हरि फेसबुक चलाउँदै सोफामा बस्छन्। हरिकी श्रीमती मायाले सोध्छिन्, 'चिया बनाउनुपर्यो, तपाईं पनि पिउने कि चिया?'
'मलाई चाहिँ आज दूध हालेको तर चिनी नहालेको चिया देऊ न ल माया,' भन्छन्।
'म पनि तपाईंकै जस्तै खल्लै चिया पिउने हो, मलाई नै पो सजिलो हुने भो दुवै जनालाई एकै किसिमको चिया बनाउन,' भन्दै माया किचनतिर जान्छिन्।
'हैन हौ, खुँदै पकाउन थाल्यौ कि हो माया, चिया पिएर नुहाउन जानु भनेको, धेरैबेर भयो त चिया बनाउन भनेर तिमी किचनमा पसेको, कता हरायौ हो?,' भन्दै हरि मायालाई सोध्छन्।
'चिया उम्लिसक्यो, लिएर आउँदै छु, दुई मिनेट दिनु न हो, तपाईंको पनि काम छैन त, कसैलाई भेट्न जानु पनि छैन होला, आखिर किन हतार गर्नुहुन्छ?,' भन्दै माया दुइटा कपमा उम्लँदै गरेको चिया खन्याउँछिन्।
'ल समाउनुस् तपाईंको चियाको कप,' भन्दै हरिलाई चियाको कप समाउन भन्छिन्। उनी हरिकै छेउमा बसेर चिया पिउन थाल्छिन्।
माया चिया पिउँदै, 'सुन्नु न तपाईंले रुद्र बराल दाइको आजको फेसबुक स्टाटस पढ्नु भो? फेसबुकमा दाइले हाल्नु भाको फोटो हेर्नु भो? फोटोलाई खिर खुवाएको फोटो पो हालेका छन् त, बाचुन्जेल एक दिन पनि खिर खुवाएनन् होला? हामी चाहिँ यतिसम्म नगिरौं है त। सधैं जसरी नै हाम्रा बुवा आमालाई जीवित हुँदै माया गरिराखौं, श्राद्ध गरिराखौं, पूजा गरिराखौं। उहाँहरूले भनेकै ठाउँमा तीर्थ ब्रत गर्न लैजाऔं, उहाँहरूलाई बाँचुन्जेल तिरस्कार नगरौं। आदर दिऔं, सम्मान दिऔं। मरेपछि डुमै राजा भन्छन्, के हुन्छ कस्ले देखेको छ र! हामीले दिएको खिरको पिण्ड बुवाआमाले पाउनु हुन्छ भन्ने एउटा विश्वास न हो, सत्य त पक्कै होइन होला! खिरै खुवाउने हो भने बुवाआमालाई खिर पच्दै खुवाऔं, खिर खाएर डाइरिया हुन थालेपछि त खिर खुवाएर दुःख दिनु त भएन न, अनि फोटोलाई खिर खुवाएको चाहिँ फोटै नखिचौं है,' भन्दै हरिलाई सम्झाउँछिन्।
'म चाहिँ रूद्र दाइ जति गिर्दिनँ। सकेसम्म बुवाआमाको पालनपोषणमा, हेरचाहमा रतिभर कमी हुन दिने छैन। तिमी पीर नगर। रूद्र दाइले फेसबुकमा हालेको फोटो पनि हेरेँ स्टाटस पनि पढेँ माया, पढेँ। क्या अचम्मको छ है मानिसको जात! आफ्ना बुवाआमालाई बाचुन्जेल देख्न सकेनन्, बुढेसकालमा साह्रै भएर ढलेका बेलामा छिमेकीहरूलाई देखाउन बुवाआमा डाक्टरका जाऔं, सबै रोगहरूको उपचार डाक्टरका मै हुन्छ भनेर लिएर हिँडे। तर उहाँहरूलाई झुक्याएर वृद्धाश्रममा लगेर छोडे।
त्यतिमात्र कहाँ हो र? वृद्धाश्रमका सञ्चालकले बराल बाआमा अब धेरै दिन नबाँच्ने थाहा पाएर, 'रूद्र जी तपाईंका बुवाआमाको एउटै अन्तिम इच्छा भनेको तपाईंको अनुहार हेर्ने छ सास जानुअघि, उहाँहरूको अन्तिम इच्छा पूरा गर्ने भए आइहाल्नु है' भन्दै फोन गरेका थिए रे। तर रूद्र दाइभाउजूले त्यो फोन कलको समेत अवहेलना गरेर गएनन् रे।
आफ्ना बुवाआमाको अन्तिम इच्छा पूरा गर्न नगएर उहाँहरूलाई आँसु पिएर जिउन बाध्य बनाएका थिए रे। छोरा बुहारी भेट्न आउने आशामा बसेका बराल बाआमा आखिर रूद्र दाइलाई फोन गर्न लगाएको तीन दिनपछि रूँदा रूँदै आँसुकै पोखरीमा डुबेर मृत्युवरण गर्न बाध्य हुनु परेको त तिमीले नै देखेकै हौ। याद छ तिमीलाई? रूद्र दाइ भाउजू आफ्ना बाआमालाई भेट्न नगएको थाहा पाएर हामी त्यो बेलाका छिमेकीका नाताले उहाँहरूलाई भेट्न गएको। हामी ठीक्क त्यहाँ पुग्नु अनि बाआमाको पनि हामी पुगेकै १५/२० मिनेटमा प्राण जानु, कस्तो संयोग थियो है त्यो? बाआमाले हामी उहाँहरूलाई नै हेर्न त्यहाँ पुगेको थाहा पाएर, 'धन्यवाद नानीहरू हामीलाई समय मिलाएर भेट्न आउनुभएकोमा, रूद्रे त नआउने र छ, निष्ठुरी' भन्नुभाको थियो नि!
बिचरा बराल बाआमासँग बुढेसकालमा धन पो थिएन त, किनकि भएको धन रूद्र दाइले मोजमस्तीमै उडाएर सकेका थिए। तर मनका त साह्रै धनी र सफा हुनुहुन्थ्यो। अनि अहिले चाहिँ फेसबुकमा बुवाआमा बिनाको जिन्दगी के जिन्दगी!, बरु बुवाआमाको प्राणसँगै मेरो पनि प्राण गएको भए ढुक्क हुन्थ्यो बेकार छ बुवाआमा बिनाको यो मेरो जिन्दगी भन्दै लेखेर आफ्ना बुवाआमाको फोटोलाई खिर खुवाउँदै गरेको फेसबुक स्टाटसमा राखेर निकै भावुक स्टाटस फेसबुकमा हालेछन्, लाज पचेका नकचराले। पित्तृको श्राप लाग्छ अरे यस्तालाई त!,' भन्दै हरि चिया पिउन थाल्छन्।
'हो नि, हामीलाई धन्यवाद दिएर लज्जित नबनाउनुहोस् भन्नै नभ्याइ अन्तिम सास फेरि हाल्नु भाथ्यो त्यो दिन बराल बाआमाले। त्यो पल सम्झँदा रोइरहुँजस्तो मात्रै लाग्छ। सुन्नु न खै आजकाल यो फेसबुकमा मानिसले अरूका अगाडि आफूलाई राम्रो बनाउन अनेक अनेक स्टाटस हाल्ने परम्परा बसिसकेको छ। यसलाई फेसबुक सुसंकृति भनौं या विकृतिरू बाँचुन्जेल आँखाको कसिङ्गर भएका बुवाआमालाई मरेपछि महान् बनाएर बुवाआमाको निम्ति खोक्रो माया देखाउनुभन्दा रुद्र दाइले यो स्टाटस नलेखेको भए नि उनका चेलीहरूको यति साह्रो चित्त दुखाइ हुने थिएन होला कि रूद्र दाइप्रति।
रूद्र दाइको यो फेसबुक पोष्टमा उनकी कान्छी दिदीले नै, 'बुवा आमा बाँचुन्जेल अनेक दुःख कष्ट दिएर उहाँहरूलाई रूवाइ रहिस् अहिले चाहिँ किन वरिष्ठ हुन खोज्छस् भाइ?,' भनेर सोधेकी छन्।
यहाँ हेर्नु त भन्दै माया हरिलाई देखाउँछिन् र माया कमेन्ट पढ्दै भन्छिन्, 'खै के, खै के, बाँचुन्जेल रूवाएर मरेपछि के नाटक गर्या हुन् रूद्र दाइले! दैव जानून्।'
हुन त बराल बाआमाले पनि आफ्नै दुई छोराहरू रूद्र र रूपकलाई कहिल्यै पनि एक समान व्यवहार गर्नु भएन रे। दुई छोराहरूबीच भेदभाव गरिरहनु भयो रे। रूद्र दाइले जे जे भन्नुभयो पत्याई रहनु भयो रे र बारम्बार आफै जाकटी बसेर रूद्र दाइले मनोरञ्जन गर्न लिएको ऋण समेत तिरिरहनु भयो रे। रूद्र दाइले लिएको सबै ऋण तिर्न जग्गै बेच्न पनि पछि पर्नु भएन रे। बुवाआमाले गरेको अन्धो विश्वासको फाइदा उठाउँदै रूद्र दाइ विस्तारै जाँड, रक्सीको कुलतमा फस्नु भयो रे। रूद्र दाइले बुवाआमाको सम्पत्ति हावामा उडाएको थाहा पाएर रूपक दाइले बुवाआमालाई तपाईंहरू कहिलेसम्म दाइको ऋण तिरिराख्ने!, दाइलाई आफूले गरेको ऋण आफै तिर भन्नू, तपाईंहरू जाकटी बसी बसी दाइले लिएको ऋण नतिरीदिनु भनेर भन्दा उहाँका बुवाआमा दुवै जना रूपक दाइसँग रिसाएर तीन महिना जति बोल्नु भएन रे,' मलाई रूपक दाइकी श्रीमती दुर्गा भाउजूले भन्नुभको भन्दै माया हरिलाई सुनाउँछिन्।
'त्यै भएर पो रहेछ क्यार रूपक दाइभाउजू अष्ट्रेलियातिर बसाइ सर्नुभएको। बिचरा रूपक दाइ एकदम सोझो मान्छे, कसैलाई ठग्न, झुक्याउन नजान्ने, रूद्र दाइको जस्तो कमिसन खान पनि नजान्ने। जाँड रक्सी पिउने कुरा त परै जाओस् छुँदा नि नछुने। त्यसमाथि आफ्नै बुबाआमाबाट सौताको छोरो जस्तो व्यवहार भएपछि घर छेउछाउमै बसेर काम छैन भन्ने लागेर गएका होलान् दाइभाउजू अष्ट्रेलियातिर। जे गरे राम्रै गरे।
बुवाआमाले अंश देलान् अनि एउटा घर बनाएर बस्छु भन्ने सोच्या भए विचराहरू अहिले न घर न घाटको भएर बाँच्न बाध्य हुने रैछन्। अष्ट्रेलियामा दाजुभाउजू दुबै जना काम गर्छन् रे, कमाइ पनि राम्रै छ रे। रूपक दाइले बुवाआमा वृद्धाश्रममा भएको थाहा पाएर उहाँहरूलाई 'बुवाआमा, तपाईंहरू त वृद्धाश्रममा हुनुहुन्छ रे हो?,' भनेर सोध्दा 'हैन बाबु हैन, कसले सुनायो तँलाई यो नचाहिने कुरा? रूद्र र उसकी श्रीमतीले हामीलाई घरमै सुख्खले पालेका छन्' भन्दै रूद्र दाइ र उनकै श्रीमतीको इज्जत ढाक्ने काम गरेका थिए रे बराल बाले, सायद रूपक दाइलाई सत्य बोल्दा दाइले पीर मान्नुहुन्छ भनेर त त्यसो भनेका थिए होलान् नि! दैव जानून्।
अनि खै दोष कसलाई दिनू। आखिर बराल बाआमाको काज किरिया पनि रूपक दाइकै परिवारले मात्र त गरे रे नि। रूद्र दाइ र उनका परिवार त देखा नै परेनन् अरे बुवाले भन्दै हुनुहुन्थ्यो। किरियामा लागेको खर्च पनि सबै रूपक दाइले नै व्यहोरे अरे। तर रूपक दाइले त आमा बुवा, हजुरहरू जहाँ हुनुहुन्छ, सुखी हुनुहोला, खुसी हुनुहोला, र हामीलाई आशीर्वाद दिइरहनुहोला मात्रै लेख्या देख्छु, उहाँको फेसबुकमा। रूद्र दाइको जस्तो देखावटी पोष्ट त गर्नुभा छैन रूपक दाइले।
अनि अर्को कुरा रूद्र दाइले रूपक दाइले विदेशमा खाइ नखाइ दुःख गरेर कमाएको धेरै पैसा बिगारी दिएका छन् रे, तिर्ने त कुरै गर्दैनन् रे, त्यही भएर बराल बा आमाको किरियामा पनि देखा नपरेका रे रूद्र दाइ, हाम्रा बुवालाई गाउँलेहरूले भनेका अरे' भन्दै माया हरिलाई बेलिविस्तार सुनाउँछिन्।
उनीहरूबीच कुरा हुँदै गर्दा हरिकी बहिनी सीताले दुई तीनचोटि फोन गरेकी हुन्छिन् मेसेन्जरमा।
'तिमीसँग गफ गर्ने सिलसिलामा बहिनी सीताको कल मिस गरेछु, माया। म बहिनीसँग कुरा गर्छु है,' भन्दै हरि सीतालाई कल गर्छन्।
'बहिनी तेरो खबर के छ हो? ज्वाइँ के गर्दै हुनुहुन्छ? भान्जाभान्जी के गर्दैछन्? अनि तैंले रूद्र बराललाई दिएको ऋणा उठाइस् त? त्यो मान्छेले धेरैको पैसा बिगारेको छ रे। जसरी हुन्छ तैंले दिएको पैसा उठाइहाल, डुब्न नदेनी!, के गरेर उठाउछेस् मलाई थाहा छैन!,' भन्दै आफ्ना सबै प्रश्नहरू एकैसाथ सीतालाई थोपर्छन्।
सीता लामो खुइइइ...ययय गर्दै उनका दाजु हरिका एक एक प्रश्नहरूको जबाफ दिन थाल्छिन्।
'दाजु नमस्कार हाम्रो खबर सबै ठीकै छ। ज्वाइँको खबर पनि ठीकै छ। तपाईंका भान्जाभान्जी पनि ठीकै छन्। खै रूद्र दाइले मेरो पैसा वापस गर्लान् जस्तो छैन। अस्ति मेरो पैसा फिर्ता दिनुपर्यो भनेर जाँदा अब तिम्रो पैसा चुक्ता भयो, अबदेखि पैसा लिन नआउनू भनेर एउटा बैंकको चेक दिएर पठाए। चेक साट्न बैंकमा गएकी त उनको नाममा त्यो बैंकमा खातै रहेनछ, ठग्नसम्म ठगेछन् मलाई त।
बैंकमा खाता समेत नभएको मान्छेले कीर्ते चेक दिएर मलाई उल्लु बनाएको विषयमा रूद्र दाइविरूद्ध इलाका कार्यालय दमकमा 'दोषी उपर कारबाही गरिपाऊँ' भनी निवेदन दिएकी थिएँ।
इलाका कार्यालय दमकले रूद्र दाइलाई जम्मा १५ दिन थुनामा राखेर छोडिदिएछ। देशको कानुन यति फितलो भएपछि म जस्ता पीडितहरूले कसरी न्याय पाउँछन् र यहाँ दाजु!,' भन्दै सीता रून थाल्छिन्।
'अहिले रोएर के गर्छेस् बहिनी, मैले तँलाई बारम्बार सम्झाएको थिएँ कि रूद्रलाई पैसा नदे भनेर, तर तैंले त मैले भनेको सुनिनस्। रूद्र र रूद्र जस्ता दलालहरूले आजभोलि धेरै मानिसहरूको पैसा बिगारी दिएका छन्। गल्ती ती दलालहरूको मात्रै छैन, तँजस्ता मिटर ब्याजका लोभीहरूको पनि गल्ती छ। एक दुई पटक समयमै टन्न ब्याजसहित पैसा फिर्ता पाएपछि 'धन देखेपछि महादेवका पनि त्रिनेत्र खुल्छन्,' भनेझैं गरी मिटर ब्याजकै लोभमा परेर रूद्र दाइजस्तो दलाललाई पैसा दिस्, के तँ रूँदा तेरो पैसा फिर्ता हुन्छ र अब! बैंकमा राखेको पैसाको खासै ब्याज आएन भनेर रूद्र दाइलाई देको पैसा डुबेछ अब नराम्रो गरी। यो विषयमा मलाई तैंले केही नभने हुन्छ, मैले तेरो कुरा सुन्न त तैंले पनि मेरो कुरा सुनेको हुनु परो नि!,' भन्दै हरि सीताको फोन काटिदिन्छन्।
'हुन त हरि दाजुले भन्नुभा पनि ठीकै हो। मिटरब्याजीहरूले मानिसहरूलाई धेरै रकम ब्याजमा दिने प्रलोभन देखाएर पैसा लगेको र त्यो पैसा उठाउन नसक्दा मानिसहरू सिधा कुरा जनतासँग भन्ने कार्यक्रमका सञ्चालकसम्म पुगेर आफ्नो पैसा उठाउन हारगुहार मागेको मैले नदेखेको त थिइनँ, ती समाचारहरूलाई नजरअन्दाज नगरी मैले चाहिँ धृतराष्ट्र बनेर किन रूद्र दाइलाई पैसा दिएकी होला नि!, बाँदर बाठो भयो भने ढलानमा चेप्टिएर मर्छ भन्थे बुढापाकाले, ठीकै भनेका रहेछन्, म पनि त अहिले चेप्टिएर मरे सो सरह त भएकी छु नि,' भन्दै सीता मनमनै कुरा खेलाउन थाल्छिन्।
हिजो मात्र मैले सुनेको, सीता अहिले राँचीको मनोरोग अस्पतालमा मानसिक रोग उपचारार्थ भर्ना भएकी छन् रे र रूद्र सीता जस्ता ऋणदाताहरूसँग सकेसम्म ऋण लिएर ती ऋणीहरूलाई पनि ऋण नतिरेर मानसिक रोगको सिकार बनाउन व्यस्त छ रे। आशा छ सरकारले नेपालका कुना कुनाबाट रूद्र जस्ता ठगहरूलाई समातेर कानूनी कारबाही गर्न ढिला गर्ने छैन।