सहरको चोक, सवारी साधनको ट्याट्या र टुटु हर्नको आवाजले नै विरक्त लाग्दो। गाडीहरूको चाप, यात्रुहरूको भिडभाड र सबैलाई गन्तव्यमा पुग्नपर्ने हतारोले कस्को समय पो पर्खिन्छ र आखिर?
अस्तव्यस्त भिडभाड जीवन अभ्यस्त भैसकेको छ आजकल यो सहरलाई। यहाँ म्याराथनको रेस हरेक दिन चल्छ तँछाडमछाड गरेर, कसले जित्यो कसले हार्यो त्यस्को पनि कसलाई के मतलब?
सहरको आफ्नै कहानी छैन, सहरको रहरमा जिउनेहरूकोबाहेक। सहरमा संघर्ष गरिरहेका जिउँदाहरूको मरेतुल्य कहानी, यिनै सहरका ठूल्ठूला महलहरूले छेकिदिन्छन् र त आम मान्छेलाई लाग्छ सहर रसिलो छ, रमाइलो छ।
त्यही भीडभाड चोकमा भर्खर एउटा दुर्घटना घट्यो। चोकमा दुर्घटना हुनु भीडको हतारोकै नतिजा थियो। पछाडिबाट आएको मालवाहक गाडीले अगाडि गुडिरहेको साइकललाई ठक्कर दियो र साइकल सवार नैनाकली सडकमा बजारिन पुगिन् साइकलसँगै।
दैवको संयोग भन्नुपर्छ भीडभाडमा सवारी बिस्तारै चलेको थियो तसर्थ उनलाई कुनै चोट लागेन। प्रत्यक्षदर्शीहरूले साइकलबीच बाटोमा कुदिरहेको थियो भनेपछि त्यहाँ पुलिसको काम पनि हल्का बन्यो र गाडीले सहज उन्मुक्ति पाइहाल्यो।
साइकल ठीक थियो, नैनाकली ठीक थिइन्, देख्नेहरूलाई सब ठीक थियो। चोकले आजको ठीक दिन व्यहोर्यो, सहरले ठीक सास फेर्यो, लाइब्रेरीमा लस्करै मिलाइएका किताब जस्तै सब ठीक देख्यो समाजले उक्त घटना। तर नैनाकलीका लागि असह्य थियो त्यो पल।
मानौं भर्खर त्यहाँ उनको कोही नजिकको आफन्तको मृत्यु भयो।
मालवाहक गाडीसँग ठोक्किनुभन्दा केही पल पहिले नैनाकली मुस्कुराई रहेकी थिइन्, उनको ओठको हाँसो आज हाँसो मात्र थिएन एउटा चहक चमक बनेर चम्किरहेको थियो। मानौं नैनाकली जुनकीरी हुन् र उनले आफ्नो हाँसोबाट सारा जगत चम्काइरहेकी छन्। महङ्गा, महङ्गा कारहरू उनैलाई उछिनेर अगाडि बढ्दा समेत नैनाकली आफैलाई संसारको धनाढ्य महसुस गरिरहेकी थिइन्।
आज नैनाकलीलाई आफ्नो गरिबीप्रति कुनै प्रवाह थिएन, यस्तो लाग्छ संसारभरिको पैसा पनि महत्वहीन बनेको छ। उनी आफ्नो गणना संसारको धनाढ्यमा गर्थिन् र दोस्रोमा उनले भन्दा अलि कम मूल्यमा साइकल किनेकी उनैकी छिमेकी हरिकलालाई राख्थिन्।
हर्षसँग साइकल कुदाइरहेकी नैनाकली सम्झिन्छिन् सारा विगत। उनले विगत सम्झिँदा ओठको हाँसो देख्नेहरू उनको आँखाबाट निस्केको आँसु कसले देख्यो र उनकै आफ्नै दाहिने बाहुलाबाहेक।
नैनाकली को हुन्? विवाहिता हुन या विधवा हुन्? आमा हुन कि अनामिका? समाजलाई यो प्रश्नको जवाफ नै चाहिएन। उनै आफैले पनि आफैसँग आफ्नो परिचय माग्न छोडेको वर्षौं भैसक्यो। समाजका लागि को हुन् यिनी? यसका भिन्न परिप्रेक्ष्य हुन सक्थे। तर उनको सन्तान संकल्पकी निमित्त उनी मातापिता दुबै थिइन्।
जब परदेशी श्रीमान सन्तोषमानले उतै अर्कैसँग घरजम गरेर बस्न थाले भन्ने उनले सुनिन् उनलाई अब संकल्पबाहेक अरू कोही संसारमा छ जस्तो पनि लागेन र अरू कसैको निम्ति आफै हुनुपर्छ जस्तो पनि लागेन।
नैनाकलीका जीवन कहाँ सुखिलो रह्यो र? अर्काको घरमा भाडा माझ्नेदेखि मेलापातमा धाउँदा हातमुख जोड्ने व्यवस्था मिल्थ्यो। संकल्प ठूलो भएपछि यस्तो बन्छु, यस्तो गर्छु भन्थ्यो, उनी छातीमा बेस्सरी टास्थिन् र भन्थिन्- मेरो वर्तमानको ज्युने सहारा, मेरो भविष्यको संकल्प।
छोराको आज छैटौं जन्मोत्सव। यो पटक छोराको जन्मदिन विशेष बनाउने उनको इच्छा थियो। काम गरिरहेको घरमा पेश्की स्वरुप तलब मागिन् तर उनीहरूले मासिक तलब लगिसकेको र थप अहिले भर्खरै नदिने भनेर उनको प्रस्ताव नकारिदिए। अलिअलि कमाएको खान लगाउन ठिक्क हुन्थ्यो, बचत गर्ने पैसा कहाँबाट हुनु? ऋण कसले पत्याउनु? मेलापातको पनि सिजन थिएन कहाँ जानु?
नैनाकलीको मन पोलिरहेको थियो, छोराको साइकल चलाउने निरन्तरको ढिपीले।
हरिकलाको छोरो प्रमाणले साइकल चलाएपछि संकल्पलाई पनि साइकलकै रहर जाग्यो।
पुराना चप्पलको दुई वटा गोलाकार टायर जस्तो बनाएर बीचमा काठ ठोकेपछि गुड्न मिल्ने खेलौना बन्थ्यो, त्यसको सिधा बाँसको लठ्ठीमा पाइपको स्टेरिङ्ग बनाएर मेरो गाडी भनेर मख्ख पर्दै मुखबाट आफै गाडीको इन्जिनको आवाज निकालेर गुडिरहेको बेला संकल्पको अगाडि प्रमाण साँच्चिकैको नयाँ साइकलका साथ देखा पर्यो।
'ओए त्यस्मा पनि केही मजा छ र? साँच्चिकै साइकल चलाउनु पो मजा।'
प्रमाण यति भनेर गयो, संकल्प उसलाई गएको हेरिरह्यो। उसलाई साँच्चिकै साइकलमा बसेर कुद्न मन लाग्यो। प्रमाणको बोलीले संकल्पको बालशुलभ पनलाई बेस्सरी निचोरिदियो र साँच्चिकै साइकलको मागको कठोरतामा उतारिदियो। उतिखेरै उसलाई आफ्नो खेलौना रद्दी लाग्यो र फ्याँकिदियो।
उसले रहर निकै पहिले नै गरेको थियो। तर रहर गर्नासाथ किनिदिन सक्ने सामर्थ्य नैनाकलीमा कहाँ थियो र? साइकल किन्न काम गरेको ठाउँमा पेश्की पनि मागेकी थिइन् तर नपाएपछि यो जन्मदिनसम्ममा किनिदिने मनमनमा दृढसंकल्प गरेकी थिइन्।
सहरको बीचमै साइकल पसल थियो, कति पर्ने रहेछ उनलाई जान्न मन लाग्यो र सोही ठाँउ पुगेर सोधिन् साइकलको मूल्य।
पसलेले भन्यो- ६ हजार
'यसमा मिलाइदिनुहुन्छ होला नि?'
'लैजानुस् न मिलाउला नि।'
'अहिले त किन्न आकी हैन, बुज्न मात्र आकी, किन्न त पछि आउँछु , त्यतिबेला मिलाइदिनुस् है।'
'हुन्छ, किन्नेबेला भन्नुहोस् न।'
सर्लक्क परेको पहेंलो रङ्गको चार पाङ्ग्रे साइकल नैनालाई खुब मन पर्यो। छोरालाई कति सुहाउँछ होला त्यही ख्यालमा हराइन्। कति खुसी हुन्छ होला। छ हजार भएको भए उनले भर्खरै चुपचाप पैसा निकालेर भन्दिहुन्, राख्दिनुस् अहिले नै लैजान्छु।
तर उनीसँग त्यो हैसियत त्यसबेला थिएन। म पछि किन्न आउँछु अरूलाई नदिनुस् है भन्दै उनी निस्किइन्। पसलेले मनमनै गोजीमा दाम छैन कस्ता कस्ता मान्छे आउँछन् भन्ने सोचे पनि व्यापारिक धर्म अनुसार मुस्कुरायो र भैहाल्छ नि भन्ने जस्तो गरेर विदाई गर्यो।
नैनाकलीको मनमा अब छट्पटी सुरू भयो। ६ हजार कसरी जुटाउने? अलिअलि पैसा बचत हुँदै थियो। लोग्ने विदेश गएपछि पैसा आउन छाड्यो तर विदेश जाँदा लागेको ऋणले उनलाई छाडेन। भएभरको बचतले श्रीमानको ऋण तिरिन् तर उता श्रीमानले अर्कै रोजेर बसेको खबरपछि नैनीको संसार सदा सदाको लागि फेरिएको थियो। उनका आखाँमा ती बचतका पैसाहरू झलझली नाचिरहेको थियो।
आमाको मन न हो, जे जस्तो भए पनि बरू आफै भोको रहे पनि सन्तानको इच्छा कसरी मार्न सक्थिन् र? आफ्नो सन्तानको लागि आमाहरूको मन के जाबो ६ हजारमा अड्केर बस्थ्यो होला र?
हुन त उनी पनि आफैले पहिले कहिल्यै साइकल चलाइनन् । पति विदेश गएपछि उनैले चलाउने साइकल डोर्याउँदा डोर्याउँदै आफै चलाउन सिकिन्। पतिले जीवनको भार नथामे पनि उनको साइकल सारथि भएको थियो नैनाकलीको जीवनको गोरेटोको।
जन्मदिनमा साइकल किनिदिने अठोट पूरा गर्न उनले खुब मेहनत गरिन्। ठूला, ठूला महलले नसोच्ने अनि तिनै महलका छायाले अठ्यादिएको गरिब सहरिया जीवन सहरको नजरले देख्नै सक्दैनथ्यो। करौडौं, अरबौं हिसाबमा छक्का पन्जा गरिरहने सहरले जाबो ६ हजारको मूल्य कत्रो भारी हुन्छ भन्ने सोच्ने फुर्सद कहाँ पाओस्।
सहरका लागि नैनाकली उनैको घरको प्वालबाट निस्कने कमिला जत्तिकै त थियो, भलै उनले जीवनका सारा दु:खका पहाड एक्लै उठाएर हिँडेकी थिइन् तर दुनियाँ कमिलाले आफूभन्दा गह्रौ खानेकुरा बोकेर हिँडेको देखेर पनि वास्ता नगरेझैं उनका जीवनका भारीसँग कुनै मतलब राख्दैनथ्यो।
आज उनको छोराको जन्मदिन गोजीमा ६ हजार पनि छ। अब छोराको साइकल चढ्ने रहर र उनको साइकल किन्ने अठोट कसले रोक्न सक्थ्यो र? रातभर उनले छोराले साइकल चलाएर हिँडेको सपना विपनामै रहेर देखिरहिन्।
बिहानै उठेर घरका नित्यकर्महरू सकिएपछि छोरालाई खाना खुवाएर नैनाकली पैसा पोको पारेर गोजीमा राखी बडो रवाफका साथ उहीँ पुरानो साइकलको पसल भएको चोकमा निस्किइन्। बाटोमा उनले दुई तीन पटक गोजी छामिन्।
छोरालाई आजभन्दा केही महिना पहिले हेरेको जस्तै पहेलो रङ्गको साइकल ठाट्टिएर पसलको बाहिरैपट्टि झुण्डिरहेको थियो। उनी पुगिन् र सोधिन्, 'साहुजी साइकल कतिमा दिनुहुन्छ?'
साहुजी बोल्यो 'सात हजार।'
नैनाकली झसङ्ग भइन्। उनको मनको ६ हजार विभिन्न काममा बाँडिसकेको थियो। उनले बाटैमा आफैसँग गन्थन गरेकी थिइन् सकेसम्म ५ हजारमा मिलाउँछु नभए पचपन्न सयमा त कसो न आउँला र? बाँकी बचेको पैसाले छोरालाई केक पनि काटिदिनु पर्ला यो पटक। आहा! जन्मदिन त रमाइलो पो हुने भो। छोरो कति खुसी होला। तर अहिले कुरा फरक पर्यो उनले भनिन्, 'अस्ति नै त छ हजार हो, मिलाइदिन्छु भन्नुभको थियो त।'
'यो पहिले हेरेको साइकल हैन बैनी, नयाँ हो। यसको त ब्राण्ड नै अर्कै छ।'
'मिलाइदिनुस् न साहुजी, छोराको जन्मदिनमा दिन खोजेको।'
साइकल व्यापारी नै भए पनि ऊ कारमा हिँड्थ्यो। उसले नैनाकलीको हुलिया नियाल्यो, उनले चढेर आएको साइकल नियाल्यो। उसको मनको कुनामा दया झुल्कियो र भन्यो- 'ठिकै छ, ५ हजारमा लैजानुस् न त।'
नैनाकली एक्कासि खुसी भइन्। अघिको हिसाब किताब सबै मिल्यो त।
अब केक पनि किन्न सकिन्थ्यो र बचेको पैसाले केही खाने कुरा पनि। उनले ढिलो नगरी गोजि छामिन् र निकालिन् हजार, पाँच सय, सय, पचास सबै नोट र गन्दै ५ हजार पसलेको हातमा थमाइदिइन्।
साइकल किनियो र किनिएको साइकल उसको साइकलमाथि राखियो। नैनीकला बडो प्रसन्न भइन्। उनलाई लाग्यो आज उनले जहाज नै किनेकी छन्। उनको साइकलको पछाडिपट्टि नयाँ पहेंलो साइकल पहेलिरहेको छ।
चोकबाट पारी तरेर केक किन्ने योजना बन्दै थियो, अरू केके किन्ने कल्पना गर्दै गर्दा साइकल सडकको बीच भागमा पुग्यो र एक्कासि केहीसँग ठोकियो। नैनाकली ब्युँझिएजस्तो भइन्।
नैनालाई चोट लागेको थिएन, सडकको बीचमा साइकल चलाउनु उनकै गल्ती ठहरियो धन्न पुलिस केस भएन। उनी चुपचाप उठिन्, शरीरको धुलो टक्टकाइन् र प्रफुल्ल भइन् धन्न केही भएन।
तर जब आफ्नो साइकलको पछाडि नियालिन्, बाँधिएको साइकल थिएन। अघि ठोक्किँदा खसेछ र केही कदम हुत्तिएछ र अगाडिबाट आएको ट्रकले आफ्नो पाइला चढाइदिएछ।
साइकलसँगै नैनाकलीको सारा सपना चकनाचुर भयो।
घर पुग्नासाथ छोरो करायो 'मम्मी मेरो साइकल खै?'
'साइकल मम्मीले अर्को जन्मदिनमा ल्याइदिनुहुन्छ आज चाहिँ केक खाने है मेरो बाबुले।'
'नाइँ मलाई साइकल चाहिन्छ।'
छोरोले जिद्दी गर्यो।
नैनाकलीले सुटुक्क लुकेर बाहुलाले आँसु पुछ्दै छोरोलाई आफ्नो काखमा तानिन्।