'तिमीलाई थाहा छ? तिमी जीवनमा धेरै सफल हुनेछौ।'
जब जब भविष्यको बारेमा केही कुरा हुन्थ्यो, मलाई यही भन्ने गर्थी ऊ सधैँ।
'तिमी साथमा भइरह्यौ भने पक्कै सफल हुनेछु,' उसलाई जिस्काउँदै यही जवाफ दिने गर्थेँ।
भविष्य कस्तो हुनेछ केही थाहा थिएन, बस ऊसँगको त्यो समय जीवन्त राख्नै उसको कुरामा समर्थन जनाउँथेँ म सायद। नजिक हुँदाहुँदै पनि टाढा हुनुपरेका केही दिनपछि लुकिछिपी बल्लबल्ल केही घण्टाका लागि भेट्दा उसलाई खुसी राख्न उसको होमा हो मिलाउँथेँ म।
समय राम्रो थियो। साथ अझ राम्रो।
जाडो याममा कुहिरोसँग सिँगौरी खेल्दै केही दिनमा बल्ल न्यानो किरण छरेको घामको न्यानोपन जस्तै आभास हुन्थ्यो, कलेज एउटै भएर पनि लुकिछिपी २/४ दिनपछि भेट्दा। भेट त सामाजिक सञ्जालले दैनिक नगराएको होइन, तर सँगै हुँदाको त्यो मायालु स्पर्शको स्वाद मेट्ने अरू कुनै प्रविधि छैन।
आजभोलि आफ्नै दिनचर्या हेर्दा लाग्छ, ऊ साँच्चै सही पो रहिछे कि कतै!
मेरो 'हाई'को जवाफमा उसले पहिलो अनि अन्तिम 'बाई' भनेको त्यो दिन। महिना माघ भएरै हो वा मबाट अलगिने उसको माग भएर हो, दिन पनि मजस्तै अँध्यारो थियो। फरक यति भयो, कुहिरोसँग बिस्तारै अलगिँदै गर्दा दिन खुला रूपमा हाँस्न थाल्यो, ऊसँग बिस्तारै अलगिँदै गर्दा म हाँस्नै सकिनँ।
सेतो कुहिरोले दिने उज्यालोभन्दा पोल्ने घामले दिने उज्यालो अझ न्यानो अनि चम्किलो हुन्छ। जसरी दिनले यो कुरा बुझेको थियो त्यसरी मैले त्यो कुरा बुझ्नै सकिनँ। कुहिरो र मानिसमा एउटै फरक रहेछ, घामले पोलेर भागेको कुहिरो रात बितेसँगै फेरि घामलाई सताउन आउँछ तर साथले पोलेर भागेको मानिस रात बितेसँगै झन्-झन् टाढिँदै जान्छ।
जीवन बडा गज्जबको खेल लाग्छ अचेल। जो केबल आफ्नो थियो, जसको केबल म मात्र आफ्नो थिएँ, उहीसँग कल्पनाको संसारमा काल्पनिक मेल मात्र छन् अचेल।
ऊसँगको त्यो अन्तिम भेटपछि मैले आफूलाई भिन्न पाएको छु। सुरुका केही महिना सम्झँदा लाग्छ सायद त्यो व्यक्ति म होइन। फेरि आफ्नो माया सम्झँदा लाग्छ मबाहेक अरू कोही त्यस्तो हुनै सक्दैन। समयसँगै जीवनले अपत्यारिलो बाटोमा पाइला चालेको भान हुन्छ अचेल। उनको मायासँगै उनीसँगको बिदाइले ठुलै ऊर्जा दिएजस्तो हुन्छ अचेल।
'कसैलाई प्रेम गर्नुहुन्छ भने अथाह गर्नुस्। मनले अटाउन सक्नेसम्म उसलाई मनमा राख्नुस्। आफ्नो मान्छेलाई पलपल आफ्नोपनको आभास दिलाउनुहोस्। हारिदिनुस् तर उसलाई आफ्नो जीवनबाट बिलाउन नदिनुहोस्।'
आफूले धोका खाएपछि अरूलाई यस्तै सल्लाह दिन थालेँ म। कतिले के सोचे कतिले के भने वास्ता भएन, दारी अनि कपाल बढाएर हिँड्न थालेँ। उसका यादहरू भुलाउन आफूलाई सक्दो यातना दिन थालेँ। उसको एक झल्को देख्न पलपल सामाजिक सञ्जाल हेर्न थालेँ।
माया यस्तै रहेछ, पाउँदा अनि गुमाउँदा पालैपालो पागल बनाउने। यही सम्झी आफ्नो मन बुझाउन थालेँ।
ऊसँगको अन्तिम भेटको करिब एक वर्ष पछिको त्यो बिहान। उठ्नासाथ उसलाई सामाजिक सञ्जालमा हेर्न मनले मानेन। दैनिकी नि भइसकेको थियो तर अहँ! त्यो दिन मनले मानेन। उसको एक झल्को पाउन मैले दिनहुँ धाउने इन्स्टाको बाटो आज मेरो हातले जानेन। खै अपत्यारिलो एक ऊर्जा दिएर उसकै सम्झनामा मात्र अल्झिरहनु अब मनले आवश्यक ठानेन। यो भन्दैमा उसलाई चटक्कै बिर्सिएर अघि बढ्न, अहँ मनले कदापि मानेन।
ऊसँगका समयले जीवन बेग्लो बनाएको छ। अथाह मायाबाट अथाह घृणासम्मको यात्राले मलाई सम्पूर्णबाट एक्लो बनाएको छ। तर उसकै माया अनि साथले म एक्लोलाई नयाँ अनि बेग्लो बनाएको छ।
उसले गर्दा मैले माया चिनेँ। घृणा चिनेँ। आफ्ना चिनेँ। पराया चिनेँ। आफू चिनेँ। माया गर्न जानेँ। हार नमान्न पनि जानेँ। साथ निभाउन जानेँ। साथ गुमाउन पनि जानेँ। हात समाउन जानेँ। कोहीसँग रमाउन पनि जानेँ। अघि बढ्न जानेँ। हिम्मत जुटाउन पनि जानेँ। जीवन जानेँ। जिउने तरिका पनि जानेँ। पीडा जानेँ।
पीडाका कारण आएका आँसु पिउन पनि जानेँ। माया लाउन जानेँ। साथ निभाउन पनि जानेँ। पलपलमा आँसु लुकाउन जानेँ। मनभरि माया अनि अथाह बोल्ने रहर हुँदाहुँदै उसलाई बाटोमा भेट्दा अनजान सरह बेवास्ता गरी हिँड्न पनि जानेँ। उसले थाहै नपाउने गरी उसलाई लुकिलुकी हेरी चित्त बुझाउन जानेँ। आफ्नै मनलाई हर बिहान बेवकुफ बनाउन पनि जानेँ।
तिमीलाई थाहा छ? तिमी जीवनमा धेरै सफल हुनेछौ।' उसको यो भनाइलाई मैले सर्वोपरि ठानेँ।
उसका यादहरू लिई जीवनमा नयाँ कदम चालिरहँदा आज मैले आफूले आफूलाई धेरै सफल मानेँ। मैले आफूले आफूलाई धेरै सफल मानेँ।