तिम्रो सुन्दरता र तिम्रो मौनता
कहिल्यै हरेस नखाने धैर्यता
आमा अलिकति मलाई नि
चाहिएको छ
सापटी मिल्छ?
हरेक पसल पसल खोजेँ
मल मल चहारे
जहाँ गएँ त्यहाँ सोधेँ
जता डुलेँ त्यहाँ रोजेँ
तर कहीँ कतै पाउन सकिनँ
तिम्रो सुन्दरता र मौनता
कहिल्यै हरेस नखाने तिम्रो धैर्यता
आमा अलिकति मलाई नि चाहिएको छ
सापटी दिन मिल्छ?
तिमीले गरेको माया र
तिम्रो न्यानो काख
तिमीले दिएको अँगालो र
तिम्रो हरेक मौन साथ
थुप्रै सम्बन्धहरूमा खोज्न खोजेँ
हरेक नाताहरूमा नियाल्न सकेँ
तर अहँ! कसैले त्यो वात्सल्य र
त्यो ममता फर्काउन सकेन
आमा त्योसँगै
तिम्रो निःस्वार्थ त्याग र बलिदान
अनि तिम्रो परिश्रमको परिणाम
आजको म हिजो जस्तै चाहिएको छ
आमा अलिकति हिजो आज फेरि
सापटीमा दिन मिल्छ?
के खान्छौ? के लगाउँछौ?
भोक लाग्यो कि?
जाडो छ कि?
तिमीलाई पुगेन होला?
मेरो राम्रै छ चोला
लाऊ तिमी खाऊ
आऊ तिमी लगाऊ
आज फेरि म थाकेको बेला भनिदिने
त्यही आमा चाहिएको छ
हरेस खाँदा ढाडस दिने
ममतामयी स्पर्श चाहिएको छ
समय बेतोड दौडिरहँदा
रोकिदिने सुमसुम्याई दिने र हौसला दिने
आज फेरि त्यही समय
चाहिएको छ
अलिकति सापटीमा फेरि
मलाई तिम्रो थप समय चाहिएको छ
आमा त्यस्तै थोरै पल
सापटीमा दिन मिल्छ?
त्यो गरिबीमा पनि फुरुङ्ग म
त्यो भोकमा पनि टन्न अघाएको म
जाडोले काँडा फुरिरहँदा पनि असिनपसिन म
काममा पनि फुर्तिलो
अनि अभावमा पनि भरिपूर्ण म
थोरैमा पनि पूर्ण र
धेरैमा पनि शान्त म
रमाउन आँगन र कौसी भए पुग्ने
झुपडीमा पनि मस्त म
आज महल भित्र एक्लै
भिडमा छुट्टै दौडिरहेछ
न कहीँ पुग्छु
न गन्तव्य भेट्छु
न फुर्सद छ
न काम छ
न कमाइ न रमाइ छ
आमा आज त्यही पल सम्झिरहेछु
त्यही न्यानो काखको सम्झनामा टाढा कतै
छटपटी रहेछु
आमा
तिम्रो सुन्दरता र मौनता
अनि तिम्रो धैर्यता
तिम्रो शान्त व्यस्तता र
ममता अलिकति फेरि चाहिएको छ
सापटी मिल्छ?
धेरै आए, आफ्ना बन्न खोजे, केही लिए
केही खाए, अघाए अनि गए
जति गरे नि पराई पराई नै भए
आफ्नो भएनन्
स्वार्थ अनि लालचमा बनेका सम्बन्ध
न रहे जस्ता न भए जस्ता
जुन बेला चाहियो त्यही बेला नहुँदा
मात्रै तिम्रो याद खड्किरह्यो
तिमीलाई न पर राख्न सकिने
नत पराई हुने तिमी
अचेल मलाई एउटा विश्वास चाहिएको छ
अलिकति निःस्वार्थ मिसिएको आमा
तिमीसँग बाहेक कसैसँग छैन रहेछ
अलिकति सापटी दिन मिल्छ?