एकाबिहानै सधैँ जस्तै आमाले गाउँबाट फोन गर्नु भयो।
'बाबु, कस्तो छ तिमीलाई? सन्चो बिसन्चो के कसो छ? अप्ठ्यारो केही छ कि बाबु?'
साँच्चै भन्नु पर्दा आमालाई आफ्नोभन्दा बढी चिन्ता मेरो छ। जसप्रति आफ्नो अधिक परिश्रम र त्याग हुन्छ, उसैप्रति अनगिन्ती माया पनि हुँदो रहेछ।
बुढेसकालमा तामझामका साथ ठुलो हरिवश लगाएर बाबाआमाले मलाई जन्माएको रे। म जन्मिएको रे। यसै कारण पनि मप्रति आमाबाबुको भरोसा पहिलेदेखि नै खुब थियो र हुनु पनि स्वाभाविक थियो।
हरेक सन्तानप्रति आमाबाबुको माया अपार हुँदो रहेछ। तर विडम्बना नै भनौँ। मैले जान्ने भएको केही वर्षपछि बाबा पनि परलोक हुनुभयो। मलाई बाबाले सानो उमेरमा धेरै कुरा सिकाउनु भयो। लड्दा उठ्न सिकाउनु भयो। रुँदा हाँस्न सिकाउनु भयो।
खासमा हेर्न सिकाउनु भयो, देख्न सिकाउनु भयो, बोल्न सिकाउनु भयो र सत्यको मार्गमा सधैँ हिँड्न सिकाउनु भयो।
लड्दा भन्नु हुन्थ्यो- बाबु, उठ्ने कोसिस गर्नु पर्छ। हिँड्ने हिम्मत राख्नु पर्छ।
रुँदा भन्नु हुन्थ्यो- बाबु, रुनु हुन्न।
सम्झिँदा पनि उदेक लाग्छ, मन भारी हुन्छ, अनि आँसु खस्छन्। म सम्झन्छु, बाबाको सम्पूर्ण जिन्दगी पनि त रोएरै सकिएको हो।
आज उमेरले आमा ७० कट्नु भयो। बाथ रोगले थला परेकी मेरी आमालाई आफ्नो चिन्ता कम्ती छैन। बुढेसकालमा आफ्नो जोडाले बिचमै छोडेर जाँदा बिचरी मेरी आमा गुँड नफर्किएका बिचरा चरीका टुहुरा बचेरा जस्तै हुनु भएको छ।
हिँड्न सक्नु हुन्न। नजिकै धारामा पानीको टुटी फुस्किएर पानी छताछुल्ल बगिरहेको छ। दलानिमा लडेकी मेरी आमाको प्यासलाई त्यो निष्ठुरी धाराले फर्केर हेर्दैन। ढोकैको कुनामा रित्तो तामाको गाग्री र एउटा तसला पनि छ। मिल्ने भए तिनीहरूले आमालाई केही सहारा दिन्थे होला। बिचरा ती निर्जीव चिज न परे। निर्जीव चिजको के साथ खोज्नु र!
अनेकौँ गन्थन मनमा आई नै रहे। फोनमा सबै कुरा सेयर गर्न नसकिने, भन्न नमिल्ने र बताउन पनि त नमिल्ने।
सहरबाट गाउँ जाँदा मेरी आमालाई एउटा सानो फोन लगिदिएको थिएँ। आमाले अचेल खै कताबाट हो सिधै एक डायल गरी छोरालाई फोन लाग्न सक्ने उपाय सिक्नु भएछ। अचेल मेरो याद आएमा आमाले त्यही एक अङ्क खोजेर हेर्नु हुन्छ अरे। कतै देखिहाले छोरो भनी सम्झिनुहुन्छ अरे। सुमसुम्याउनु हुन्छ अरे।
आमालाई आफ्नो सबै कुरा सुनाउन म असमर्थ छु। आमालाई एउटै कुराको सधैँ आस छ- छोरो सरकारी जागिरे भइदिए!
मेरा बाबाको कामना पनि त्यही नै थियो। के गर्नु, सबै कुरा मेरो आफ्नै बसमा पनि हुँदो रहेनछ। राम्रैसँग लोक सेवाको तयारी गरेँ। थुप्रै पटक लोक सेवाको जाँच पनि दिएँ। तर प्रतिफल भने सोचे जस्तै आएन।
आमासँग गुनासो गर्छु, कहिलेकाहीँ दुःख पनि पोख्छु। मैले हरेस खान थालिसकेँ तर पनि आमा पटक्कै आत्तिनु हुन्न। अझै आमा मलाई भन्नु हुन्छ- 'बाबु! आत्तिनु हुन्न। कोही नहुनेका पनि भगवान् हुन्छन्। भगवान्ले एक दिन अवश्य हेर्छन्।'
यसो भनिरहँदा ७० कटेकी मेरी आमाको अवस्था सम्झन्छु। गाउँमा मेरी आमा ओछ्यानमा थला परेको आज थुप्रै दिन भयो। कथमकदाचित, म यो सहरमा कतै हराएँ भने आमाले भनेजस्तै ‘मेरी आमालाई भगवान्ले हेर्लान् कि नहेर्लान्? अप्ठ्यारोमा साथ देलान् कि नदेलान्?'
उमेरले पैँतिस पुगेको मेरो जीवन पनि भने जसरी चलेन। सोचे जस्तो हुन सकेन। यस पटकको लोक सेवाको अन्तिम परीक्षाले पनि मलाई छनौट गरिदिएन। वैकल्पिकका प्रमाणपत्रहरू मलाई थुप्रै पटक भिडाइदियो। असफलताका कैयौँ पहाडहरू मेरा निधारमा थपिँदै गए। सायद मेरो भाग्यमा नै यस्तो पो लेखिएको थियो कि!
यो बिरानो सहरले मलाई क्रमशः थिच्दै थिच्दै लाग्यो। अवसरले मलाई बिस्तारै छोड्दै गयो। आमाले आज पनि धेरै कुरा फोनमा गर्नु भयो। अब आमाको एउटै मनसाय, छोरो सँगै भइदिए भन्नेमा थियो। म सजिलै बुझ्थेँ।
आज म दोबाटोमा उभिएको एक यात्री जस्तो भएको छु। रित्तो हात घर फिरौँ या जीवनको अर्को नयाँ अध्यायको खोजी गरौँ!
म जीवनको नयाँ बाटो खोजिरहेको छु। आमा अब स्वर्गको बाटो पहिल्याउँदै हुनुहुन्छ। म आमालाई खुसी दिने रेसमा दौडिरहेको छु। तर आमाले रेसबाट हरेस खाएको अनुभूति दिलाउँदै हुनुहुन्छ। म मेरी आमालाई जे चिज दिन खोजे त्यो दिन सकिनँ। खुसी दिन खोजेँ, दुःखले आमालाई थला पार्दै गयो।
आमा, म आउँदै छु। छिट्टै आउँदै छु। मैले केही दिन नसके पनि बुढेसकालमा तपाईँलाई काखमा राखेर सेवा गर्नेछु आमा।
तपाईँ मलाई आशीर्वाद दिनुहुनेछ। तपाईँको आशीर्वादले म जीवनको अर्को बाटो फेरि तय गरौँला आमा। एक सरो सासभन्दा ठुलो कुरा केही छैन। मलाई भेटेपछि तपाईँको शरीरले अझै केही वर्ष सुखको सास फेर्ला कि आमा!
आमा, म आउँदै छु आमा!