युरोप गएको छ एउटा साथी
ऊ हरेक साँझ ‘गुड मर्निङ’ भन्छ
ऊ गएको धेरै भयो
गएपछि ऊ उतै रह्यो
उसका बाबुआमा यतै छन्
दाजुभाइ पनि यतै छन्
हामी साथीहरू पनि यतै छौँ
ऊ बाँकी ऋण धन यतै छाडेर गएको छ
उसका साहु आसामी यतै छन्
ऊ जीवनमा कमाउन सकिने
माया, प्रेम, रिस राग, लोभ र घृणाको ठूलो अंश
केही लिएर र केही यतै छाडेर गएको छ
युरोप जाने कतिपय मानिसले जस्तो
पारिवारिक दायित्व र मर्यादा, स्नेह र सद्भाव चाहिँ उसले लगेनछ
‘लगेज बढी भयो’ भनेर एयरपोर्टबाटै फिर्ता गरेछ
खुसी लाग्छ—
उसले हामी साथीहरूको सम्झना लिएर गएको छ
हामीलाई बारम्बार सम्झिन्छ
रत्नेको छोरीको बिहेमा सामेल हुन सकिनँ भनेर
ऊ हामीसँग धेरै बेर चुकचुकाई रह्यो
युरोप गएको छ एउटा साथी
ऊ हरेक साँझ ‘गुड मर्निङ’ भन्छ
राम यहीँ छ, दिले यतै छ
पुर्नेसँग अक्सर भेट भइरहन्छ
रमिला पनि यतै छ
रिताको श्रीमान् मेरो ‘बेस्टफ्रेन्ड’ भएको छ
हिमालसँग केही हप्तापछि अस्ति फेरि भेट भयो
चन्द्रे देख्यो कि परैबाट हात हल्लाउँछ
शिवसँग सधैँ जसो तरकारी बजारमा भेट हुन्छ
साधना अचेल ‘शाकम्बरी’ भएकी छे
कवि गोष्ठीमा गजल सुनाउँछे
साथीहरू सबै यतै छन्; केवल ऊ छैन
(उसो त मेरा सबै यतै छन्
एउटा पूजामा ‘सबैलाई बोलाउँछु’ भन्छु
तैपनि को—को छुट्छ छुट्छ)
उसलाई अभिवादन ‘आज चाहिँ मै गर्छु’ भन्छु, भुलिन्छु
सधैँ उसैले उछिन्छ
युरोप गएको छ एउटा साथी
ऊ प्रायः साँझमा ‘गुड मर्निङ’ भन्छ
उसले ‘गुड मर्निङ’ भन्दा
‘गुड इभिनिङ’ भन्न पनि गाह्रो
उसले ‘गुड मर्निङ’ भन्दा
‘नमस्कार’ भन्न पनि गाह्रो
उसले ‘गुड मर्निङ’ भन्दा
नबोली बस्न पनि गाह्रो
यस्ता अनेकन् गाह्रोबाट गुज्रिएपछि
उसले ‘गुड मर्निङ’ भन्दा
अचेल म यताउता मान्छे हेर्छु
र ‘गुड मर्निङ’ नै भन्न थालेको छु
युरोप गएको छ एउटा साथी
ऊ सधैँ जसो साँझमा ‘गुड मर्निङ’ भन्छ।