हुन त मलाई पनि अपरिचित गोरेटोहरूमा
स्वतन्त्र र अनजान यात्री बन्न मन थियो
तर पनि
बाटोहरूको लामो जँघार तरेपछि
नियतिले र दुःखहरूले नजिक बनाएपछि
मुटुले बाटोका ढुङ्गा नै साथी बनाएपछि
मस्तिष्कले माटोसँगै डोर्याएपछि
कर्मका योगले घनिष्ठ बनाएपछि
नै हो मैले त्यो गोरेटोको फगत
एउटा बटुवा मात्र हुँ भनेर बिर्सेको।
थाह छैन भोलि कहाँ पुगिन्छ
तर यात्रामा त आफ्नै लाग्ने रहेछ
नियतिले खोजी खोजी आफ्नो
बनाउन लगाएर
समयले रेटीरेटी छुट्न लगाएर
पुनः टालेको मन लिएर हिँडेको पनि
धेरै पटक भइसक्यो।
म फगत सृष्टिकै एउटा बटुवा
जति जोडले हिँडे पनि
जति जोडले कुदे पनि
आराम गर्दै र सुस्ताउँदै पाइला चाले पनि
सारै मन मिल्नेसँग मित्रता गाँसे पनि
सफल र असफल गोरेटोका छालसँग
जीवन साटे पनि
ममताको आँचल छुटेपछि ठूलो भएको
बालकझैँ लड्दै, भित्तो समाउँदै
र बामे सर्दै जति नै कोसिस गरे पनि
बाटोमा दुरुस्तै देखिने दोभानमा
पुगेपछि म अकस्मात् बटुवा नै बन्नेछु।
भ्रमित मेरा आँखाले यदाकदा भेटिने
बाटोलाई आफ्नो मानिरह्यो
भ्रमित मेरो पाइलाले लामो समय टेकेको
धर्ती आफ्नो मानिरह्यो
भ्रमित मेरो अन्तर्मनले मेरो
सालनाल विसर्जन भएको माटोलाई
अत्यन्त निकट मानिरह्यो
तर म त फगत एउटा बटुवा रहेछु
नियतिले डसेका प्रत्येक पलले
मेरा सोचलाई दिग्भ्रमित बनाउन
खोजेपछि नै हो मैले आफूलाई
फगत बटुवा मान्न थालेको।
ईश्वरीय आँचलबाट सृष्टि भएर पुनः त्यही नै
विलीन हुनु परेपछि
हामी सम्पूर्ण मानव फगत एउटा अनजान
बटुवा नै रहेछौँ।