आजकाल चिठीको जमाना हरायो
तैपनि किन हो कुन्नि
चिठीमै मुटु पोको पारेर
पठाऊँ–पठाऊँ लाग्छ
कोरेर प्रेमका भावनाहरू
भरेर मनका अनेक चाहनाहरू र
अनगिन्ती बहानाहरू
स्कुले जीवनका सखीहरूलाई
बचपनका दामली सहयात्रीहरूलाई।
चञ्चल मन बहकिएर
क्षत–विक्षत भएको बेला
स्नेही लाग्थे–
परदेशबाट पाहुर/कोसेलीका लाम लागेजस्तै
पत्र मित्र साथीहरूका प्रेमिल पत्रहरू
दसैँ, तिहार र नयाँ वर्षमा आउने
शुभकामना पोस्टकार्ड र भेटमा भरेका अटोग्राफहरू।
उमेर घर्किँदै गयो, समय सर्किँदै गयो
बिराना बने सङ्गी दामलीहरू
तैपनि व्यतीत दिनहरूका कैयौँ यादहरूलाई
सम्झनाको माला बनाएर उनूँ–उनूँ लाग्छ
अतीतको स्मृतिलाई जागा बनाइरहन
यादका धुमिल गोरेटाहरूलाई फरक
अनि चमकदार र ताजा बनाइरहन।
अचेल इन्टरनेट, इन्स्टाग्राम, ट्विटर,
ह्वाट्सएप र फेसबुकका वालहरूमा
भेट्छु कि भनी घण्टौँ खोजिरहन्छु
उही स्मृति, उही साथी र उस्तै दिनचर्या
अपसोच भेट्न सक्दिनँ
व्यतीत दिनहरूका जस्तै खुसीका तरङ्गहरू
र चस्किन्छ छाती, दुख्छ यादको घाउ
अतीतको स्मृतिले, बेचैन मनस्थितिले
तैपनि मन बुझाउँदै छु
यादका अनगिन्ती किस्साहरू
जब सिरान हालेर निदाउँछु
सपनाभरि फुल्छन् र फक्रिन्छन्
बचपनका खुसीका सुवासिला फूलहरू
म नउठ्दासम्म, न नजाग्दासम्म।