मेरी सासूले राति ८ बजेतिर म र छोरो भएको कोठामा आएर भनिन्- 'बा खान आएको छोरो हो रे, ग्रह शान्ति गर्नु पर्छ। पण्डितले त्यही भने।'
ऊ घर आएको थिएन। यो सुनेर आँखाबाट आँसु झरे। मैले केही भनिनँ। ऊ राति आयो। आमा-छोराका कुरा भए होलान्। म जे गर्छन् हेरिरहेँ। बाबुले छोरो जन्मेको बेला पहिला अनुहार नहेर्नु पर्ने, यसो गर्नु पर्ने, उसो गर्नु पर्ने, परिवारका सदस्यले अर्को बिहानदेखि प्रवचन सुनाउन थाले।
न्वारनको दिन हामी आमा छोरालाई बेस्सरी पानीले भिजाइयो। भोको पेट दिनभर अनेकन् रीति गर्न लगाइयो। म मुर्छा परेकी थिएँ एक छिन त। चिसोले समातेर बिरामी नै परेँ। खै मैले छोरो जन्माएर के पाप गरेँ जसको फल आमा-छोराले भोग्नुपर्यो। मेरो हालत देखेर आमाले न्वारनको भोलिपल्ट घर लगिन्। नलगेको भए म त्यही प्राण त्याग्थेँ होला। प्राण मात्रले जीवित थिएँ म।
***
एक तले घर, तीन वटा कोठा, एउटा ठुलो हल। सिँढी तल ट्वाइलेट, बाथरुम सिँढी माथि। माथिल्लो तलामा किचेन। चिटिक्क कलर गरेको, जताततै मार्बल गरेको, खुट्टामा धुलो नलाग्ने घर।
ऊ, म अनि हाम्रो छोरो, म घर सजाउँदै थिएँ।
चिसो पुसको महिना धुम्म शीत लहर चलिराखेको थियो। घरबाहिर निस्कन नसकिने, चिसोले कठ्याङ्ग्रिने। म र ६ महिनाको सानो बच्चा एक्लै त्यो सिङ्गो घरमा घर संसार बचाउन लडाइँ गरिराखेका थियौँ। खाली घर र ऊ मेरो भागमा परेको थियो। म खाली घर र बरालिएको उसलाई सम्हाल्छु भनेर कस्सिएकी थिएँ।
बाबुलाई क्यारिङ ब्यागमा अगाडिपट्टि बोकेर खाना पकाएँ। ग्यास चुलोको एकापट्टि दाल अनि अर्कोपट्टि भात बसाएँ। बाबुलाई ६ महिना पुगिसकेको थियो। परिवारले भात खुवाइसम्म नि गर्दिएनन्। मेरो छोरो जसको जन्ममा खुसी होइन दुखी मुहार लगाएर हेरेको अझै भुलेकी छैन।
मानिसहरू सन्तान प्राप्तिका निम्ति के-केसम्म गर्दैनन्? तर मेरो सन्तानले अपहेलन पाएको थियो। हतार हतार दाल र भात मुछेर खाएजस्तो गरेँ। घाँटीमै गएन। बाबुलाई फर्मुला दूध बनाएर खुवाएँ।
फोन गरेँ, 'बुढा, घरमा सब खाली छ। भाँडाकुँडा किन्नु छ, तपाईं कहाँ हुनुहुन्छ? आउनु न, एक्लै बाबुसँग कसरी जानु!'
उसले भन्यो, 'नाइँ म भ्याउँदिनँ, तिमी गर न आफ्नो काम। त्यति गर्न सकिन्छ नि।'
लामो श्वास फेरेँ। ठिकै छ म आफै गर्छु। त्यस्तो चिसोमा बाबु बोकेर हिँडेँ। कोहलपुरबाट नेपालगन्ज गाडीमा गएँ। बाबु बेलाबेला रुन्थ्यो, आफ्नो दूध चुसाउँथेँ। दूध त के आउँथ्यो! न मनमा शान्ति थियो न कोही साथ दिने नै। म नेपालगन्ज पुगेँ।
'कुन पसलमा जाने? हजुर आउनु न सँगै फर्किउँला।'
'नाइँ, म आउँदिनँ, त्यहाँ एउटा पसल छ म भन्दिन्छु जाऊ।'
म गएँ, एक्लै गाह्रो भइसक्यो। एक जना म्याम हुनुन्थ्यो चिनेको, उहाँलाई फोन गरेर बोलाएँ। अलि सास आयो, साथी त पाएँ। उहाँले मेरो लागि समय निकाल्नु भयो। सानो चम्चादेखि लिएर राइसकुकर, प्रेसरकुकर, डाडु, पन्युँ, बेलन चाकी, चक्कु, पूजा गर्ने थाली सबै सबै।
साँझको ५ बजिसक्यो, सानो बच्चासँग छु। थकाइ भोक शोक कति थोक सहनु पर्ने! ऊ अझै आएन।
म साथीको रुममा खाना खाएँ, बाबुलाई खुवाएँ। फेरि फोन लगाइरहेको छु। ऊ आएन। म लोकल बसमा चढेँ। घर पुग्दा ७ बज्न लागिसकेको थियो। सबै सामान पलङ किनेको ठाउँमा छोडेर भोलि पठाइदिनु भनेर म निस्किएकी थिएँ।
ऊ अझै आएन। रातिको १२ बजे आयो। फोन गरेर गेट खोल भन्यो। मैले खोलेँ। खाना खानु भयो भनेँ। खाएर आएको बतायो। ठिकै छ भनेँ, केही बोलिनँ। गेट बन्द गरेँ। ढोका लगाएँ। ऊ नजिक पुगेँ। ऊ होसमै थिएन रहेछ। रक्सीले मातिएको शरीरबाट नराम्रो सेन्ट आइराखेको थियो।
झोलामा कन्डमका प्याकेट, के-के उत्तेजना ल्याउने अनेकन् ट्याब्लेटहरू दिनहुँ भेटिरहन्थेँ। कहीँले खुट्टामा लेडिज मोजा हुन्थ्यो, कहीँले झोला कहाँ छोडेर आउँथ्यो।
***
मनस्थितिमा घुमिरहन्छ। ऊ त्यस्तो प्रेमी बन्यो जसलाई न म सच्याउन सकेँ, न टिकाउन। यो कलियुगको ऊ बेइमान प्रेमी हो।
म दराजको ऐनामा हेर्दै सिन्दूर सिउँदोमा भरी मुसुक्क मुस्काउँदै उसलाई हेरेँ। ऊ मोबाइलमै ठिकै।
'सुन्नु न, घुम्न जाऊँ न कतै।'
उसको जवाफ उस्तै तितो, 'नाइँ मेरो काम छ।'
म फेरि बोलेँ, 'सधैँ त्यही भन्नुहुन्छ, लैजानु न प्लिज।'
'ममी रिसाउनु हुन्छ पर्दैन कहीँ जान। थपक्क घरमा बस्ने।'
कति तितो बोली उसको। म चुप भएँ। हुन त कहीँ गए नि उसको आमाले बसिखान दिने होइन। खै केको रिस हो, सँगै घुम्न जाऊँ भन्दा नि मान्ने होइन। खै सासू आँसु हुन्छन् भन्थे, हो रहेछ।
म सब मिलाउँछु भन्थेँ तर होइन रहेछ।
ऊ अफिस जान्छु भन्दै निस्किन थाल्यो। ढोकामा उसैकी आमाले जुत्ता लगाइदिइन्। मैले छानिदिएको सर्ट राम्रो देखिएन अर्को लगा भन्दै फेर्न पठाइहालिन्। म टुलुटुलु हेरिरहेँ।
सधैँ यस्तै हो। खाना खाँदा, कपडा धुँदा, हाँस्दा बोल्दा, घुम्न जाँदा, नयाँ कपडा किन्दा, हरेक पलमा जसरी पनि मलाई छुटाइहाल्ने, तह लगाइहाल्ने खै यो सब किन!
मुटुमा दबाएरै मैले दिन बिताइरहेकी थिएँ। ऊ उस्तै थियो त मेरो अरू को नै हुन्थ्यो र!
बिस्तरामा ऊ मेरो थियो, अन्त कहीँ ऊ मेरो थिएन। हरेक सरसल्लाह भविष्यका योजना घरपरिवारमा म कहीँ पनि थिइनँ। उसले मलाई एक्लो बनायो। उसको परिवारले मलाई एक्लो बनायो।
चलिरहेको त २१ औँ शताब्दी थियो तर मलाई एक औँ शताब्दीमा गरिने व्यवहार थियो।
हुन त हाम्रो प्रेम विवाह थियो। तर खै प्रेम कता थियो? विवाह त भयो तर कुनै दिन प्रेममय बित्न सकेन। मन्दिरमा ७ वचन पढेर अग्नि साँची राखेर रङिएको सिउँदोले इज्जत र सम्मान पाएन।
ऊ अहिले अर्ध वस्त्र लगाएकी साथमा लिएर नेपाल भारतका गल्ली चोक घुमिरहेको छ। मलाई देखाइरहेको छ, सुनाइरहेको छ। मेरो संस्कार ठिक भएन भन्दै मेरी आमालाई औँला उठाएर तथानाम बोलेकी उसकी आमाले आज छोरोको संस्कारको चर्चा कसरी सम्हालेकी होलिन्?
भोलि आएर भविष्यमा त्यो जो म र मेरो छोरोको यो हालतको भागिदार बनेकी छ, त्यस्तो चरित्रमा हुर्काइरहेको छोरोले कस्तो संस्कार सिक्छ होला? बुझ्ने भएपछि के भन्ला? खै! मलाई चिन्ता लाग्छ। भगवान् यो समाज कस्तो भयो? यो कलियुग नै रहेछ। म यो सब सोच्न कसरी बन्द गरूँ? सब समयको काँधमा छोडिदिँदै छु। म यो दलदलबाट मेरो छोरो र मलाई टाढा राख्दै छु।
***
उसलाई उसको फोन आयो-
'घर पुगेँ है म।
ल ल हुन्छ गुड नाइट।
आज कस्तो मज्जा आयो है!
छिः कस्तो तिमी त बुढीको अगाडि यस्तो कुरा गरिरहेका छौ।
ह्या बुढीले के गर्न सक्छे र मलाई? यो यसका बाउआमा कसैले केही गर्न सक्दैनन्।'
मोबाइलको स्पिकर अन गर्दै मलाई सुनाइरहेको थियो।
म रुन थालेँ। 'लाज सरम छैन तिमीहरूलाई पापीहरू, दूधे बालकको पाप लागोस् पापिनी, तँ आमा भएर बच्चाको आमालाई रुवाउँछेस्।' म रोइरहेँ, चिच्याएँ।
उसले फोन काट्यो।
आफ्नो बुढोले यस्तो रूप देखाइरहँदा म जिउँदो लास थिएँ। उसको खुट्टा समाई रुन थालेँ। 'यस्तो किन गरेको हो? के कमी गरेँ? अहिले सन्तानको माया त हुनुपर्ने। कमसेकम छोराको त माया मान्नू, भविष्य हेर्नू।'
ऊ मेरो घाँटी समाएर थर्काउन थाल्यो- 'छोरो! मेरो छोरो होइन यो, मेरो छोरो र बुढी त त्यो हो जसले घर जा भनी र आएको हुँ। न मलाई तेरो माया छ, न यो छोरोको। तेरो छोरो हो जे सुकै गर्।'
दैनिकी भयो उसको। हरेक दिन बिहान खान नखाई बिहानै जाने, दिनभरि हराउने, अफिसका स्टाफहरूलाई फोन गर्दा खै अफिस आउनुहुन्न अचेल भन्ने जवाफ आउने।
एक, दुई दिन घर नै नआउने, आए पनि राति १२/१ बजे आउने। सामान तोडफोड गर्ने। घाटी समाउन आउने। मार्दिन्छु नत्र घरबाट निस्केर जा भन्ने।
ठिकै छ जे भए पनि सन्तानको मुहार हेरेर सुध्रिएला भन्यो, आजभन्दा भोलि बढी, भोलिभन्दा पर्सि बढी। ऊ झन् बढ्दै गयो। परिवारलाई सबै थाहा रहेछ, मलाई ढिलो थाहा भयो। सुत्केरीमा यस्तो बज्रपात पर्ला भन्ने मैले सोचेकी पनि थिइनँ। तर अर्की ल्याए नि ठिक छ भन्दै उक्साउनाले आज यो दिन मैले भोग्न पर्यो।
उसको कति सम्पत्ति छ मलाई थाहा छैन। कसले कहाँ कति सुटुक्क जग्गा आ-आफ्नो नाममा गर्छन् मलाई थाहा हुँदैन। जब सबैले आआफ्नो स्वार्थ पूरा गरे, ऊ बिग्रिएकोमा उनीहरूलाई केही छैन। केही हुँदो हो त मसँग मिलेर सही बनाउनु लाग्नु पर्ने हो। नाइँ जे सुकै गर्।
ऊ म र मेरो छोरोलाई मार्न योजना बनाउन लाग्यो। हरेक दिन झगडा, हरेक रात रोएर काटेँ। एकातिर छोरो, एकातिर म। हरेक बिहान ऊ गइहाल्ने। फोन गर्यो भने उसको कोठामा भातको सिट्ठी सुनाउने। जो परिवार मैले बनाउनलाई छोरो बोकिबोकी आँगनदेखि छतसम्म मिलाउँदै थिएँ, ऊ र उसको छोरो मिलेर बसाइसकेका रहेछन्। त्यति देखिसक्दा पनि म ऊसँग आफ्नो सन्तानको बाबा मागिरहेँ।
बाबाको माया मागिरहेँ, भविष्य मागेँ। तर उसले म र मेरो छोरालाई जिउँदो लास बनायो। म त्यही जिउँदो लाससँग लगातार २० दिन घरबार बनाइरहेँ।
बेडरुम मिलाएँ, नयाँ बेड ल्याएँ, नयाँ भाँडाकुँडा, नयाँ तन्ना, नयाँ चप्पल, नयाँ गलैँचा, नयाँ साबुन, नयाँ स्याम्पु, नयाँ कुचो झाडु। हे भगवान्! जे जस्तो होस् तर समाजमा मेरो सन्तानले बाबा विहीन हुन नपरोस्, उसलाई सद्बुद्धि दिनुहोस्, प्रत्येक दिन भगवान्सँग मागिरहेँ।
हरेक घण्टा, मिनेट, सेकेन्ड मेरा लागि मृत्युभन्दा नि बत्तर थिए। उसलाई सम्झाउन खोज्दा मैमाथि हातपात गर्न आउने। छोराको कसम खुवाउँदा उसकै घाँटी समाउने। सब चिज सहेँ, जति सहनु पर्थ्यो त्यहाँभन्दा धेरै सहेँ। तर पनि ऊ १% कम भएन। मैले फोन गर्दा उसले अश्लील बोल्थ्यो, सुनाउँथ्यो, देखाउँथ्यो।
'हेर् म यस्तो गर्दै छु, तँ के गर्छेस्? मेरो परिवार सबलाई थाहा छ, म यसलाई घर ल्याउने हो। तँलाई घरबाट निकाल्न एक्लै राखेको हो। निक्लेर जाने भए जा नत्र मार्छु। तेरो नाममा केही छैन, मेरो एक सम्पत्ति पनि तँलाई दिनेछैन।'
फेरि त्यही फेरि त्यही, केही फेरिएन। 'ठिक छ जे गर्नुस् तर घरमा शान्ति बनाइदिनुस्' मेरो माग त्यही थियो।
'हुँदैन, म जस्तो छु त्यस्तै रहन्छु। तँलाई जे गर्न मन लाग्छ गर्, अब मलाई तेरो कुनै मतलब लाग्दैन। मलाई पुग्यो तँ र तेरो छोरोदेखि।'
***
पुसको १ गतेदेखि यही सङ्घर्षमा होमिएकी म १९ गतेसम्म लगातार लागेँ। छोरोको लागि नयाँ कपडा, नयाँ खाना खाने भाडा, सुत्ने ओछ्यान, खेल्ने खेलौना, खाने खाना, खेल्ने ठाउँ सब बनाएँ तर उसलाई मैले उसको बाबा दिलाउन सकिनँ।
आँसुसँगै मासु पकाएकी हुँ भान्सामा तर आँसु निल्न सकेँ, मासु सकिनँ।
सुत्केरी अवस्थामा पाएको दर्दनाक पीडाले म मरेको भोलिपल्ट रिप भन्दै पोस्ट हान्दा हुन् आफन्त, साथीभाइ, नचिनेका मान्छेहरू, यो सिङ्गो समाज। तर आज बाँचेकी छु, यो समाज ममाथि हजार सवाल उठाउँछ, उठाउने छ, उठाइरहने छ।
मेरा बाउआमा छोरी र नातिको लास बुझ्न आउँदा यो समाजको आँसु आउँथ्यो। तर यही समाज आज म बाँच्दा मेरा बा आमाको आँसुमा सफाइ माग्छ। अब मैले र मेरो छोराले आफू बाँच्नुको सफाइ यो समाजलाई आफू नमरुन्जेलसम्म दिनुपर्ने छ। भूतले लखेटिएका हामी वर्तमान र भविष्य सफाइ दिँदैमा जानेछ।
हुन त म नारी हुँ, कुनै पनि नारीलाई अपमान गर्न सक्दिनँ। ऊ पनि नारी हो, अझ छोराकी आमा हो तर उसले मेरो विवशता बुझिन। किनको जवाफ उसले मलाई दिइन।
उनीहरू दुईले हामी आमा छोरा माथि गरेको अन्याय खै केका लागि? कि उनीहरू नै जानुन् कि भगवान् जानुन्। मैले जान्न सकिनँ। उनीहरूले मेरो प्रश्नको जवाफ नै दिएनन्।
आज मेरो आधा सजायको घरभित्र मेरा छोराका कपडा, मेरा कपडा, खेलौना, सुत्ने बिछ्यौना, मेरा गरगहना, मेरा खुट्टाका चप्पल, मेरा हातका चुरा, मेरा खुट्टाका पाउजु, मेरो निदारमा सजिने टीका, मेरा कानका झुम्का, मेरो छोराको नजर उतार्न बनाएको कालो गाजल, हातका बाला, कालो धागो, मेरो छोराको तेल लगाउने भाँडो, डाइपर, दूध, स्यार्लेक्स, सब लास भएर बसेका होलान् या जलाइसके, मलाई थाहा छैन।
उसले मेरो सिन्दूरको खुलेआम बदनाम गर्यो।
***
अन्ततः १९ औँ दिनको साँझमा मैले फोन गरेँ।
'दुवैलाई भनेँ, तिमीहरू यस्तै गर्ने भए म सब परिवारलाई बसाल्छु। कि मलाई रोज् कि उसलाई। यसरी हुँदैन, मलाई न्याय चाहियो।'
अन्ततः मैले आवाज उठाएँ।
बिस्तारै रात पर्दै गयो। उनीहरू दुवै मिलेर तँ र छोरोलाई खुकुरी लिएर मार्न आउँछौँ भने।
मैले परिवारलाई भनेँ, मेरा बाउआमालाई भनेँ, 'भोलि बिहान मेरो र छोरोको लास बुझ्न आउनु हुन्छ कि आज मलाई बचाउन?'
म ढोका लाएर बसेँ। सबै नआउन्जेल ढोका खोलिनँ।
रातको १० बजिसकेको थियो। सबै जम्मा भएपछि मैले भनेँ, 'उसलाई मैले जति नै सम्झाउन खोजे नि सम्झिँदैन। आज मार्न आयो। अब तपाईंहरू नै भन्नुस् म के गरौँ? उसलाई सोध्नुस्।'
कहानी सुरु भयो...
'त्यसले घर बिगारी। त्यसको लागि म र छोरो मार्न तयार भएपछि उसलाई पनि यो घरमा ल्याउनु पर्यो। कुरा निष्कर्षमा पुग्नुपर्यो।'
यति भन्दा खेरी मेरो बुढोले मलाई मुख छाड्यो, मेरी आमालाई मुख छाड्यो। कसैको मान्यता राखेन। मेरा बुवा, आमा, म बहिनी सबैलाई अपशब्द बोल्यो। गल्ती स्विकार्नु पर्नेमा अझै ऊ आफूलाई राजा, उसलाई देउता हो पुज्नु पर्छ भन्दै तथानाम बोल्न थाल्यो।
जति सम्झाउँदा पनि उस्तै।
गल्तीको माफी मागेर अघि बढ्छु भनेको भए आज सम्बन्ध त बच्थ्यो। तर उसलाई न म चाहियो, न छोरो, न सम्बन्ध। १२/१ बज्दा समेत पनि त्यही पागलपन गरिरह्यो।
बिहान कुरा गरौँला भनी सुत्ने तरखर भयो। ऊ मैले सजाउँदै गरेको हाम्रो कोठामा जहाँ सब गरगहना सामान छ, त्यही कोठामा गयो र चुक्कुल लगायो। मैले ढकढक्याएँ। उसले थोरै खोल्यो। म छोरो च्यापेर भित्र पस्न खोजेँ। उसले बाहिरतिर धकाइदियो। मेरो खुट्टाको बुढी औँला ढोकाले च्यापियो।! म चिच्याएँ, म रोएँ।
उसले नाटक गर्छेस् भन्दै बाहिर धकेलेर ढोका बन्द गर्यो।
मलाई त्यो एक रात एक शताब्दी लागिरह्यो। रोएर आँखा सुन्निए। आवाज बन्द भइसक्यो। श्वास बन्द हुन मात्रै बाँकी थियो।
संसार बसाउँदै खुसी हुन चाहेकी म अनि मेरो संसार मसानघाट बनाएको ऊ। अझ म उसले बिहानसम्म केही सम्झिन्छ कि भनी पर्खिरहेकी। म र मेरो परिवार पर्खिरह्यो।
बिहान भयो, उसले ढोका खोल्दैन। ढोका ढकढक्याएँ, खोलेन।
म बाबु बोकेर किचेनमा गएँ। उसलाई माथि बोलाइयो। परिवार तल हलमा थिए। मैले उसलाई हेरेँ, केही फरक छ कि नाइँ। मैले भनेँ, के गर्नु हुन्छ? अब अन्तिम पटक सोध्छु भन्नुस्, के गर्नु हुन्छ?'
ऊ अक्कडसँग बोल्यो- 'म जस्तो छु त्यस्तै हुँ, तँलाई जे मन लाग्छ गर्। निस्केर जा।'
'साँच्चै म जाऊँ त? यही दिन देख्नु थियो। म निस्किएर तपाईंलाई राम्रो हुन्छ भने ठिक छ।'
गुन्डाको रूपमा ऊ बोलिरहेको थियो। म किचेनको चप्पलसँग तल हलमा झरेँ। आँसुले भिजेको मुहार, भोक, शोक र अनिदोले थरथर काँपेको शरीर। छातीमा छोरो च्यापेर सिँढी ओर्लिएँ। हलमा ढोकामा उभिएँ।
'ठिक छ, मैले सकिनँ। म यहाँबाट निस्किएर उसलाई पुग्छ भने म निस्किएँ,' यति भनेर म त्यही ढोकाबाटै बाहिर हिँडेँ। पुस महिनाको चिसो शीत लहरमा खाली खुट्टाको छोरो छातीमा च्यापेर पछाडि नफर्की हिँडेँ। वरपरका मान्छेहरूले टुलुटुलु हेरिरहेका थिए।
म रोडमा पुगेँ। माइक्रोमा चढेर कोहलपुर चोकमा पुगेँ। अब कता जाने! बाबु चिच्याउन थाल्यो। सुर्खेत सुर्खेत भन्दै गाडीको खलासी मेरो अगाडि आयो। मले अँ भनेर बसेँ।
गाडी हिँड्यो। अलि तल पुगेर गाडी रोकिएको थियो।
***
बाउआमालाई पनि त्यही छोडेर आएँ। मेरो तपस्या, मेरो संसार त्यही छोडेर आएँ।
मलाई बा आमाले गाडी रोकिएको ठाउँमा भेट्टाएर ल्याए। ऊ पनि त्यहाँ आएको थियो। मलाई फर्काउन हो कि भनी अझै आस मानेँ तर होइन, त्यसरी खाली खुट्टै आउँदा पनि ऊ मैले केही ल्याएँ कि भनी छाम्न आएको कति पापी!
उसले मैले लगाएको कपडा छाम्यो। मोबाइल खोस्न खोज्यो। कहाँ जान्छेस्, कहाँ छ तेरो ठाउँ?' भन्यो।
मेरा आँखाका आँसु अब रित्तिइसकेका थिए। ऊ खुसी हुँदै फोन गर्दै कता गयो। सायद उसको मिसन सफल भएको थियो। मलाई ऊ निकाल्न सफल भएको थियो।
म अर्धचेतन अवस्थामा आमाको काखमा बेहोस भएँ। जब उठेँ तब म आमाबाबा घरमा थिएँ।
केही खबर आएन। भोलिपल्ट उनीहरू दुईले पार्टी गरेर रेस्टुरेन्टका फोटोहरू सिङ्गल सिङ्गल फोटाहरू पोस्ट गरे। मेरा र छोराका सारा फोटोहरू डिलिट गरेर मलाई ब्लक गरे।
त्यसपछि कथा मोडियो। मलाई धम्कीहरू दिए- पख्, कसैलाई केही भनिस् भने मार्छु।
उसले डिभोर्स गर्न धम्की दिइरहेको छ।
म एक हप्ता माइतीघरमै बसेँ। घरपरिवार कोही आएन। न ऊ आयो। ममाथि आउने सवालहरूको जवाफ दिँदादिँदै म थाकेँ। उसको धम्कीले कान अझै बज्छन्। उसको व्यवहार सम्झियो कि आँखा उसै भिज्छन्।
म सोच्थेँ आँसु सकिन्छ, होइन रहेछ। आँसु त झन् पुरानो हुँदै खारिएर समुद्र बन्दो रहेछ। आज त्यो समुद्रमा छलाङ लगाउँदै म हर चुनौती पार लगाउँछु भनी लागिपरेकी छु।
म हड्डी मात्रै छु जसमा श्वास फेरेको प्रस्ट देखिन्छ। शरीरमा कति हड्डी छन् गन्न मिल्छ। मनको त के कुरा, कालो कोइला बनेको छ। जे छ, जस्तो छ, म जिन्दगीमा रानी बनाउँछु भन्नेद्वारा खरानी बनाइएकी छु।
***
'बाबा' उसको पहिलो शब्द थियो। मात्र ७ महिनाको दूधे बालक हो ऊ। आमाले पिएको आँसुले पक्रिएका दूधे आँसु पिएर हुर्किरहेको छ। आमाको दूधले पुग्दैन उसलाई,जन्मिँदैदेखि पुग्दैन। पुगोस् कसरी? अब त हरेक सेकेन्ड, मिनेट, घण्टा, दिन, रात, वर्षमा उसलाई धेरै थोक पुग्ने छैन।
ताते-ताते गर्ने बेला भएको, हरेक पटक बाबा-बाबा गर्दै उठ्न खोज्छ। मेरा औँलाहरू दिन्छु। एकटक हेर्छु, कति अभागी रहेछ।
हरेक दिन बढिरहेको छ। उसलाई थाहा छैन। उसको एक थोक होइन, सब थोक खोसिएको छ।
जसले हात समाएर ताते-ताते गर्नु पर्ने हो, ऊ परस्त्रीको हात थामेर मन्दिर, सहर, होटेल बदल्दै हिँडेको छ। एउटी स्वास्नी र मातृत्वको मजाक बनाएको छ। आफूले ईश्वर साँची राखेर भरेको सिन्दूरको तमासा बनाएको छ।
बच्चाको मुस्कानमा खुसी हुँदै हाँस्नु पर्ने, खेल्नु पर्ने, काखमा निदाउनु पर्ने, उठ्नु पर्ने, सँगसँगै बचपन जिउनु पर्नेमा ऊ बदनाम गल्लीमा खुलेआम तमासा गर्दै हिँडिरहेछ।
ऊ पापी हो, म र मेरो छोराको। उसले मेरो छोराको नाममा कलङ्क लगाएको छ। अब जिन्दगी भर त्यो तितो कलङ्क खेपेरै हरेक पलमा म र मेरो छोरा जिउनु पर्ने छ।
जुन शब्द मेरो छोराले पहिलो पटक बोलेको छ त्यही शब्द अभिसाप बनेर जीवनभर पछ्याइरहने छ उसलाई।
उसले हामी दुईको विगत, वर्तमान, भविष्य सबको हत्या गरेको हो। ऊ हत्यारा हो- स्वास्नी र दूधे बालकको, मेरो छोराको भविष्यको, मेरो छोराको वर्तमानको, मेरो छोराको नामको।
छोरोलाई काँधमा राखेर बजार घुमाउनु पर्नेमा हाम्रो जिउँदो लासमा ऊ बदनामीलाई समाजमा घुमाइरहेको छ।
एउटा गलत मान्छेसँग गरेको प्रेमले खुनखार अपराधीले भन्दा बढी पीडादायक अन्त्येष्टि दिँदो रहेछ जसको सिकार म भएकी छु। जसले मेरो आत्मसम्मान, अस्तित्वको बीभत्स हत्या गरेको छ, मलाई सबदेखि भरोसा उडेको छ; प्रेम, विश्वास, परिवार, समाज, श्वास, जीवन, सब सबदेखि।
आँखामा समुद्रको छाल झैँ रोकिएकै छैन। मनमा यति बिघ्न पीडा छ कि न लुकेको छ, न देखिएको छ। किन यस्तो?
मैले पढेका हरेक कथाहरू गलत साबित भएका छन्। रत्नाकर डाँकुबाट वाल्मीकि बनेको त्यो कथा उसलाई सिकाइएन, उसलाई जरुरत थियो। अब सबै थोक ईश्वर को हातमा गएको छ।
कसैको संसार जलेको छ
अनि कसैलाई तमासा गर्ने ठाउँ बनेको छ
ओहो कस्तो विचित्र
कसैको आँसु बगेको छ अनि
कसैको हाँसो खुलेको छ,
ऊ त्यहाँ हेर त बाबु, तिम्रो नाना जलेको छ
ऊ त्यहाँ हेर त बाबु, तिम्रो भात खाने भाँडो मेरेको छ
कति पापी हुन् मनहरू अरूको पीडामा आफू नाचेका छन्
ओहो कसरी सुनाऊँ
ऊ त्यहाँ हेर त बाबु, तिम्रो दूधको बोतल घोप्टे परेको छ
ऊ त्यहाँ हेर त बाबु, तिम्रो नुनु गर्ने ओछ्यान मुर्छा परेको छ
कसैले तमासा बनाए, कसैले सम्पत्तिका लागि मुन्टो गाडे
आफ्नै हुँ भनी आफ्नाले नै हो पिठ्युँ पछाडि छुरा रोपेको
ऊ त्यहाँ हेर त बाबु, तिम्रो खेलाउना तमासा बनेको छ
तिमी र म जिउँदा लास बनेका छौँ
अनि मृत मलामी बनेका छन् आफ्ना भन्ने आफन्तहरू
तिम्रो एक-एक थोपा आँसुले सरापेपछि
त्यो घर अब मसानघाट बनेको छ।
ऊभन्दा पर संसार नदेखेकी म
अनि पूरा संसार बाहिर बसाएको ऊ
मेरो सब थोक भएको ऊ
अनि उसको केही थोक नभएकी म
ऊ खुसी हुँदा खुसी, दुखी हुँदा दुखी हुने म
अनि सारा सुख सयल किन्न सक्ने दम भएको ऊ
ऊ र म अनि सन्तानको खुसी चाहने साँघुरो सोच भएकी म
अनि अनेकौँ चरित्र बोकेको सफेद २१औँ शताब्दीको ऊ!
म हरेक पटक उसका गल्ती माफ गरिरहेँ
ऊ गल्ती गरिरह्यो, म सम्झाइरहेँ
उसका
हरेक गल्ती पैसाले भुलिरहेका उसका आफन्त
अनि अस्तित्व विहीन म
ऊ अकड बढाइरह्यो
ऊ लड्यो मैले उठाएँ
म फेरि साथ चलेँ
ऊ मलाई साइड लगाइरह्यो
म उसलाई बचाइराखेँ
उसले मलाई लडायो, म उठे
ऊ मलाई मार्न खोज्यो, म अझै बाँचिरहेँ
तर ऊ मेरो सन्तानको श्वास रोक्नसम्म पुग्यो
अन्ततः मलाई अब ऊ पनि पुग्यो।
अब न म उसका गल्तीहरूको भागिदार हुनेछु न त उसको ढाल नै। सब ईश्वरको हात पुग्यो र अब मलाई ऊ पनि पुग्यो।
जब मृत्युलाई नजिकैबाट देखेँ,
सन्तानको श्वास रोकिन थालेको देखेँ,
अब मलाई ऊ पुग्यो।
उसले मलाई कुनै प्रेम, सम्मान, आस, भरोसा केही दिएन खै म उसलाई किन प्रेम गरिरहेथेँ, गरिरहेछु? एक नमिठो चोट लागेको छ।
उसले उसलाई देवता अनि मलाई सस्तो बस्तु सम्झियो। कोही नारी नारीको नाममा कलङ्क हुन्छन्। ऊ त्यही हो। अनि ऊ त्यही पुरुष हो जो हजारौँ राक्षस एक मुख लिएर मेरो संहार गर्न आएको थियो। ऊ कस्तो पुरुष हो जसले आफ्नी स्वास्नी र बच्चालाई अरू कसैको लागि श्वास फेर्न नै नदिएर फ्याँकिदियो, भगवान् उसका हर इच्छा पूरा हुन सिवाय मेरो अस्तित्व मेटाउने।
अब मलाई सब चिजदेखि पुग्यो।
ऊ मेरो मृत विगत बन्यो। भगवान् म यही माग्छु, ऊ र उसको ऊलाई म र मेरो दूधे बालकको आँसु नलागोस्। उसलाई त्यो सब दिनुस् जो उसको कर्मले दिन्छ। अब म उसको किरायाको सम्बन्धबाट खाली खुट्टा निकालिएकी छु। अब मलाई सम्बन्धदेखि विश्वास उडेको छ।
न्याय, अन्याय, सही, गलत कर्मको फल यही जुनीमा देख्नुपर्ने छ। मेरो छोरालाई त्यो बदनाम सहरको हावाले कहिल्यै छुन नसकोस्। म छोराकै भविष्यका लागि बाँचेकी हुँ। अब हरेक पल उसले दिएको दाग मुटुमा लुकाएर जिउनु छ। मलाई मेरो छोराको जीवनका लागि श्वास फेर्नु छ।
यो अवस्थामा पुर्याएर उसले के साबित गर्दै छ ऊ नै जानोस्। ऊ र उसकी ऊ दुवै पापी हुन्। एउटी नारी भएर नारीमाथि नै बज्रपात पार्ने। एउटी आमा भएर बच्चाको आँसुको कारण बन्ने। आफ्नो सन्तानलाई सही बाटो देखाउन नसक्ने। अर्काको सन्तानको सुख चयन खोस्ने। यो सब सामर्थ्य कसरी राख्न सक्छन्? कुन संस्कारमा पर्छन् यी गतिविधिहरू? भगवान् मलाई केही चाहिँदैन जसले जे कर्म गरेको छ त्यही फल दिनुहोस्।
यो लेखिरहँदा तीन महिना पुग्न १० दिन मात्रै बाँकी छ। उसको रमिता हेर्छु। अनेकौँ स्टोरी, भिडिओहरू पोस्ट गर्छ। हरेक पटक मन्दिर गएका हुन्छन्। खै! उनीहरूले पुज्ने देउता को हुन्? त्यस्ता मान्छेहरूले मन्दिर गएर के माग्छन् होला? यो कस्तो कलियुग हो? हामी कस्ता कलियुगका मान्छे हौँ?