असन्तुष्ट अस्तित्वको मखमली छाया
परिवेश छाँटकाँट गरेर
कपोकल्पित सुपर मार्केटबाट
विनिमय गरेको निरीह समय
एक रङ्गिन अनुक्रमसँग एक सुरुचिपूर्ण चित्र योजना
जसले वास्तविक महँगो सुन्दरतालाई भुलेर
गहिरो कल्पनामा डुब्छु
आकाशलाई प्लटिङ गर्दै
जूनसँग दुई/चार बिघा जमिन उधारोमा लिएर
ताराहरू उखेलेर लगाउँछु पर्खाल
समुद्र लिफ्टिङ गरेर
उकालेको पानी
हराभरा सुन्दर फूलबारी
सूर्यमुखी अनेकौँ फुलैफूलको सुन्दर बगैँचा
मेरो कल्पना।
म कल्पेर मनको मन्डीमा डुल्दै
कान्तिपुरी नगरी डुल्छु
कोसौँ दूर क्षितिज पारिको बिरानोबाट
कलाकृति लुकेको टुक्रा-टुक्रा टुँडालमा
सभ्यताको चिराग बाँचेको देख्छु
म हराउँछु
सुनको जलहरीले पोतेको गजुर
यति मात्र होइन हजुर
विवरणहरू बुझाउनु नै बाँकी छ
मेरो कोरा कल्पनाको भण्डारबाट
तपाईंका दिमागलाई जुम मोडमा बदल्नु
कोरा कल्पनाको आयाम ओगटेर
कहिल्यै प्रकट हुन नसक्ने भ्रष्ट भ्रम
पोखाउँदै छु
यहाँको सामीप्यमा
मेरो कल्पना।
के म आफै हुँ?
लाग्छ कि म चिन्नको लागि आधारभूत छु कि छैन?
मैले देखाएको सबै खुसी
अनुहार र व्यवहारसँग मिल्छ?
मेरो जीवन कल्पना हो कि?
कल्पना मेरो जीवन?
कोरा कल्पना
म अन्धकारको कैदी
जो आफूद्वारा नै बाँधिएको जस्तो लाग्छ
कहिलेकाहीँ
मलाई अमूर्त हुन मन लागेर आउँछ
मेरो बसोबास गगनमा होस्
मेरो वार्ता वायुसँग होस्
मेरो भेटघाट चित्रगुप्तसँग होस्
मेरो कोरा कल्पना।
यथार्थमा
धेरै कमले मेरो चित्कारलाई बुझेका होलान्
टुटेको वाचा र धेरै नराम्रो सपनाहरू समावेश छन्
विरहको छायामा ओसिँदै
दुःखसुख ओसारपसार गर्ने खेलमा
मनबाट छरिएका वेदनाको पत्थरहरूले
प्रमाणित गरेको छ
दिनचर्याहरू
जीवनको रङहरू
थाहा छैन सँगालेको चिजहरू
सँगै जान्छन् होला कि नाइँ
शून्यता लिपेको ठेगाना नभएको ठाउँमा
कल्पनाहरू आउँछन् थरीथरी
एक पटक होइन घरीघरी।