राम सरले अगाडि बोर्डमा ऐच्छिक गणित पढाउँदै हुनुहुन्थ्यो। मलाई भने गणित भन्ने बित्तिकै सिन्धुलीको बाटोमा गाडी घुमेजस्तो फनफनी दिमाग घुम्थ्यो अनि हुरी बतासका बेला झ्याप्प झ्याप्प बत्ती गए जस्तो। तैपनि एसइई आउँदै छ, जबरजस्ती भए पनि दिमागमा त घुसाउनै पर्यो भने सोच्दै थिएँ हात खल्तीमा पुगेछ।
खल्तीमा अघि आर्यनले दिएको आधा चुइगमको टुक्रो बाँकी रहेछ। चुइगम भेटिसकेपछि मेरा यी हातहरूले त्यसलाई मुखसम्म पुर्याउन कुनै बेर गर्दैनन्। यताउता हेरेँ र केही समय लगाएर मुखसम्म पुर्याएँ त्यो चुइगमलाई।
चपाउँदा चपाउँदै याद आइहाल्यो, खल्तीमा ३० रुपैयाँ थियो बिहान ममीसँग कापी किन्न भनेर ल्याएको। त्यसलाई व्यवस्थापन गर्नु थियो। नत्र जुनसुकै बेला त्यो पैसा जफत हुन सक्थ्यो, मुखको चुइगमका कारण। यदि मुखमा चुइगम देखेमा सरले खल्तीमा भएको सम्पूर्ण पैसा र अरू चुइगम भेटेमा १० मिनेटभन्दा बढीको प्रवचन सुन्नु पर्ने हुन्थ्यो। अस्ति सृजनको १०० रुपैयाँ त्यसै गरी जफत भएको थियो।
यस्तै कुरा सोच्दै थिएँ मुखबाट चुइगम प्याट्ट पड्किहाल्यो। हत्तपत्त त्यसलाई मुखबाट निकालेर बेन्चमुनि टाल्न भ्याइहालेँ। राम सर यतै आउँदै हुनुहुन्थ्यो, म भने मुस्लिमहरूले नमाज पढ्दा निहुरिए जस्तो निहुरेर बसिरहेँ। ट्रिगोनोमेट्रीको प्रुफ गर्दै गर्नु भएको सर पछाडि आएर फरक तरिकाले हेर्दै एक शब्द पनि नबोली चुपचाप अगाडि पुगेर फेरि बोर्डमा गर्न थाल्नु भयो। धन्न आज त बचियो भन्ने सोच्दै टाउको माथि गरेँ। अस्ति मकै र भटमास खाँदाको डाम खुट्टामा आलै थियो।
यस्तै मनमा कुरा सोच्दै थिएँ, अगाडि बोर्डको कुरा कपीमा गर्दा गर्दै रोकिएछ। प्रश्न मात्रै पो रहेछ कापीमा। आ! बेलुका म्यासेन्जरबाट सारौँला भन्ने सोच्दै दायाँबायाँ हेर्न थालेँ। सबै आ-आफ्नै तालमा थिए। कोही यही म्याथको कसरी गर्ने भन्ने सोच्दै पेन टोक्दै थिए भने कोही आँखा खोले पनि निदाएका जस्ता देखिन्थे। कोही भने खुसुखुसु गर्दै पनि थिए।
फेरि मुख सकसकायो। अघि बेन्चमुनि टाँसेको चुइगमको याद आयो। यसो यताउति हेरेर बेन्चमुनि हात पुर्याएँ। त्यो चुइगम बिस्तारै झिकेर मुखमा हालेँ। साह्रो-साह्रो छ। भर्खरै टासेको चुइगम त साह्रो त नहुनु पर्ने, फेरि एक पटक हातलाई बेन्चनिर लगेँ। अघिको चुइगम त त्यही रहेछ। लौ! मुखमा भएको त पुरानो पो परेछ। कसको जुठो पर्यो होला, तैट!
झन् आज नै आफ्नो ठाउँ छोडेर पछाडि आएको, मुख बिगार्दै सोच्दै थिएँ। सायद सरले चाल पाउनु भयो जस्तो छ। अगाडिबाट झसङ्ग हुने गरी ठुलो आवाज आयो 'सृष्टि!'
'एस सर' भन्दै जुरुक्क उठेँ।
उठ्दा त न कक्षा कोठा देख्छु न सर, न साथीहरू। म त ओछ्यानमा पो रहेछु। अघि सृष्टि भनेर बोलाउने त आमा पो हुनुहुँदो रहेछ।
आमाले तातो पानी र चिया लिएर आउनु भएको रहेछ। दश कक्षा सुरुआतदेखि हो आमाले हरेक बिहान छ बजे यसरी ल्याउन थाल्नुभएको। उहाँ मेरा लागि अलार्म हुनुहुन्थ्यो मोबाइलको साटो किनकि मोबाइल उहाँले नै स्कुलमा लगेर बुझाइदिन भएको थियो। तर कहिलेकाहीँ बिदाको बेला उहाँकै मोबाइल चलाउन पाइन्थ्यो।
भित्तामा राखिएको घडीमा हेरेँ, सात बज्न मात्र १५ मिनेट बाँकी रहेछ। जुरुक्क उठेँ र बाथरुम गएँ। बाथरुममा पनि अरू बेला जस्तो समय लागेन। ६:५० भएछ, चियापानी र बिस्कुट खाएँ अनि युनिफर्म लगाएँ। युनिफर्म लगाइसकेपछि एक चोटि फेरि सोचेँ, आज नजाऊँ कि! नगए पढाइ छुट्नेभन्दा पनि जरिवाना तिर्न समस्या। होस् जान्छु भनेर किताब मिलाएँ। कपाल स्कुलमै गएर मिलाउँला भन्ने सोच्दै कोठाबाट निस्किएँ। जुत्ता लगाएँ।
आज कालो पाइपको निलो डाम बस्ने भयो भनेर सोच्दै घरको भर्याङ झरेँ। झर्दै गर्दा माथिबाट आमाले बोलाउँदै हुनुहुन्थ्यो। आमाले खाजाको लागि बोलाउनु भएको होला भनेर सोच्दै खाजा भाइलाई पठाइदिनुस् है भन्दै निस्किएँ।
गेटबाट निक्लिँदै गर्दा अरू बेलाजस्तै कोही पनि देखिनँ। सायद म ढिलो भएर होला, नत्र कक्षा नौका भाइबहिनीहरूलाई जहिल्यै भेट्थेँ। तर त्यो दिन सुनसान थियो। सुनसान नै भए पनि अगाडि प्रिन्सिपल सरलाई देखेँ। सधैँ कोट, पाइन्ट, रातो टिलिक्क टल्किने जुत्तामा देखिने सर आज हाफ प्यान्ट र टिसर्टमा हुनुहुन्थ्यो। सधैँ विशेष गतिमा हुने उहाँको गति त्यस दिन भने सुस्त र आरामदायी देखिन्थ्यो। सधैँ रिसाएको जस्तो देखिने उहाँको अनुहार आज भने केही उज्यालो देखिन्थ्यो।
उहाँको र मेरो दूरी खासै धेरै थिएन। होस्, आज गाली खाए नि खाइयोस् भन्ने सोच्दै अलि परबाट उहाँलाई उछिन्ने प्रयास गरेँ। तर उहाँले बोलाउनु भइहाल्यो। उहाँको अनुहारमा बिस्तारै डराउँदै हेरेँ। त्यो अनुहारले मलाई केही अनौठो तरिकाले हेरिरहनु भएको थियो। म भने सानो स्वरमा 'एस सर' भनेर रोकिएँ।
'गुड मर्निङ सर' भन्न खोज्दै थिएँ तर त्योभन्दा आगाडि नै उहाँको प्रश्न आइहाल्यो, 'कता हिँडेको तिमी?'
उहाँको प्रश्नले म अकमक्क परेँ। यो फागुनको जाडोले हो या त डरले हो, जीउ कामिरहेको थियो।
उहाँले फेरि सोध्नु भयो, 'कता हिँडेको आज शनिबार?'
यो सुन्ने बित्तिकै म करेन्ट लागे जस्तो झननन भएँ। सपनाबाट बिउँझिए जस्ती भएँ।
मलाई भित्रभित्रै लाज लागेर आयो। सायद सर पनि छुट्टै तरिकाले हाँस्दै हुनुहुन्थ्यो। म न हाँस्न न त रुन नै सकेँ र सरलाई पनि नहेरी एकदमै छिटो छिटो घर आएँ।
फर्कँदै गर्दा दाइले माथिबाट भन्दै हुनुहुन्थ्यो, 'यत्तिको सिरियस चाहिँ हुनु पर्छ है एसइई दिने मान्छे।'
मलाई देखेर घरका सबै जना हाँसिरहेका थिए।