल्ने कोसिस गर्दै थिएँ। गाडी कोहलपुरमा केही समय रोकिने भयो। तयारी राम्रो गरेको र काठमाडौँमा आयोगका क्लासहरू लिएको भनेर उनले जानकारी गराइन्। धेरै वार्ता भएन, मलाई लाग्यो धेरै उनलाई दिक्क लगाउनु हुँदैन। म शान्त भएर बसिरहेँ। सुर्खेतमा उनी दाइकोमा बस्ने रहेछिन्। उनी बसपार्कमा उत्रिएर ओझेल भइन्। म भने आफू लोक सेवा आयोग दिन आएको भनेर सोच्न पनि लज्जास्पद भएँ।
त्यो दिन त्यहीँ सुर्खेतको एक होटेलमा बसेँ।
दोस्रो दिन परीक्षा थियो, होराइजन कलेज सुर्खेतमा। बिहान १० बजे पुगिसक्नु थियो। ९:३० तिर गेटनिर उभिएको थिएँ। उताबाट परिचित अनुहार मतर्फ अगाडि मुस्कान लिएर अगाडि बढिरह्यो। उनी त्यै गाडी वाला युवती थिइन्। मैले शुभ बिहानी भनेर मुस्कुराएँ। तर उनी आज मसित बोल्ने मुडमा थिइन्।
उनले सोधिन्, 'तपाईंको केन्द्र पनि यहीँ रहेछ।'
मैले उम् भनेर मुस्कान दिएँ। भन्न मन लागेको थियो, गाडीमा बोलेको भए पो थाहा हुन्थ्यो।
फेरि उनले सोधिन्, 'हजुरको नाम?'
'जनक जोशी।'
मैले सोध्न खोज्दै थिएँ उनी आफैले भनिन्, 'म जानकी उपाध्याय।'
उनी हिजोभन्दा धेरै खुसी थिइन्। मसँग पहिल्यै चिनेको मान्छे जस्तै बोल्दै थिइन्। घण्टी बज्यो भित्र जाऊँ भनेर सङ्केत गरिन्।
संयोग नै भन्नुपर्छ, मभन्दा ठिक अगाडिको बेच्चमा उनको सिट पर्यो। म आयोग दिन आएको मान्छे अक्क न बक्क भएको थिएँ। विकल्पमा टिक लगाउनु पर्ने बेला म उनलाई एकटकले हेरिरहेको थिएँ। जति जति प्रश्न पढ्दै जान्थेँ उनैलाई कपिमा देख्थेँ। लोक सेवा आयोग दिने मान्छे लब सेवा पो गर्दै गइरहेछु। जसोतसो त्यो दिनको परीक्षा दिएँ। मेरो दिमागमा उनको कल्पनाले डेरा बसिसकेको थियो। दोस्रो दिन पनि उनकै सुन्दरता हेरेर बित्यो। एक कुरा पक्का थियो, मेरो उद्देश्य एकातिर र म अर्कातिर मोडिइरहेको थिएँ।
लोक सेवाका प्रश्नहरूको उत्तर लेख्नुभन्दा पनि उनको आँखामा आफूलाई खोज्न लागिसकेको थिएँ। दोस्रो दिन परीक्षा हलबाट बाहिरिएँ। उनको परीक्षा राम्रै भएको रहेछ।
'जनक जी, फेसबुक आइडी के छ?'
वाह! लोक सेवा आयोग फेल भए पनि लब सेवा पास हुने भयो भनेर मन भित्रैदेखि म दङ्ग हुँदै थिएँ। हामी फेसबुकमा जोडियौँ। हाम्रो कुराहरू बाक्लिँदै गयो। कता कता उनी मलाई पन पराउँछिन् जस्तै लाग्थ्यो। प्रस्ताव राख्न चाहिँ मलाई डर लाग्थ्यो। मलाई प्रेमको प्रस्ताव राखेर साथीत्व टुटाउनु थिएन।
उनैले एक दिन सोधिन्, 'जनक, कोही छ र प्रेमिका?'
मैले छैन भनेँ। उनी 'म भइदिम् त?' भन्दै जोर जोरले हाँसिन्।
फेरि भनिन्, 'मैले लोक सेवा आयोग पास भए भने तिमी पनि एक विकल्प हुन सक्छौ!'
म भने अकमक्क भएँ। त्यति राम्रो परीक्षा मेरो गएको थिएन।
लिखित पेपरको नतिजा आयो। म त सफल हुन सकिनँ तर जानकी भने पास भएकी रहेछिन्।
मैले बधाई दिएँ। धन्यवाद नै नदिएको रहेछ। भोलिपल्ट बिहान उठ्दा म ब्लक लिस्टमा थिएँ।
अनि मन मनै प्रण गरेँ- जवानी जाओस्, लोक सेवा त पास गरेरै देखाउँछु।