कति गँवार छिन् मेरी आमा
एक थोक माग्दा
अर्को थोक दिन्छिन्
भात खान माग्दा
अण्डा र दूध पनि दिन्छिन्
एउटा रोटी माग्दा दुइटा दिन्छिन्
कति झुटुवा छिन् मेरी आमा
बेलुकी फर्किन ढिला हुँदा
पर्खेर बसेकी छैन भन्दै पर्खेर बस्छिन्
मेरो चिन्ता नगर्न भन्दा
गरेकी छैन भन्छिन्
रित्तो पेट हुँदा
भरपेट छु भन्छिन्
कति मूर्ख छिन् मेरी आमा
म बिमारीले थला पर्दा
गिट्टी कुटेर पैसा घरमा ल्याउन छोडी
आफैँ घरमै बस्छिन्
सहर जान पैसा चाहियो भन्दा
आफ्नै गहना खोली हातमा थमाउँछिन्
कति अटेरी छिन् मेरी आमा
म सकुशल छु भन्दा
भगवानसँग प्रार्थना गर्छिन्
आराम गर्नुपर्छ अब भन्दा
आफ्नै काम गर्न छोडी
मेरो काम पनि आफैँ गर्न तम्सिन्छिन्
कति जिद्दी छिन् मेरी आमा
मसँग अब पुग्ने गरी पैसा छ भन्दा
वृद्ध भत्ता हातैमा टक्राउँछिन्
कति असहनशील छिन् मेरी आमा
सानो चोट मलाई लाग्दा
आफैलाई दुखे सरी रुन्छिन्।