'तिम्रो ओठ गुलाफ हो श्रवण!' मनमनै बोलेँ। मैले उसको ओठलाई राम्ररी नियालेँ। मलाई यो संसारमा गुलाफको फूल र उसको ओठ सबैभन्दा मन पर्ने कुरा रहेछ। यो त्यही ओठ हो जसलाई मैले एक दशकभन्दा अगाडिदेखि चाहेको थिएँ।
आँखा चिम्म गरेर उसले यति बेला आफ्नो त्यही सुन्दर ओठ मेरो अगाडि राखिदिएको छ। भनौँ, मलाई सुम्पिदिएको छ। उसको ओठ यति नजिकबाट हेर्न पाएको यो पहिलो पटक हो। मलाई थाहा छ यो सम्पूर्ण कुराहरू मैप्रति लक्षित छ। यो ओठ मेरै निम्ति समर्पित छ। यसमा उठिरहेका स-साना कम्पनहरू म महसुस गरिरहेकी छु।
अब मैले मेरा ओठहरूलाई केवल आज्ञा दिए पुग्छ। मेरा हातहरूलाई उसको केशहरूभित्र पस्न अनुमति दिए पुग्छ। त्यसपछि उसको र मेरो ओठको मिलन भइहाल्ने छ। गुलाफका पत्रहरूको रासमाथि कुन पत्रभित्र कुन पत्र घुसेको छ छुट्टाउन नसके जसरी हाम्रा ओठहरू कसको माथि कसको जाइलागेको हो छुट्टाउन हम्मे हम्मे पर्नेछ। चाहिएको छ त केबल एक अनुमतिको। जो मैले आफैलाई दिनु पर्नेछ। यो रात छ,लयो होटेल छ, यो बन्द कोठा छ, हामी दुई छौँ, अब केबल मेरो निर्णय बाँकी छ।
मैले बाह्र वर्षसम्म केवल यही मान्छेको एकतर्फी प्रेममा सास फेरेँ। यो मान्छेले भने बाह्र वर्षमा आधा दर्जन प्रेमिका फेर्यो। अहो, हामीबिच यो फेराइको कस्तो भिन्नता!
मैले फेरि उसको त्यो ओठलाई एक पटक नियालेँ। यो त्यही ओठ हो जो दश ठाउँ डुलेर यत्तिका वर्षपछि बल्ल आज मकहाँ आइपुगेको छ। यो पटक पटक जुठो परिसकेको उसको ओठलाई म के गरूँ? जो मेरो यौवनभरिको चाहना थियो, त्यो अहिले मेरो अगाडि समर्पित छ र आजको रातभरिको लागि उपलब्ध छ।
नौ कक्षामा पढ्दा स्कुलमा पहिलो पटक देखेकी थिएँ उसलाई। पहिलो नजरमै प्रेममा परेकी थिएँ। राधिकालाई नाम सोध्न पठाएकी थिएँ- 'राधिका, त्यो दश कक्षाको चश्मे दाइको नाम सोधिदेऊ न है, सक्छौ?' भोलिपल्ट राधिका नाम लिएर आएकी थिई- श्रवण। कानमा ठोक्किएको उसको नाम दिमाग हुँदै सिधै दिलमा जाकिएको थियो र पुरै रौँ-रौँमा झङ्कृत भएको थियो श्रवण! श्रवण! श्रवण!
एक दिन मैले एउटा प्रेम पत्र लेखेँ। उसलाई दिन भनेर उसको नजिक गएँ। मलाई देखेर उसले भन्यो- 'अरे! मेघा तिमी?' उसलाई मेरो नाम थाहा रहेछ। यो थाहा पाएर मेरो संसार झिलिमिली भयो, रङ्गीबिरङ्गी भयो। झिलिमिली संसार खरानी खरानी हुन केही सेकेन्ड मात्रै लाग्यो जब उसले फेरि नाक खुम्च्याउँदै भन्यो- 'छ्या.. तिमी त छेउछाउ नआऊ न ल! तिम्रो बाबा आमा मसला पिस्ने मिलको काम गर्नु हुन्छ नि? तिमी पनि मसला पसलमा बस्ने भएर होला टाढैबाट जिरा धनियाँ गन्हाउँछौ।'
ऊसँगै भएका केटाहरू गलल हाँसे। अपमानको उपहार पाएर म लज्जित भई लुरुलुरु फर्किएँ। सोचेँ, आजदेखि यो केटालाई दूधबाट झिँगा फ्याँके झैँ मेरो मनबाट निकालिदिन्छु। ठिक यो घटनाको भोलिपल्ट क्यान्टिनको एक कुनामा बसेर उसले रोशनीको हातमा दुई पटक चुम्बन गरेको मैले टाढैबाट देख्न पुगेँ। त्यस दिनदेखि म श्रवणलाई लिएर सम्पूर्ण रूपले होपलेस भएँ।
जति भुलिदिन्छु भने पनि ऊ मेरो हृदयमा बास गरिरह्यो। म राम्रो पढ्दै गएँ। एसएलसी, प्लस टु, बिबिए, एमबिए सबै सकाएर म बैंकर भएँ। प्रतिष्ठित बैंकमा राम्रो पोस्टको जागिर खाइरहेको छु। ती दिनहरूमा मेरो काम भनेको राम्रो पढ्नु, अफिस आउनु जानु र उसको प्रेमिकाहरूको चियोचर्चो गर्नु भयो। स्कुलमा रोशनीदेखि सुरु भएको उसको प्रेमको सफर निकिता, शाम, नैना, जुनू र पिङ्कीमा पुगेर अड्किएको छ।
भर्खरै पिङ्कीसँग ब्रेकअप भएपछि ऊ फेरि सिङ्गल भएको छ। यसरी आज बिहानै अचानक मलाई आएको 'मेघा आज भेटुम् न ल!' भन्ने एक एसएमएसको भरमा म हुर्रिएर यहाँसम्म आइपुगेकी छु। र यो हुरियाई यस्तो छ कि मानौँ ऊ हजार टनको एक चुम्बक हो र म जाबो स-साना फलामे किला काँटी हुँ। म आज चुपचाप ऊसँग फिल्म हेर्न गएको छु, चुपचाप ऊसँग पार्कहरूमा दिनभर डुलेकी छु र अहिले केही विरोध नजनाई होटेलसम्मै अघि लागेर आइपुगेकी छु। मानौँ म एक निद्रामा घर छोडेर हिँडेकी बालिका हुँ।
म फेरि उसको ओठमा अल्झिएँ। साहित्यमा स्त्री ओठहरूको तारिफ खुबै सुनिन्छ। गुलाबी ओठ, पिपल पाते ओठ, सुन्तला केस्रे ओठ, थाहा छैन अरू के के हो के के! तर कुनै पुरुषको ओठ कसरी यति सुन्दर हुन सक्छ? म मुग्ध हुँदै गएँ। उसो हो भने किन मैले हतार नगरी हालेको त? किन उसको ओठमा मेरो ओठको धावा बोल्न आनाकानी गरिरहेछु? किन? मलाई केले रोकिरहेछ? केले छेकिरहेछ?
मैले थाहा पाएँ। यो बाङ्गे माझीको कारणले भइरहेछ। मानिसको ब्रेन पनि ज्यादै अकल्पनीय छ। म यहाँ वर्षौँपछि बल्ल बल्ल भेटिएको आफ्नो अधुरो प्रेमको केही सेन्टिमिटरको दूरीमा छु तर केवल एक हप्ताअघि बिहेको छिनोफानो भएको काले केटोको मायाले आफूलाई थामिरहेकी छु।
एक हप्ताअघि देवी फुपू मलाई माग्न भनेर एउटा केटो लिएर आइन्। न रीत, न कोसेली, रित्तै हात आएका उनीहरूलाई आमाले बेस्सरी झपार्नु भयो। मेरो बुबाले भने अचम्मको प्रतिक्रिया दिँदै भन्नु भयो- 'बाबु माझी हुनुहुँदो रहेछ, हामी पर्यौँ राई। बाबु काले काले हुनु हुँदो रहेछ, मेरी छोरी बत्ती जस्ती गोरी। यो त अँध्यारो उज्यालो टेलिफिल्म जस्तो हुने भयो त देवी! तर तिमीहरूको आँटलाई चाहिँ मानेँ। लु छोरी मानी भने म राजी।'
बुबाले ममाथि निर्णय छोडिदिनु भयो। केटो सरकारी अधिकृत रहेछ। मैले नाम सोधेँ। उसले अलिक असहज मान्दै जवाफ दियो, 'नागरिकतामा बाङ्गे माझी छ। गाउँघरका साथीभाइले पनि बाङ्गु नै भन्छन्। फेसबुकमा चाहिँ वसन्त माझी छ।'
मेरो बुबा फेरि जोड जोडले हाँस्दै बोल्नु भयो, 'देवी! बिहे भयो भने मेरी छोरी त बाङ्गी पो हुने भो तौ!'
मैले मनमनै सोचेँ 'केटो सिधा रहेछ, सोझो रहेछ, पढेको पनि रहेछ, ह्यान्डसम पनि छ, हल्का कालो वर्णको छ। जातभात भनेको त के भयो र! यत्तिको केटो ओके छ।'
अर्को दिन केटोको पूरै परिवार रीत लिएर पुनः आए। हाम्रा पनि आफन्तहरू भेला भए। र, अर्को महिना बिहेको टुङ्गो गरियो। म अर्को महिना बेहुली हुने पक्कापक्की भयो।
यसरी वसन्त माझीको सम्झना दिमागले गराउन साथ म झल्याँस्स भएँ। अहो! म कसरी मेरो हुनेवाला लोग्नेलाई धोका दिन सक्छु? मैले तुरुन्तै श्रवणको ओठलाई गुलाफ देख्न छोडेँ र ऊबाट तत्कालै हच्किएर पर सर्दै भनेँ- 'सरी श्रवण, नट विथ यु।'
म आफ्नो ब्याग, कोट र मोबाइल टिपेर कोठाबाट सरासर निस्किएँ र फटाफट होटेलको सिँढी हुँदै ओर्लिएँ। श्रवणको आवाज टाढासम्म पनि आइरहेको थियो- 'ह्वाट ह्यापेन मेघा? ह्वाइ?' जवाफ दिइरहन जरुरी थिएन किनभने मेरो छ्याङ्गै होस खुलेको थियो।
म शिरदेखि पाउसम्म वसन्त माझीकी हुँदै गइरहेकी थिएँ। मेरा पैतालाहरू हावामा थिए। म कपास झैँ हलुका भएकी थिएँ। ग्राउन्ड फ्लोरमा एक जना कामदार भुईँ पुछ्दै थियो। ऊ केही बेर मलाई ट्वाल्ल परेर हेरिरह्यो मानौँ मलाई भन्दै थियो 'यति राति पनि कोही होटेलबाट बाहिरिन्छ?' मैले पनि एक नजर उसको हातमा भएको पोछामा लगाइदिएँ मानौँ उसलाई जवाफ दिएँ 'अनि यति राति पनि कोही भुईँ पुछ्छ?'
होटेलको कम्पाउन्डसम्म पुग्दा मैले अनलाइनबाटै ट्याक्सी पनि बुक गर्न भ्याइसकेको थिएँ। होटेलको गेटतर्फ अगाडि बढ्दै गर्दा दिमागमा एउटा प्रश्न उब्जियो- के चुम्न लागेको मान्छेलाई नचुमी उठेर हिँड्नु अपराध हो? के यो उसको अपमान हो?
त्यति नै बेला फेरि अर्को चेतना मगजको आँगनमा देखा पर्यो। जसले भन्यो कि- 'स्कुलमा गरेको अपमान समेत बिर्सेर जसलाई तैँले बाह्र बाह्र वर्ष एकोहोरो चाहिस्। के जिन्दगीमा कुनै दिन उसलाई नै अस्वीकार गर्ने मौका आउँछ भनेर सोचेको थिइस्?' तत्क्षण आभास भयो कि स्वीकारभन्दा इन्कारमै मेरो भलो भयो।
ट्याक्सी होटेल गेटमा आइपुग्यो। एक पटक त्यो होटेललाई फर्केर हेरेँ। झिलिमिली छ होटेल। रात हुनुको कुनै सङ्केत समेत छैन। फाउन्टेनले पानीको फोहोरा फ्याँकी नै रहेको छ। बगैँचाभरि फूलहरू सजिएकै छन्। साजसज्जा भव्य छ। गेटैमा एउटा गुलाफको बोट पनि छ। बोटभरि फूलहरू छन्।
चालक ज्युले आफै ट्याक्सीको ढोका खोलिदिए अनि पस्नुस् भनेर इसारा गरे। ट्याक्सीमा पस्नुअघि ती गुलाफका फूलहरूलाई एक पटक बडो प्रेमपूर्वक फर्केर हेरेँ र मनमनै भनेँ- 'सरी श्रवण, तिम्रो ओठ गुलाफ होइन।'