आज फेरि ब्रम्हमूर्तमा अमृत वर्षा भयो
आत्मा रूपी चेतनाले चुर्लुम्मै डुब्न पायो
शुद्ध दियो रूपी शरीरमा चेतनाको दियो बल्यो
जन्मौँ देखिको कुण्ठित कर्म दियोसँगै जल्यो
ब्रह्माण्डको ऊर्जा सबै आफै भित्र भेटिन्छ
आत्मासँगै प्रज्वलित प्रकाश त्यही देखिन्छ
आँखा खोली हेर्दा खेरी संसार देखिन्छ
आँखा बन्द गर्दा खेरी आफैँलाई भेटिन्छ
न समात्न सक्छु न अँगाल्नै सक्छु
त्यो दिव्य चेतनालाई
केबल महसुस मात्र गरिरहन्छु आफैँ भित्रका
घटित भावनालाई
बाहिर देख्ने संसारभन्दा आफैँलाई भेट्ने
संसार कति रमाइलो
बन्द दुवै नयनभित्र चेतनाको दीप बल्दै
न्यानो पनको घमाइलो
जति आफूभित्र हराउँदै गयो त्यति आनन्द आउने
तन मन वचन कर्ममा दिव्य ऊर्जा छाउने
आत्मा ज्ञान बढ्छ योग ध्यान सत्सङ्ग गरे
शुद्ध आचरण सुदृढ हुँदै जान्छ मनमनै गुने
सांसारिक कर्म गरे पनि तनमन बनाऊ योगी
आफू भित्रको गुण खोज्दा हुँदैन कोही जोगी
विचार शुद्ध भयो भने कोही हुँदैन रोगी
अमृत बेला योग ध्यान गरौँ बनौँ सोमरसको भोगी
जति गहिराइमा पुग्यो त्यति आनन्दको छाल आउँछ
अनन्त सम्भावनाले समेटिएको एउटा विशाल ठाउँ छ
स्वार्थले जेलिएको बाहिरी सांसारिक जालमा
दया माया करुणा हुन्छ भित्रै ब्रह्माण्डीय थालमा
ध्यानबाट भाव शुद्ध अनि सबै कर्म राम्रो हुन्छ
कर्म पवित्र भएपछि आत्माले उचाइ छुन्छ
ध्यानबाट स्वर्ग यही देखिन्छ जगत्मा
कहाँ भेटिन्छ भनी खोजी हिँड्छौ फगतमा
मन भित्रको क्लेश पखाल्ने विधि हो ध्यान
द्रष्टा भावले हेर्दा खेरी जागृत हुन्छ ज्ञान
आफैँलाई बुझ्ने कला हो ध्यान, होइन कुनै धर्म
ध्यानबाटै मेटाइदिऊँ जन्म जन्मको कुण्ठित कर्म।