पेसाले म एउटा पत्रकार, आज यता भोलि उता भने जस्तै कामको सिलसिलामा आफ्नो गृह जिल्ला जाँदै थिएँ। अचानक त्यही बेला बाटोमा म जुन अफिसमा काम गर्न जाँदै थिएँ त्यही अफिसको मान्छेहरूसँग भेट भयो। भेटमा हाई हेल्लो अर्थात् सन्चो बिसन्चो खबर मात्र सोधियो।
त्यतिकैमा मेरो नजर त्यही गाडीभित्र बसेको एउटा मान्छेको चस्मामा ठोकिन पुग्यो। झट्ट हेर्दा ऊ एकदम जेन्टलम्यान जस्तै देखिन्थ्यो। मेरो मन त्यति बेलादेखि ऊसँग जोडिए जस्तै लाग्यो। सायद ऊ म जाने अफिसकै मान्छे थियो। मैले मनलाई सम्हाल्दै अनि अफिसमा त भेट हुन्छ भन्ने आसमा आफ्नो गन्तव्यतिर लागेँ।
भोलिपल्ट एक्कासि उसलाई अफिसमा देख्दा र उसको बारेमा बुझ्दा त ऊ त्यो अफिसको मालिक पो रहेछ। मैले त्यति बेला पूरै हिम्मत गुमाएँ। किनकि म एक कर्मचारी, ऊ हाकिम। कसरी भन्न सक्थेँ र मन पराएको कुरा?
हुन त मायामा धन, रूप, उमेर केही हेरिँदैन भन्छन्। त्यस्तै मेरो नि भयो।
उमेरले ऊभन्दा म धेरै कान्छी थिएँ। तर पनि मलाई लाज लागिरहेको थियो, कसरी हाकिमसँग यस्तो प्रेमको कुरा गर्ने भनेर।
बिहानको कुरा थियो, नयाँ अफिसमा मेरो सबैसँग परिचय भयो। परिचयपछि हामीले कामकै कुरा गर्यौँ। मलाई कता कता खुसीसँगै मन डराइरहेको थियो।
पुसको महिना थियो। म नुहाएर घाम तापिरहेको थिएँ। त्यतिकैमा मेरो मोबाइलमा मन पराएको हाकिमको म्यासेज आउँछ। उसको त्यो म्यासेजले म एकछिन त झसङ्ग भएँ। उसको पहिले म्यासेज थियो- 'मिस, नुहाएर चिसो भएको छैन?'
मैले पनि कुनै सङ्कोच नमानी भनेँ, 'चिसो त छ तर घाम लागिसक्यो।'
त्यो दिन हामीहरूबीच त्यति मात्रै कुरा भयो। फेरि बिस्तारै हाम्रो कुरा अफिसमा र फेसबुकमा हुँदै गयो। अफिसमा काम गर्ने सबै जना अफिसमै बस्थ्यौँ। तर एक दिन उसले मलाई आफू भएको ठाउँमा बोलायो।
कसरी जाने आफूलाई अलि गाह्रो महसुस भइरहेको थियो। तर पनि हिम्मत निकाल्दै उसले बोलाएको ठाउँमा गएँ।
सुरुमै उसले एउटा कुरा भन्छु नरिसाउनु है भन्यो। मैले नि हुन्छ भनेँ। यत्तिकैमा उसले सोध्यो- 'हजुरको कसैसँग लब परेको छ?'
मैले भनेँ 'छैन'।
त्यो दिन थाहा पाएँ, उसले नि मलाई मन पराउँदो रहेछ भन्ने।
मेरो त के थियो, म त्योभन्दा अगाडि उसमा फिदा भइसकेकी थिएँ। तर मैले मन पराएको कुरा उसलाई नभन्दै हामी अगाडि बढ्दै गयौँ।
बिस्तारै हाम्रो एक अर्काप्रतिको त्यो आकर्षण प्रेममा बदलियो। हामी दुई एक अर्कामा पूरै समाहित हुन खोज्थ्यौँ।
बिस्तारै हाम्रो प्रेमले चर्चाको रूप लियो। हुँदाहुँदै कुरा घरसम्म पुग्यो। घरमा हाम्रो यो प्रेमले लिएको त्यो भयानक रूप म कहिले बिर्सिन्नँ।
घरमा अनेक प्रकारको त्रुटि तथा घर परिवारले मैले मन पराएको र मैले जीवन देखेको मान्छेलाई लगाएको त्यो आरोप सुनेर अनि घरकोले मलाई घर नआएस् भन्ने कुराले मलाई पूरै टुटाइसकेको थियो। तर त्यो दिन उसले हिम्मत दिँदै मलाई बिहेको प्रस्ताव राख्यो र मैले ऊसँग बिहे गर्ने निर्णय गरेँ।
मेरो यो निर्णयले परिवारका हरेक सदस्यले मसँग बोल्नै छोडे। मेरो हालखबर र चिन्ता सधैँ लिइराख्ने मेरी आमा अनि मलाई कहिले केही कुराको कमी हुन नदिने मेरा बुबा मेरो मुखसम्म हेर्न नरुचाउने भइसकेका थिए। मलाई हर दिन नयाँ नयाँ ज्ञान र हिम्मत दिने मेरी दिदी अनि मलाई इज्जत अनि मर्यादाको पाठ सिकाउने मेरो दाजु मेरो वास्ता नगर्ने भइसकेका थिए।
मैले त्यो बेला पूरै परिवार गुमाइसकेकी थिएँ तर पनि म खुसी थिएँ किनकि मलाई बुहारी भनेर उसले आफ्नो परिवारलाई चिनाइसकेको थियो। अर्कोतिर भने यसरी आफूले जन्म दिएको आमाबुवाले मेरो वास्ता गर्न छोडेपछि म विक्षिप्त बनिसकेकी थिएँ।
मेरो जस्तोसुकै परिस्थितिमा साथ दिन्छु भन्ने मान्छे मसँगै थियो। त्यसैले उसको प्रेममा परेर परिवारसम्म त्याग्न मन्जुर भइसकेकी थिएँ।
बिस्तारै उसले मेरो परिवारलाई हेर्ने दृष्टिकोण अनि उसको कुलत मेरो आँखा अगाडि प्रस्ट आउन थाल्यो। उसले रक्सी नखाएको दिन खुब प्रेम देखाउँथ्यो तर रक्सी खाएको दिन मलाई कुटपिट गाली गलौच गरेर बाँच्न दिँदैनथ्यो।
उसको यस्तै क्रम लगभग तीन वर्षसम्म चल्यो। उसले कुनै दिन रक्सी छोड्ला अनि बिहे गरौँला भन्ने आसमा मैले रात दिन मेहनत गर्दै अनि आफूलाई पाल्न सङ्घर्ष गर्दै थिएँ। तर उसको त्यो बानी छुटेन अनि मेरो सहनशीलताको बाँध टुट्दै गयो।
म सधैँ उसलाई सम्झाउँथेँ, यति रक्सी पिउनु हुँदैन भनेर तर ऊ मेरो आफ्नै खाएँ तिम्रो खाएको छैन भनेर अनेक बचन लगाउँथ्यो।
हामीहरूबीच छुट्नै नसक्ने प्रेम त थियो तर मलाई सानैदेखि रक्सी नपिउने मान्छे मन पर्थ्यो। अहिलेको जमानामा रक्सी नपिउने त कता भेटिन्छन् र भनेर आफ्नो मनलाई सम्हाल्दै थिएँ।
एक दिन म एउटा कार्यक्रममा जान तयार भएर बसेकी थिएँ। त्यो दिन उसले बिहानैदेखि रक्सी खाएको रहेछ। मलाई फोन गर्यो र भन्यो- 'तिमी कोसँग छौ?'
मैले कार्यक्रममा जान तयार भइरहेको बताएँ। यो सुन्ने बित्तिकै उसले ममाथि यस्तो आरोप लगायो जुन म चाहेर पनि भुल्न सक्दिनँ होला।
एकछिनपछि ऊ रक्सी खाएकै तालमा म भएको ठाउँमा आयो र ममाथि हातपातसँगै मेरो फोन खोसेर लग्यो।
त्यो दिन मैले त्यो समस्या आफ्नी दिदीलाई विस्तृत सुनाएँ र उसलाई सधैँलाई छोड्ने निर्णय लिएँ।
उसलाई छोड्ने निर्णय मेरो दिदीलाई नि राम्रो लागेछ। लाग्न पनि किन नलागोस्, मेरी दिदीलाई पहिलेदेखि थाहा थियो ऊ धेरै रक्सीले मात्तिने केटा हो भनेर। तर त्यो बेला दिदीको कुरामा विश्वास नै गरिनँ।
उसलाई एक मौका भने दिएँ, कि मलाई छोड्नु पर्यो वा त रक्सीलाई भनेर। उसले रक्सी छोड्ने भने पनि छोड्नै सकेन र मलाई झन् हेप्दै गयो। त्यसपछि मैले दुई हात जोड्दै आफ्नो मनलाई ढुङ्गाजस्तो बनाएर तीन वर्षको प्रेम सम्बन्धलाई अन्त्य गर्ने निर्णय लिएँ।
त्यो निर्णय लिएको दिनदेखि म एकदम एक्लो भएँ। केही महिना हामी दुईबीच कुरा पटक्कै हुन छोड्यो। म पनि उसको बोली अनुहार हेर्न नपरोस् भन्ने अवस्थामा थिएँ। जसलाई मैले मेरो सर्वस्व मानेको थिएँ उसले मलाई त्यो अवस्थामा पुर्याउँछ भन्ने कहिले कल्पना गरिनँ।
जसको लागि मैले मेरो परिवार त्यागेको थिएँ, आज त्यो मान्छेले मलाई रक्सी जति पनि ठानेन। म जिन्दगीदेखि हार मानिरहेको बेला मेरो जीवनमा फेरि मलाई साहस हिम्मत दिन मेरो परिवार मसँग जोडियो। उहाँहरूले मलाई दोस्रो पटक मेरो त्यो बालापन फिर्ता गर्नुभयो। म परिवारसँग घुलमिलमै व्यस्त थिएँ।
परिवारसँग भए पनि तीन वर्षको प्रेम भुल्न सकिरहेको थिइनँ। कहिले एकान्तमा रुन्थेँ त कहिले आफैँदेखि घृणा लागेर आउँथ्यो।
तीन महिना जति भएको थियो होला हामीबिच कुराकानी पटक्कै नभएको। यसै बीचमा उसको त बिहे हुने पक्का भइसकेको रहेछ।
बिहेको खबरसँगै फेसबुकभरि छ्यापछ्याप्ती बिहेका फोटोहरूले फेरि मलाई मेरा तीन वर्षको याद गरायो। म आसमा बसेकी थिएँ, उसले आफ्नो गल्ती मानेर रक्सी छोडेर मलाई रोज्छ भन्ने तर त्यो भ्रम मात्र रहेछ।
तीन वर्षको प्रेम जब रक्सीको कारण छुट्टियो, तब म डिप्रेसनमै पुगेँ। अन्तिम पटक मलाई ती दिनहरू झझल्को आयो, जसमा मैले तीन वर्षसम्म उसले रक्सी खाएर प्रेमको नाममा गरिरहेको कुटपिट, यातना, घरपरिवारको बेइज्जत, हिंसासँगै म जिउँदै मान्छेलाई जलाउन नसकेर मेरो हरेक कपडा जलाएको सँगै आफ्नी आमा जस्ती दिदीलाई तल गिराउन उसले गरिरहेको हरेक क्षण हरेक वचन सम्झिएँ र आफूलाई बलियो बनाउन पुगेँ।
समयसँगै मलाई अगाडि बढाउन घरपरिवारको त्यो साथ र मायाले मैले मेरो अगाडिको जीवन फेरि प्राप्त गरेँ। तर म विगत बिर्सिएर नयाँ पाइला चाल्न खोजिरहँदा उसको म्यासेज आउँछ- 'तिम्रो याद आउँछ, माया लाग्छ।'
'तिमीलाई देखाउन मात्र मैले बिहे गरेको। प्रेम तिमीसँग छ, तिमीसँगै हुने छ। हामी दुई बिहे गरौँ' लगायत कैयौँ म्यासेज आउँछन्। तर अब उसलाई कसरी भन्नु, तिमी प्रेमी मेरो भए पनि श्रीमान् अर्कैको भइसक्यौ।
म भित्र भरिएको उसको प्रेम मात्र देखेको ऊ तर उसलाई कति मनबाट घृणा गर्छु भन्ने उसलाई थाहा छैन।
ऊ सधैँ अहिले आफ्नो बुढीलाई झुट बोलेर मसँग समय बिताउन समय मागिरहन्छ। अब उसले अबुझ भए जसरी मबाट समय, माया अनि मेरो बोलीको भिख मागिरहन्छ।
तर म एउटा केटी मान्छे उसको जीवनमा जीवनसाथी बनेर सात जुनी सँगै हुने कसम खाएर कोही आएको देख्दादेख्दै उसलाई अपनाउन मेरो नैतिकताले दिँदैन।
अनि सोच्छु, यो मान्छेभित्र नैतिकता छ कि छैन भनेर। कसैलाई एउटा बन्धनमा बाँधेर मसँगको सपना देखिरहेको छ! आफू चाहिँ बन्धनमुक्त भएर उड्न खोजिरहेको छ। म भन्छु ऊ जडिया मात्र नभएर नैतिक हीन पनि रहेछ।