घाँटी मेरो बेस्सरी दुखिरहेको छ। साइडमा भएको ग्यासमा कालो चिया बसाली कागती हालेर पिउन मन थियो तर खै किन हो किन आज यो दिल र दिमागले उसैलाई सम्झी नै रह्यो। भुल्नलाई अनेकौँ योजना बनाएँ तर सकिनँ।
उसलाई गिफ्ट दिने भनेको डायरी पनि केही दिन अघि च्यातेर आगोमा खरानी बनाइदिएको थिएँ। कागज त खरानी भयो तर याद जीवित नै रहने रहेछ। त्यो आलो घाउले किन बारम्बार मलाई मात्र दुखाइ राख्छ? शरीर काम्न थाल्छ, बोलीमा नरमता छाउँछ अनि अनुहार निराश बनाइदिन्छ, कहिल्यै नरुने यी आँखाको नानीबाट पनि दुई/तीन थोपा आँसु खस्छ। सायद यो संसार भरको दुःख मलाई मात्र परेको छ कि क्या हो? मनमा खसखस हुन्छ। कतै हराए जस्तो, कतै कहीँ ठुलै चिज गुमाए जस्तो, केही चिज बिराए जस्तो भई नै रहेको छ।
म बिबिएस प्रथम वर्ष भर्ना हुन कलेज गएको थिएँ। त्यहाँ उनी सोही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत रहेछिन्। सुरुको दिन म हतार हतार गर्दै गएँ, मनमा कता कता कौतुहलता पनि थियो। के हुने हो? कस्ता साथीहरू पर्ने हुन? शिक्षकले के भन्नुहोला? यस्ता प्रश्नहरू मरा मनमा रही नै रह्यो।
उनी पहिलो पिरियड सकेर बाहिर निस्केकी रहेछिन्। मेरो पनि शिक्षक नआउनु भएको पिरियड परेछ त्यस दिन! त्यसैले म नयाँ साथी बनाउन अगाडि बढिरहेको थिएँ। अचानक केटाहरूबाट एकै बोलीमा एउटा आवाज आयो- अरे वाह! कस्ती राम्री केटी। हेर त ब्रो।
हामी सब मक्ख थियौँ। म पनि धेरै खुसी थिएँ।
घरबाट हतार हतार आएकाले शरीरबाट पसिना आइरहेको थियो। तर थोरै भए पनि त्यो १०० मा किनेको पर्फ्युमले केही काम त पक्कै गरी नै रहेको थियो। हामी केटाहरू ग्रुपमा थियौँ तर उनी भने एक जना अर्की सहेलीसँग मात्र थिइन्।
देख्ने बित्तिकै केटाहरू मध्ये एकले ठुलो स्वरमा मेरो नाम लिई भन्न थाल्यो, 'के हो दिपक, त्यो केटी त तँलाई हेर्दै छे त?'
म चुप बसेँ, उनले पनि केही भनिनन्। सायद मलाई चिन्दिन थिइन होला। तर उनको साथीले भने रिसले आगो हुँदै 'के हो तिमीहरूलाई लाज लाग्दैन? तिमीहरूको घरमा दिदी बहिनी छैनन्' भनिन्।
कता-कता मलाई नै भनेको जस्तो लाग्यो र मैले भनेँ, 'वि आर सो सरी।'
त्यति भन्नासाथ 'गर्ने बेला मनपरी अहिले आएर सरी लफङ्गाहरू' भन्दै आफ्नो कक्षा कोठातिर लागे। हाम्रा केटाहरू जुनियर भए पनि सिनियर केटीहरूलाई जिस्काउन निकै सिपालु थिए।
उनको त्यो मुस्कान अनि मुस्कुराउँदा देखिने डिम्पलमा कलेजका सबै केटाहरू फिदा थिए। सबैले जिस्काउँथे। म भने त्यो हुलमा थिइनँ। कता कता मलाई उनीप्रति माया पलायो। नपलाओस् पनि कसरी, उनी यति राम्री अनि अनुशासित जो थिइन्।
मनमा प्रत्येक दिन लाग्थ्यो कि मायाको प्रपोजल राखौँ तर खै किन राख्नै सकिरहेको थिइनँ। सायद ममा कुरा व्यक्त गर्न सक्ने खुबी थिएन होला वा भनौँ मनमा भएको डर नै ममाथि हाबी भइरहेको होला। मैले मेसो नै पाइरहेको थिइनँ। उनी भने जहिल्यै मलाई वास्ता नगरी हिँड्थिन्। मलाई फेरि उनको त्यो स्वभाव लास्टै मन पर्थ्यो।
म अझै कोसिसमा लागिरहेँ। एक दिन मनबाट हिम्मत जुट्यो। सोचेँ यही हो सही मौका, कुरा राख् नत्र अर्काले उडाइदेला! आशङ्कासहित उनको अगाडि गएर प्रस्ताव राखेँ।
मुटु ढुकढुक काँप्दै थियो। जीउमा अर्कै तरङ्ग, सायद डोपामिन हाबी भएको हुनुपर्छ। उनले मेरो प्रस्ताव सहर्ष स्वीकार गरिन्। ममा खुसीको सीमा रहेन। मनमा भविष्यको सुनौलो बिहानीमा झुम्न पुगिसकेको रहेछु। तर त्यो खुसी पनि मेरो धेरै बेर टिक्न सकेन। जब मैले एक दुई हप्तापछि थाहा पाएँ कि उसको त अर्को एकजना ब्वाइफ्रेन्ड पनि रहेछ।
तर उनले आफ्नो ब्वाइफ्रेन्ड हुँदाहुँदै मेरो प्रस्ताव किन स्वीकार गरिन्? यो प्रश्न मेरो मनमा केही दिन रही नै रह्यो। फेरि पछि यसो सोचेँ, ममाथि नै जादु छ होला। अलिअलि त हेन्सम पनि जो छु। मनको लड्डु घिउसँग खाँदै कल्पनामा रमाएँ।
बाफ्रे अचम्म पो भो त! तर त्यो उसको ब्वाइफ्रेन्ड को हो त्यो? हत्तेरी! मेरो दिमाग खराब भइसक्यो। जसरी भए नि भोली जान्छु र उसलाई यो प्रश्न सोध्छु भन्दै मोबाइल हेर्दै निदाएछु।
बेलुका लिएको निर्णय बोक्दै आतेस मन लिएर उनको नजिक पुगेँ।
'के छ? कस्तो छ तिम्रो घर परिवारलाई? सन्चै छौ?' मैले प्रश्न मात्र गरेँ। अनि फेरि भनेँ, 'के हो ब्वाइफ्रेन्ड रहेछ त तिम्रो, मलाई किन नभनेको?'
मैले निन्याउरो अनुहार बनाएर प्रश्न गरेँ। उनले हाँस्दै भनिन्, 'ह्या लाटा, कहाँ मेरो अरू ब्वाइफ्रेन्ड छ त! ऊ त मेरो बच्चादेखिको साथी हो। मैले साथीहरूलाई ऊ मेरो बिएफ हो भनेको थिएँ। बिएफको मतलब बेस्ट फ्रेन्ड नट ब्वाइफ्रेन्ड ओके! ब्वाइफ्रेन्ड त तिमी हौ नि काले! आई लब यु।'
मलाई भने कता-कता विश्वास नै लागेन। पछि सबतिर बुझेँ। उसको त्यो साथीसँग नि कुरा गरेँ। सबतिर बुझ्दा थाहा भयो कि उनी सत्य कुरा गर्दै थिइन्। उनी र मेरो सम्बन्ध ५ वर्ष टिक्यो। त्यसपछिका दिनहरूमा हामीबीच कुनै शङ्का रहेन। तर खै किन हो, हामीसँग एकअर्काको साथ पनि रहेन।