देख्ने यी नयनहरू अब धमिलो हुँदै जानु
हतासिने मन अब शान्त र स्थिर रहनु
के ममा परिवर्तनले ठाउँ पाएकै हो त?
के चुलबुल चुलबुल मेरो मस्तिष्क विश्राम लिँदै छ त?
सायद अनन्त क्षितिजमा मेरा गन्तव्यका पाइला लम्किँदै होलान्
कसैले नदेखेको त्यो स्वर्गद्वारी मैले देख्न लागेकै हो त?
कि कतै बिना अस्तित्व बन्न आँटे म?
लिन सकिने तर कैले नदेखिन पवन बन्न आँटेँ?
सप्तकोसीमा बगिरहने जल बन्न आँटे वा
पूर्ण बग्न नपाउने कञ्चनजङ्घा?
सुनारले पिट्ने सुनजस्तै पिटिरहन्छ मलाई मेरा विचारहरूले
सोध्छु किन यति अत्याचार?
भन्छन् तँलाई टल्किने बन्नु छ
ढिकीमा कुटिने धानझैँ कुट्छन् मलाई भावनाका पोकाले
सोच्छु मलाई पकाउन मिल्ने चामल जो बन्नु छ
कुन्नि कुन थरी फूल रातमा मात्र फुल्छिन् अरे
मलाई पनि त्यही फूलसँग आफ्नो विलक्षण क्षमता हेर्नु छ
जुनसँग मिठा बात र तारासँग दुई थोपा आँसु साट्नु छ
गड्किएको बादलसँग मैले आक्रोश पोख्नु छ
एक्लिएको कोइलीसँग रोदनका दुई भाका कोर्नु छ
कहिले टुङ्गो नभएको भोलिलाई आजका कुरा लाउनु छ
बितिसकेको हिजोलाई मेरो किताबका पानामा साँच्नु छ
कसरी भुल्न सक्छु र म त्यो हिजोलाई?
जसले मलाई आज देखायो
जसले मलाई सुन्दरताको उदाहरण बनायो
मलाई 'म' मानव हुँ भन्ने अस्तित्व दिलायो।