कविता
आफ्नाहरूले हातले हाने
आफ्नैहरूले झन् लातले हाने
शत्रुले जस्तो होइन, चोरीदाउले हाने
दुश्मनले झैं हाकाहाकी होइन, झुक्याएर कञ्चटमा हाने
अझै हौसिएर फेरि पानीपेटमै हाने।
पानी पिउनै नदिई गर्धनमा थपे
सासै फेर्न नदिएर फेरि घुच्चुकमा थपे
जोगाउन खोज्दाखोज्दै सन्नीमै थपे
घरीघरी चिर्पटले मेरूदण्डमा थपे
बाँसैबाँसले नलीखुट्टामा थपे।
मेरो शरीर बलियो हो वा समय!
तर पनि मलाई लडाउन सकेनन्
उद्देश्य ढलाउने भए पनि ढलाउन सकेनन्
उठ्न बल त निकै लगाउनुपर्यो
तर, सधैंका लागि ढलाउन सकेनन्।
लडेपछि उठ्ने कसरी? थाहा भयो
चोरीदाउले कसरी हान्छन्? बुझ्ने भइयो
छिर्के कसरी लगाउने? अभ्यस्त भइयो
मृत्युको मुखबाट फर्कंदाको अनुभव पाइयो
आफ्ना र आफ्नैहरूको लातको चोट महसुस भयो
कसकसले हान्न सक्छन्?
हान्ने कति बेला रै'छ? त्यो पनि जानकारी पाइयो।
आफ्नाहरूले नै सचेत बन्न सिकाए
आफ्नैहरूले लुकेर छिर्के लाउने विधि पढाए
माया-ममताको पाटो पन्छाउँदै
प्रहारहरूसित छल्दैछल्दै भाग्न सिकाए
आफै सक्षम बन्न
तर, आफ्ना र आफ्नैहरूसित गुहार नमाग्न सिकाए।
हार्दिक बधाई छ मलाई!
अचेल म
दुनियाँसित लड्न समर्थ भएको छु।