त्यस दिन उनले एकान्तमा भए मलाई हात नै हाल्ने रहेछन् भन्ने अनुभूति भयो। म कक्षा सातमा नेपाली विषय पढाएर भर्खरै कार्यालयभित्र छिर्दै थिएँ। कार्यालयमा छिर्न ढोकामा पुग्दा नै उनी कडा स्वरमा बोलेको सुनियो। मैले नजर उनीतिर घुमाएँ। प्रधानाध्यापक आफ्नो कुर्सीमा बसेर दुवै हातले 'शान्त शान्त' भन्ने भाव जनाइरहनु भएको थियो।
उनी हपार्दै थिए, 'नेपाली त हाम्रो आफ्नै भाषा हो। बच्चैदेखि बोल्दै आएको हो। हामीले सानैदेखि बोल्न सिकाएको भाषा हो नि। कसरी परीक्षामा फेल हुन्छ?'
प्रधानाध्यापकले मलाई देख्ने बित्तिकै एक छिन बाहिरै बस्न सङ्केत गर्नु भयो। म देखेको नदेखे झैँ गर्दै सरासर कोठाभित्र पसेँ।
म पनि भर्खर २५ वर्षे जोस भएको समय थियो त्यो। फेरि यहाँ मेरो कमजोरी पनि केही थिएन। सुनिलले अक्षर लेख्नभन्दा आफैँ 'अछेर' लेखेर हैरान पारिदिन्थ्यो।
'यो छेर जस्तै लेखेर के गरेको हो? यस्तै हो भने जीवनभर निहुरिएर बस्नु पर्ला नि बाबै' भन्दै म उसलाई सिकाउन लाखौँ कोसिस गरिरहन्थेँ। तर उसमा अक्षर लेखन गर्न सक्ने सीप मात्र पनि विकास नै हुन सकेन। अब त्यत्तिकै कक्षा चढाउनु पनि त ठिक भएन नि। 'घर बलियो जगले' भन्ने त उखानै छ। त्यही भएर अरू एक वर्ष पुरानै कक्षामा दोहोर्याउन पाए उसमा थप सुधार हुने मेरो अपेक्षा थियो।
त्यसैले सुनिलका बाबालाई 'उसले कक्षा दुईमा जान्नु पर्ने जति जान्न सकेको छैन। त्यही भएर यो एक वर्ष…' मात्र के भन्दै थिएँ, उनी मतिर झम्टँदै जङ्गिए।
'दुई चार अक्षर बढी पढेको छ भन्दैमा यत्रो फुर्ती?' भन्दै गालीको वर्षा थाले।
'सरकारको जागिर खायो। बच्चालाई आफू सिकाउनु छैन, उल्टै फेल गरिदिने? काम चोरहरू। जागिर खाएपछि अलिकति आफ्नो जिम्मा त पूरा गर्नु पर्छ नि।'
म स्तब्ध भएँ। गाउँका कुना कन्दरामा बसेर देशको सेवा गरिरहेको ममाथि यत्रो लाञ्छना? मलाई सहन निकै कठिन भयो। तर प्रतिवादमा उत्रिएर स्थिति थप बिगार्नु उचित थिएन।
मैले झट्ट सम्झिएँ। कुनै दिन म सरकारी कार्यालयमा पुगेको थिएँ। त्यहाँ म आफैँले कार्यालयका प्रमुखलाई गाली गरेको झलझली याद आयो।
त्यस दिन मलाई केही विषयमा सिफारिस लिनु थियो। मैले धर्के कपिको पानामा निवेदन लेखेर पेस गरेको थिएँ। त्यो फुलिस्केप जत्रो पनि थिएन।
उनले मलाई 'यस्तो पनि निवेदन हुन्छ? तपाईं आफैँ सरकारी विद्यालयमा पढाउने शिक्षक। आफैँ यति सामान्य विषयको निवेदन त भाँती पुर्याएर लेख्न जान्नु हुन्न। तपाईंलाई जान्नु हुन्न त नभनौँ, बेवास्ता गर्नु हुन्छ। तपाईंका विद्यार्थीले यसबाट के सिक्ने? विधि पद्धति भनेको केही होइन भन्ने सिक्ने कि हामी सबै विधिमा बाँधिएका हुन्छौँ, त्यसको पालना गर्नु हाम्रो कर्तव्य हो भनेर सिक्ने?'
मलाई उसको त्यो लामो प्रश्नै प्रश्नको झटारोले आहत बनाएको थियो। म कड्किएँ, 'तिमी घुस्याहा कर्मचारी। पैसा खान नपाएर मलाई ढिलासुस्ती गर्ने बहाना खोजिरहेका छौ भन्ने मैले बुझेको छैन भन्ने ठानेको होला। म यस्तो त्यस्तो भनेर झुक्ने प्राणी हैन है। भनिदिएको छु।'
उनले मलाई शान्त बनाउन खोज्दै भन्न थाले- 'तपाईं जत्तिको पढेलेखेको बुद्धिजीवीले पनि यसरी भन्न सुहाउँछ र? निवेदनको सामान्य ढाँचा त मिलेको छैन छैन, तपाईंले के चाहनु भएको हो भन्ने स्पष्ट आधार पेस गर्नु भएकै छैन। यस्तोमा कसरी सिफारिस दिने हामीले?'
म अरू केही सुन्ने पक्षमा थिइनँ। म होहल्ला गरेर शक्ति प्रदर्शन गरेरै भए पनि उनीबाट तत्कालै मेरो काम गराउन चाहन्थेँ।
सरकारको जागिर खायो। जनतालाई सेवा दिनु त कता हो कता कानुनका छिद्र खोजेर सेवा ग्राहीलाई हैरान परिदिने? कामको जिम्मा लिएपछि आफ्नो कर्तव्य त पूरा गर्नु पर्छ नि।'
त्यस दिन यति भनेर म फन्किँदै बाहिर निस्किएको थिएँ। त्यसपछि मैले मागेको सिफारिस नै भर्सेला पर्यो। फेरि म त्यहाँ जाने कष्ट नै गरिनँ।
कुनै एक दिन म परिवारसहित सहर घुम्न निस्किएको थिएँ। मेरो पिठ्युँमा बसेर सानी छोरी रमाइरहेकी थिइन्। उनले एउटा पसलमा झुन्ड्याएको गुडिया देखिछन्। त्यो गुडिया नभई भएन उनलाई। पिठ्युँबाट ओर्लन कर गरेकी छोरीले मभन्दा पहिले त्यहाँ पुगेर हातमा लिँदै रमाउन थालिसकेकी थिइन्। परिस्थिति हेर्दा उनले गुडिया नछोड्ने पक्का थियो। यो पसलको नजिकै वरपर यस किसिमका सामग्री बेच्ने पसल देखिएका थिएनन्।
म गुडियाको नजिक पुगेँ। पसलेलाई सोधेँ- 'यसको मूल्य कति पर्छ होला साहुजी?'
उताबाट बाह्र सय पर्ने जवाफ आयो।
यो मूल्य मैले अपेक्षा गरेको भन्दा तेब्बर बढी थियो।
आफूलाई असहज लागेको थाहा पाउने गरी मैले थप सोधेँ, 'यो त निकै बढी भएन र?'
मैले बेच्नलाई भन्ने दाम यति नै हो। तपाईं कति दिनुहुन्छ भन्नुस् न त। उताबाट प्रश्न मिश्रित जवाफ आयो।
मैले भनेँ, 'यसलाई तपाईंले बजारमा खरिद गर्दा परेको मूल्य सूची हेरेर, तपाईंलाई नाफा १०,१५ प्रतिशत कति राख्ने हो, राखेर कतिमा मूल्य पर्छ त्यो बताउनु न। मलाई यसको ठ्याक्कै मूल्य त के थाहा र?'
सायद पसले मित्रलाई मेरो प्रश्न चित्त बुझेन कि के हो? सोझै भनिदिए, 'मैले भनिसकेँ, लैजान मन भए लैजानू। हैन भने तपाईंले कति दिन सक्नु हुन्छ भन्नु होला। कुरा मिलेन भने मेरो माल छँदै छ। के को खस्रो मसिनो नि।'
छोरीले यी सबै वार्ता सुनिरहेकी थिइन्। उनको अनुहार उज्यालो थिएन। श्रीमती पनि छोरी बेखुसी हुने हुन् कि भन्ने चिन्तामा परेको प्रस्टै देखिन्थ्यो।
'नाइँ बाबा मलाई गुडिया चाहिन्छ' भन्दै छोरी रुन थालिन्।
म अप्ठ्यारोमा पर्छु।
'यी व्यापारी भनेका पनि लुटेरा जस्तै हुने रहेछन्। आफूखुसी दाम बढायो, नाफा खाने पनि हद हुन्छ नि। यिनीहरूले कर पनि सरकारलाई तिर्दैनन्। तीन/चार सय प्रतिशत नाफा खान आत्माले पनि कसरी मान्या होला' भन्दै म मनमनै कड्किएँ।
छोरीको जिद्दीपन देखेर पनि हैरान थिएँ। चुप लाग छोरी भनेर हल्का थर्काउने इच्छा नभएको होइन। तर सार्वजनिक स्थलमा थियौँ हामी। मुरमुरिँदै बल्लतल्ल दुई सय घटाएर किनिदिएँ।
घटाउन सकिने गरी भाउ किन राख्नु? बजार भाउ साँच्चै बढेको हो कि यस्तै चाडै धनी बन्न चाहनेहरूको मनोमानीले महँगिएको हो? आफैँतिर प्रश्न गर्न थालेँ।
केही समयअघि एक दिन हाम्रो अगुवा विद्यालयमा एउटा एनजिओले कार्यक्रम गरेछ। त्यो कार्यक्रमले विद्यालयमा शिक्षा सुधारका लागि स्थानीय नेतृत्वसँग मिलेर हामीलाई परिचालन गर्ने रहेछ। प्रधानाध्यापकले मलाई पनि अभिमुखीकरण कार्यक्रममा भाग लिन पठाउनु भयो।
कक्षाकोठामा शिक्षकले नियमित रूपमा समयमै प्रवेश मात्र गरे पनि शिक्षा सुधार हुनसक्छ भन्ने त्यस दिनको ठम्याइ थियो। शिक्षा सुधारका गहकिला कुराहरू सुन्न लायक र उपयोगी थिए। हामीलाई त्यो कर्तव्य सिकाउने एक जना आदर्श गुरु विश्वविद्यालयमा नाम कहलिएका प्राध्यापक हुनुहुँदो रहेछ। कर्तव्य पालना नै सफल जीवनको मुख्य आधार हो भन्ने उहाँका तर्कहरूबाट म पनि प्रभावित बनेको थिएँ।
उहाँले आफैँ शिक्षालयमा पढाउन छोडेको भने धेरै समय भइसकेको रहेछ। तर जागिर नै छाडेको भने होइन रे। अनि कार्यक्रममा हामीलाई अलिक दपेटेर कर्तव्य सिकाउने अर्का विद्वान पनि थिए। धेरै पटक देश विदेश आउजाउ गरेर व्यक्तित्व निखारेका उनी नै त्यो कार्यक्रमका हर्ताकर्ता रहेछन्।'सरकारको नीति नै गलत छ। राज्य जिम्मेवार हुनुपर्छ। हाम्रा नेता नै दीर्घकालीन सोच भएका भएनन्' भन्दै उनले पनि ठुलै कुरा गरे।
कार्यक्रम सकिएर हिँड्ने बेलामा थोरै हामीलाई 'केही दक्षिणा छ लिएर जानु होला' भनेर नजिकैको टेबलतिर पठाइयो। म पनि अरू साथीहरूसँगै त्यतै लागेँ। मैले खाइरहेको जागिरको दैनिक हिसाब गर्दा तीन दिन जतिको हुने रकम थियो। म झन्डै तर्सिएँ। यति धेरै रकम एकै पटक हामीलाई किन?
लोक सेवाको परीक्षा तयारी गरिरहेका मेरा एक साथीले भने, 'त्यो भत्ता नभएर यातायात खर्च रहेछ।'
'हामी त नजिकैबाट आएका हौँ। यातायात खर्च यति धेरै किन होला?' भन्ने प्रश्न उनलाई राखेँ।
दैनिक भत्ता दिँदा कर लाग्छ त्यही भएर यातायात खर्च भनेर दिएको रे। अझ कार्यक्रम चलाउन सहयोग गरेबापत अरू सुविधा पनि पाइन्छ रे। सुविधाको यो स्तरको असन्तुलन, कर छलेर रकम लिने दिने सोच र विश्वविद्यालयमा कक्षा लिनु पर्ने व्यक्ति कक्षा छाडेर अरूलाई आदर्शको पाठ पढाउँदै हिँडेको अवस्था देखेर भने मलाई झोक चल्यो।
सायद यो कार्यक्रम सरकारको मूल बजेट प्रणालीमा जोडिएको पनि छैन होला। मेरा साथीले पनि दिक्दारी पोखे, 'मुलुकका नाममा विदेशी रकम ल्याउने र प्रशासनिक काममा नै बढी खर्च लेख्ने गरी सुविधा बढाउने कामचोरहरू हुन् यी सबै।'
यस्तो ढोगी प्रवृत्तिबाट टाढै बस्नु उचित लाग्यो। म मनमनै 'कम्बल ओढेर घिउ खाने मान्छेहरू। गलत प्रवृत्ति भएका र कर्तव्य भुलेका कामचोर अगुवाहरू' भन्ने सोच्दै फेरि नफर्किने गरी त्यहाँबाट निस्किएँ।
उच्च शिक्षा आर्जन गर्न विश्वविद्यालयको ढोकाभित्र त म करिब १५ वर्ष पहिले छिरेको थिएँ। म त्यहाँ पुग्नासाथ मलाई विद्यार्थीका सङ्गठनहरूमा आबद्ध हुन दबाब सुरु भएको थियो। कुनै समूहमा लाग्दिनँ भन्ने मेरो अठोटले मलाई एकलकाँटे बनायो। कक्षामा पढाइ भइरहेका समयमा हुल नै आएर पढाइ रोकिन्थ्यो। पढ्न गएको म, पढाइ नगर्ने अभियानको साक्षी बनेर बस्न बाध्य थिएँ। समय समयमा भइरहने समूहगत द्वन्द्व चपेटामा पिल्सिएको थियो हाम्रो पढाइ। त्यहाँ विद्रोह गर्न सक्ने तागत राख्न सक्ने परिस्थिति नै थिएन।
निकै मेहनत गरेर पढ्ने अब्बल विद्यार्थीहरू पनि नभएका भने होइनन्। उनीहरूको आभा परीक्षाफल प्रकाशनका समयमा मात्र चम्किन्थ्यो। अहिले उनीहरू मध्ये कोही सरकारी वा निजी पेसामा छन्। कतिपयले त ठूलो जहाज चढिसके।
एक दिन मेरा सहपाठीका पिताजी हाम्रो डेरामा आउनु भयो। जमानामा बनारसबाट पण्डित गर्नु भएकोले शास्त्र र विधिको परख गर्नु हुने पिताजी प्रेरणादायी लाग्यो मलाई। उहाँले हाम्रो चालचलन नियालेर हेर्नु भएको रहेछ।
धेरै कुरा बुझेको हुनाले पनि हामीसँग गुनासो पोख्न थाल्नु भयो, 'विश्वविद्यालयभित्र मुलुकको उन्नति र विकासको मन्थन गर्ने, आफ्नो गाउँ ठाउँको उन्नतिको चर्चा गर्ने, विश्वमा भइरहेका नयाँ प्रविधिको विस्तार र हाम्रा पुर्खाका लगनशीलताको परिचर्चा हुने गरेको देखिएन। बाटो देखाउनेले सही बाटो नदेखाए पछि गन्तव्यमा कसरी पुगिन्छ र? यस्तो देखेर मलाई दिग्दार लाग्यो।'
त्यसपछि अझ नमिठो टिप्पणी गर्नु भयो, 'तिमी युवाहरू पनि कम छैनौ। अभिभावकको शिरमा नाच्न पल्किएका छौ। मूल कामभन्दा अरू काममा रमाउने पथ विचलित बन्दै छौ।'
म उहाँको कुराले आफैभित्र हराइरहेको थिएँ।
उहाँले अझ थप्नु भयो, 'विश्वविद्यालयले संस्कार सिकाउनु पर्ने हो। श्रम गर्न सिकाउनु पर्ने हो। मुलुकप्रति माया गर्न लगाउनु पर्ने हो। विद्वानहरू पनि कति गैर जिम्मेवार बन्न सकेका?'
मैले पुस्तकका पानामा अझ ध्यान बढाउन थालेँ। मैले स्नातक सकेपछि गाउँमै जागिर खाएर जिन्दगी चलाउने इरादा लिएको थिएँ। नभन्दै मेरो एक चरणको पढाइ सकियो। उत्कृष्ट नै नभए पनि छि नभन्ने गरी नेपाली विषयमा मैले स्नातक सकेँ।
गाउँमा फर्किएपछि मैले जागिर खान नजिकको विद्यालयमा आवेदन दिएँ। तर आफ्नो कट्टर कार्यकर्ता भर्ना गर्नुपर्ने त्यहाँको राजनीतिक परिवेशले म झन्डै थलिएँ। मलाई दलको सदस्यता लिए मात्र नियुक्ति पाउने भन्ने दबाब आयो। त्यसको प्रतिवाद गरेर बेरोजगार हुनुभन्दा बरु समर्पण गर्नु समयको बाध्यता हो भन्ने ठानेर म भित्रिएँ। त्यो दिनदेखि आजसम्म यही विद्यालयमा मेरो जीवन चलिरहेछ।
एक दिन मेरा हजुरबाको नजिकै बसेर म परीक्षाको उत्तर पुस्तिका परीक्षण गरिरहेको थिएँ। उहाँले मेरो नजिकै आएर भन्नु भयो, 'समाज सेवा गर्ने असल सोचले गर्नु पर्ने राजनीति आजभोलि कमाइ खाने भाँडो जस्तो बन्न थाल्यो। पुर्खाको समाज व्यवस्था पनि अब त बिस्तारै भताभुङ्ग हुन थाल्यो। आपसी कलह र हाम्रो समय व्यर्थै खेर गइरहेछ। नेतृत्वले बाटो नै पहिल्याउन सकेन। आफ्नो परिवार र आफन्तको लागि जे पनि गर्न पछि परेनन्। दुनियाँका लागि चाहिँ सोचेनन्।'
मैले उहाँतिर नजर घुमाएँ। यस उमेरमा आइपुग्दा उहाँको अपेक्षा धेरै थिए होलान्। अहिलेको अवस्थाले उहाँलाई खुसी बनाउन सकेन छ भन्ने लाग्यो।
मैले राजनीतिक नेतृत्वलाई यसरी नै गाली गरेको सुन्दै आएको थिएँ। समाज परिवर्तन गर्न नसकेको, मुलुकको गन्तव्य नै दिशाहीन बनाएको भनेर व्यक्ति व्यक्तिलाई ताकेर गालीको वर्षा बढिरहेको सुनिन्थ्यो। भ्रष्टाचारका विषय जोडेर समेत यसरी गाली गर्ने व्यक्तिहरू पनि आफैँ प्रश्नको घेरामा भने रहेका थिए।
खेतीपाती गरेर गुजारा गर्ने कृषकहरूलाई पनि टोलका भद्र भलाद्मीले यसरी उछितो काढी रहेका हुन्थे। उनीहरू भन्ने गर्थे, 'धेरै उत्पादन गर्न भनेर जैविक मल छाडे। रासायनिक मलको प्रयोग बढाए। जमिन बिग्रँदै आएको हेक्का गरेनन्। उत्पादनमा विषादी हालेर मान्छेको जीवनसँग खेलबाड गरिरहेका छन्।'
कुनै दिन गाउँ नजिकैको देउरालीमा चिया पिउन बसेको थिएँ। चिया निकै पातलो थियो। मैले चिया पातलो भएको गुनासो पोखेँ। चिया पसलेले अझ बढी गुनासो पोख्न थाले, 'यी गाई भैँसी पाल्ने मान्छेहरू दूधमा पानी हैन पानीमा दूध मिसाएर बेच्न ल्याउँछन्। यहाँ आइपुग्दा नै पातलो भएको दूध चियादानीमा मिसिँदा यस्तै हो।'
उनले अझ थपे, 'कसरी हुन्छ छिटै कमाउने धुनमा किसानले हामीलाई अन्याय गरिरहेका छन्।'
म अवाक् बनेँ। मनमा चल्तीको गीत याद आयो 'गर्नु गर्यौ बलराम भैँसी पालेर...।'
आज विद्यालयबाट फर्किँदा देउरालीको सानो चौतारीमा बसेर दिउँसोको घटना सम्झिरहेको थिएँ।
बर पिपलको बोटमा जोडी ढुकुर उड्दै आए। उनीहरू चुच्चो जोडेरै बसे। अर्को हाँगोमा बसेर कोइली कराउन थाल्यो। अलिक माथि लामपुछ्रे गुँड लगाएको थियो। धनेश चरीको पौरख भोलि कक्षामा छलफल गराउन लायक थियो। लाटोकोसेरो दिनभर एकान्त मानेर हाँगामा नै तपस्या गरिरहेको थियो। न्याउरी मुसोले भने कहिलेकाहीँ उनीहरूलाई सताउँथ्यो।
मैले देखेँ, त्यहाँ एक किसिमको सुन्दर प्रकृति थियो। शीतल वट वृक्षमा सबै आआफ्ना हितमा तल्लीन थिए। एकले अर्कोलाई अगतिलो भनेर खिसीटिउरी गरेको जस्तो लागेन।
तीन/चार वटा कुकुरहरू बारीको बाली मडार्दै लखेटा लखेट गरिरहेका थिए। बारीको पल्लो डिलमा बहरहरू सिँगौरी खेलिरहेका थिए। म आफैँ झन्डै यस्तै सिँगौरीमा परेको झलझली याद आयो। खुसी र गुनासोको मिश्रित भावले म एकाग्र बनेछु।
जीवन बिताउन एउटा पेसा गर्नेलाई अर्को पेसा गर्नेले राम्रो देखिन्न रहेछ। राम्रो कसैलाई भन्न नहुने मान्छे र उसका घरपालुवाले मात्र रहेछ, क्यारे।
त्यही समयमा एक हुल बटुवा चौतारीमा आइपुग्छन्। थकाइ मार्न बसेका उनीहरूको अर्को गुनासो सुनियो। छिमेकीले छाडेका वस्तुले बाली खाइदिएछ। त्यसको अर्मल तिराउन सजिलो भएनछ।
मैले जीवनका यी सात घुम्तीहरूमा आफैलाई दगुराएँ। हरेक घुम्तीले त्यही बाटोको अर्को घुम्तीलाई सधैँ छल्ने रहेछ।