एक थान सपना र
एक थान बाध्यताको भारी बोकेर हिँड्दा हिँड्दै
कतै हराई गएछु भने म
कतै पर नजानू मलाई खोज्न
पर... पुग्न भारीले दिँदैन
आकाशका तारा हेर्दै मलाई नसम्झनू
त्यति माथि पुग्ने मेरो ल्याकत पुग्दैन
यतै कतै हुनेछु
चियाको चुस्की लगाउँदै
सफलताको कथा सुनाउँदै छ भने कोही
त्यही भिडमा
गालामा हात लगाएर सुनिरहेको मान्छे म नै हुँ
सडकमा जोड जोडले
सरकार विरुद्ध नारा लगाउँदै छ भने कोही
त्यही हुलको पछा...डि झोला बोकेर
निन्याउरो मुख लगाउँदै हुललाई पच्छाइरहेको म नै हुँ
असनमा भरिया दाइहरूले खोलेको बाघगोट्टि
घुँडामा चिउँडो अड्याउँदै दिनभर हेरिरहने म नै हुँ
रत्नपार्कमा जडीबुटीको रागसँगै रुमल्लिएर
दिनभर जडीबुटी विज्ञापन सुनिरहने केटो म नै हुँ
बानेश्वरको आकाशे पुलमा दिनभर उभिएर
आउने जाने गाडी गन्दै बस्ने म नै हुँ
कोटेश्वर चोकमा बसेर
उडी जाने र बस्न आउने जहाज गनेर बस्न म नै हुँ
पशुपतिमाथि वनकालीमा बसेर
नाभिस्थानका लास हेर्दै टोलाएर बस्ने केटो म नै हुँ
गौशलाको भिडमा कसैसँग कुम ठोक्कियो भने
त्यो म हुँ
कलङ्कीमा पुष्टकारीका पोका बेचेर बस्ने म नै हुँ
मकैका घोडा डढाएर बेच्ने म नै हुँ
म हराई गएछु भने
धेरै पर नखोज्नू
अभाव, सपना र बाध्यताले
यत्तिसम्म मात्र पुग्न दिने रहेछ
देश विदेश घुम्न
विदेश गएर लुक्न
फट्याइँ गर्न, देश लुट्न
राजनीति बिगार्न
यी सबै गर्न सम्पन्न हुनु पर्ने रहेछ
म बिचरा बबुरो के नै गर्न सक्छु?
टोलाउन बाहेक
घुँडामा चिउँडो अड्याएर सुन्न बाहेक।
देश छाडेर जाऊँ हैसियत पुग्दैन
देशमै बसौँ मुखमा गाँस पुग्दैन
सरकारलाई भनौँ सरकारले सुन्दैन
अरू कसैलाई सुनाऊँ कसैले चिन्दैन
कुनै दिन मेरो देशको भिसा लागेछ भने
जति खुसी हुन्थे मेरा बा आमा मेरो भिसा लाग्दा
त्योभन्दा कैयौँ गुणा खुसी म हुनेछु
देश छाडेर पसिना बगाउनुभन्दा
देशै लगेर पसिना बगाऊँ झैँ लाग्ने रहेछ
ज्याद्रो अभावले देश भक्त मुटुलाई च्यापेपछि
ज्याद्रो बाध्यताले देश भक्त गला थिचेपछि।
आजकल मेरो छोराले मलाई सल्लाह दिन्छ-
बाबा,
हाम्रो देशको पनि नागरिकता बनाइदिऊँ
पासपोर्ट बनाइदिऊँ
र भिसा लगाएर पटाइदिऊँ गतिलो देश
होइन भने यो देशले पनि तपाईंले जस्तै दुःख पाउँछ
यो देशका सन्तानले पनि भोलि मजस्तै
होइन भने भोलि
भट्टीमा एक सर्को चुरोट तानेर
गिलासमा दुई पेग रक्सी भर्दै
यही देशले गुनासो गर्नेछ
म देशमै बसेर जिन्दगी बिगारेँ यार
यहाँ भविष्य नै छैन
बेलैमा पासपोर्ट बनाएर विदेश जा यार केटा!