बाबु त्यता के छ हालखबर?
तिम्रो के छ हालखबर? कुदिराछौ कि गुडिराछौ?
जेटको वेगमा छौ कि
हाइपरलुपको हाइपरस्पिडमा हुइँक्किराछौ?
छोरी तिमी पनि स्थिर त पक्कै छैनौ
किनकि
तिमी बसेको देश बुलेटट्रेनले ढिलो हुन्छ भनेर,
प्लेनमा अबेर हुन्छ भनेर हाइपरलुपको बेगमा हुइँकिदैछ।
यता मेरो पनि ठिकै छ, बिहानै घरबाट निस्केको नोबिसेको जाममा साँझ पर्यो।
जामको लाममा दर्जनौ एम्बुलेन्स रोइरहेका छन् शवबाहन रुँदारुँदा थाकिसकेका छन्।
हुन त बाबुनानी,
हाम्रो त देश पनि जाममै छ न सडक खुल्छ, न सदन चल्छ
यस्तै बानी परेर हो कि, सडक जाम, सदन जाम, देश जाम
हामीलाई खासै ठूलो घटना लाग्दैन।
ओखती खोज्ने बृद्धबृद्धा जाममै छन् भविष्य खोज्ने युवा युवती जाममै छन् जीवन खोज्ने प्रौढहरु सबै जाममै छन्
न मर्नेले शान्तिले मर्न पाएका छन् न बाँच्नेले सन्तोषले।
बाबुनानी,
कहाँ जाम भयो, किन जाम भयो भनेर हाम्रो देशमा खोज्ने निकाय अहिलेसम्म देखिएको छैन।