एक हप्ताको फिल्डपछि घर फर्किँदा थकाइले शरीर लखतरान थियो। राधा सार्वजनिक गाडीबाट घर आइन् आज। आउनासाथ बाबा भन्दै कराइन्। बाबा भनेर बोलाउँथिन् मलाई उनी। हतार हतार अफिसको बेलिबिस्तार लगाउन थालिन्- 'अमेरिका जान कार्यालयले आवेदन मागेको छ।'
थकित शरीरले गफगाफ र खानपिनलाई भन्दा आराम र निद्रा खोज्यो। आवेदन दिन सुझाउँदै बेडमा पल्टिएँ। भुसुक्कै भएछु।
अमेरिका बारे पढेको, सुनेको र युट्युबमा हेरेको बाहेक थप जानकारी छैन मलाई। तर दुइटा कुरा बढी होला त्यहाँ। एक, विधिको शासन र दुई, गुणस्तरीय जीवन! तर राजधानी सहरमा घर र गाडी भएका जागिरे हामी दुई पनि कम चाहिँ थिएनौँ।
घर-जग्गाको रजिस्ट्रेसन राधाको नाममा थियो। गाडी भने मेरो नाममा। उनलाई अफिस छोड्ने र बेलुका लिएर फर्किने नियमित ड्युटी थियो। टोल छिमेकले परेवा जोडी भन्थे। राधा र कृष्णलाई। दुवै सरकारी जागिरे। नपुग्दो र अभाव साख थिएन। जीवन रफ्तारमै चलेको थियो।
क्याम्पस पढ्दा देखिको चिनजानलाई विवाह बन्धनमा बाँधिन जोडबल गरिन्। उनको दबाब स्वीकार भयो। मायाको चिनो छोरा बिनिल जन्मियो। बाबा-आमा गाउँमा। सहरमा आउन जाँगर देखाउनु भएन। फलफूल बगैँचासहित जग्गा जमिन टन्नै थियो। हुने खानेमा गनिन्थ्यौँ त्यहाँ।
अफिस बिदा भयो कि गाउँ आउजाउ हुन्थ्यो। बाबा-आमाको स्वास्थ्यमा खास समस्या नहुँदा सहरभन्दा गाउँ नै रमाइलो मान्नु भयो। आक्कल झुक्कल मात्र सहर आउनु हुन्थ्यो। छोरालाई ३ वर्षको हुँदै प्रीस्कुल हाल्यौँ। ५ वर्षको पुगेपछि भने अर्को स्कुलमा राख्ने सल्लाह भयो। अभाव र तनाव केही थिएन। अफिस जाने आउने नियमित काम थिए। मासिक रूपमा आउने ३०/४० हजार घर भाडाले खर्च धान्थ्यो। समस्या थिएन। थोरै मात्र बाँकी थियो गाडीको किस्ता तिर्न। किस्ता सकिएपछि विदेश घुम्ने योजना बनाएका थियौँ हामीले।
परराष्ट्रमा काम गर्ने हुनाले उनलाई अमेरिका स्थित नेपाली दूतावासमा काम गर्न सरकारले ३ महिनाको काज पठायो। जाऊँ कि नजाऊँ सोधिन्। जान सल्लाह दिएँ। छोराको हेरचाह गर्न गाउँबाट आमालाई बोलाउने कुरा भयो।
अमेरिका उडिन् उनी। बिदा गर्न एयरपोर्ट गएँ। मन भने भारी भयो। बिदा गरेँ। फुर्सद हुने बित्तिकै अनलाइनमा कुरा हुन्थ्यो। त्यहाँका भिडिओहरू, नयाँ ठाउँको फोटोहरू हरेक दिन पठाउँथिन्। अमेरिका पुगे जस्तो लाग्थ्यो मलाई पनि। छोरोसँग हरेक बेलुका भिडिओ कल हुन्थ्यो। छोराले कहिले आउने मामु भनेर प्रश्न गर्थ्यो।
एक दिन बेलुका फोन आएन। फोन गर्दा सम्पर्क हुन सकेन। भोलिपल्ट अलि व्यस्त छु भनेर कुरा छोट्टाइन्। फोन आए पनि कुराकानीमा अपनत्व र माया ममता झल्केन। छोरो बोल्न खोल्दा 'व्यस्त छु है छोरो, भोलि कुरा गर्छु' भन्दै फोन काटिन्। मनमा अनेक शङ्का उपशङ्का जन्मिन खोजे। त्यसलाई लुकाई दबाएँ।
रातभर छटपटिएँ। छोरोले न्यास्रो मान्यो। मामु कहिले आइसिन्छ भन्ने प्रश्नको उत्तर दिँदा हैरान भएँ म। दोस्रो महिनापछि फोन सम्पर्क पटक्कै भएन। दूतावासको नम्बरमा सम्पर्क गर्दा जागिर छोड्नु भएको भन्नेसम्म जानकारी भयो। अनलाइनमा पनि सम्पर्क भएन। आकाश खसे जस्तो भयो। मनमा अनेक कुराको बाढी आयो।
पापी अमेरिका तैँले मेरो छोराको काख खोसिस्! कृष्णलाई राधाको प्यारबाट छुटाइस् भनेर सरापेँ। क्याम्पसका पढ्दादेखिका सबै घटना फिल्मझैँ दिमागमा घुमेँ। एक दिन अकस्मात् अर्कै नम्बरबाट मोबाइलमा फोन आयो- 'म अमेरिकामै बस्ने भएँ। छोराको राम्रो केयर गर्नू!' फोन काटिन्।
मनमा ढ्याङ्रो बज्यो। छोरालाई के उत्तर दिने? बुहारी आउने कहिले हो; आमाले सोध्नु भयो र भन्नु भयो, 'म गाउँ जान्छु, बुबालाई गाह्रो भयो रे। केही नभनी आमालाई गाउँ पठाएँ।
छोरालाई स्कुल पठाउने र हेरचाह गर्ने जिम्मेवारी थपियो। अफिसमा काम गर्ने रुचि पटक्कै भएन। अफिसमा १५ दिनको बिदा लिएँ, सन्चो भएन भनेर। राधाले फोन गरेको नम्बरमा फोन गर्थेँ, लाग्दैन थियो। विगतदेखि अहिलेसम्मका सबै कुरा भन्न मन थियो तर सकिनँ। उनीसँगका सम्पूर्ण व्यवहार मनमा खेलाई बसेँ। निद्रा गायब भयो। छटपटमै रात बित्यो।
मानिसहरू घर बिक्रीमा छ रे भन्दै घर हेर्न आए। त्यतिसम्म नीच हुन्नन् भन्ने लाग्यो। तर हरेक दिन दलाल आए। एक दिन अकस्मात् एउटा फोन आयो। जिल्ला अदालतबाट रहेछ। भनाई शटकट थियो; तपाईंकी पूर्व श्रीमती राधाले छोट पत्र गरिन्। कानुन देखेर अचम्मित भएँ। करेन्ट लागेझैँ भयो। छोरालाई के उत्तर दिनु? एक पक्षीय छोट पत्र गरेर अमेरिका पुगिछन्। कानुनले महिलालाई त्यो अधिकार दिएको रहेछ।
नेपालबाट अमेरिका पुगेपछि फेरि फोन गरिन्। बेस्सरी रोएँ, कराएँ। फोन कुराकानीमा आफ्नो नाममा भएको घरको बिक्री प्रक्रिया अगाडि बढेको बताइन्। निराश हुनु र रुनु बाहेक मसँग विकल्प थिएन। रोएँ। भोकै बसेँ। वेदना कसैलाई पोख्न सकिनँ। भए भरका वेदना उनैलाई पोख्न मन थियो, सकिनँ। भारतीय मूलको अमेरिकी नागरिकसँग विवाह गर्न लागेको भन्नेसम्म सुनेँ।
मनोसंवाद गरेँ उनीसँग; खाँचो के थियो? देश गरिब थियो होला तर कमी बनाएको थिएन तिमीलाई। फेरि मनले उत्तर दियो, देशबाट डाक्टर र इन्जिनियर पलायन भएको प्राध्यापक उतै लुकेर बसेको। सेना र प्रहरीका अफिसरले डिभी भरेर उता गएको सुनेको थिएँ। दलाललाई लाखौँ बुझाएर जङ्गलको बाटो हुँदै अमेरिका छिर्न खोजेको, १६ फिट अग्लो मेक्सिको पर्खालबाट हाम फालेर छिर्न खोजेको सुनेको थिएँ। आज तिमी!
अँ साँच्ची, नेपालका नेता र कार्यकर्ताले डिभी भर्दैनन् कि पर्दैन? मनले प्रश्न गर्यो। ट्रम्पलाई नेपाली नेता र कार्यकर्ता साँच्चिकै खाँचो थियो। किन गएनन् तिनीहरू? यस्तै यस्तै कुराले रात बितेछ।
मन भने बेचैन थियो। मनले फेरि प्रश्न सोधेछ- राजधानीमा घर थियो। गाडी थियो। जागिर थियो। छोरा थियो। तिमीले नै मन पराएको श्रीमान् थियो। समाजमा छुट्टै सान थियो। त्यहाँभन्दा बढी सामाजिक प्रतिष्ठा थियो। सुरक्षाको अनुभूति यही थियो। खुलेआम बन्दुक बोकेर अरूलाई गोली हानिँदैन थियो यहाँ। अपनत्व थियो। सामाजिक जीवन थियो। तिमीलाई अभावमा राखेको याद छैन र पनि यो निर्णय किन गर्यौ राधा? उत्तर थिएन।
जसरी छोराले ममी कहिले आइसिन्छ बाबा भनेर प्रश्न गर्थ्यो, त्यसको उत्तर म दिन सक्दिन थिएँ। यो हुन सक्दैन, एक्लै बस्न सक्दिनँ। यो झुट हो। तिमीबिना म बाँच्न सक्दिनँ भनेर बरबराउँदा 'के भयो तपाईंलाई?' भनेर झकझकाइन्।
झसङ्ग हुँदा सपना रहेछ। बिउँझँदा उनीसँगै बेडमा रहेछु। छ्या! कस्तो नराम्रो सपना। राधालाई सुनाउने आँटै आएन।