बिहानको धन्दा सकेर समिरा बरन्डामा बसेर सुस्ताउँदै थिइन्। बिहानै उठेर घर सफा गर्नु, दूध दुहुनु, खोले पकाउनु अनि घरका सदस्यहरूलाई चिया खुवाउनु, बालबच्चाको स्याहार गर्नुजस्ता पारिवारिक दायित्व निर्वाह गरिसकेर बिहानको खानाको काम सक्नु, बारीमा तरकारी गोडमेल गर्नु र अरू थुप्रै काम पनि उनका नियमित जिम्मेवारीभित्र पर्दछन्।
मातातीर्थ औँसीको दिन अर्थात् आमाको मुख हेर्ने दिन। वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो।
समिरा बरन्डाबाट परतिर हेर्दै थिइन्। पल्ला घरकी कोकिला दिदी आँगनमा टुप्लुक्क देखा परिन्।
'आज मातातीर्थ औँसी, तिमी त आमाको मुख हेर्न जान्नौ कि क्या हो? म त हिजै गएर आज फर्केको,' उनले समिरालाई हेर्दै फतफताइन्।
'आ, आफ्नी आमालाई जहिले हेरे पनि हुन्छ नि। किन औँसी नै कुर्नु पर्यो नि? मलाई त खासै फरक अनुभूति छैन,' मनभित्र जेजस्तो अनुभूति भए नि मुखले भने कोकिलाको जवाफ दिइन्। समिराले बस्नको लागि कुर्सी देखाइदिइन्।
कोकिला कुर्सीमा थ्याच्च बसिन्। आँखीभौँ खुम्च्याउँदै उनले भनिन्, 'हैन, तिम्रो त मन पनि कति अररो हो! पोहोर पनि आमाको मुख हेर्ने दिन माइत गइनौ। अहिले पनि यसो भन्छ्यौ।'
कोकिलाले पोहोरको कुरा सम्झाउँदा समिराको मनै अमिलो भएर आयो। 'आफ्नो माइत जाने रहर कसलाई लाग्दैन र आफ्नो बुबाआमाको दर्शन गर्न कसलाई मन लाग्दैन र!' उनले मनमनै सम्झिन्। कोपिलाको कुराले समिरालाई पोहोरको मातातीर्थ औँसीको याद गर्न कर लाग्यो।
गत वर्ष मातातीर्थ औँसीका दिन आमाको मुख हेर्न जान समिराले महिना दिन अघिदेखि नै मनभित्र अभिलाषाको बिरुवा रोपेकी थिइन्। जति जति औँसी नजिक आउँथ्यो उति उति उत्साहको बिरुवा झाँगिँदै गएको थियो। अघिल्लो दिन नै हाट गएर आमालाई सम्झेर मजेत्रो किनेकी थिइन्। आधा आधा किलो स्याउ र अङ्गुर किनिन्। हुन त आफ्नी आमालाई सारी नै किन्ने विचार थियो। तर पैसाले पुगेन। यतिकैमा चित्त बुझाइन्।
उपहारको फुर्तीभन्दा पनि ज्यादा मातृ दर्शनको अभिलाषा उनको मनमा विकसित थियो। उनलाई आँगनमा देखेर आमा मुसुक्क मुस्काउने छिन्। बुबा पनि हुनुभएको भए उहाँको हृदय खुसीले नाङ्लो जत्रै हुने थियो। पहिले माइत जाँदा बुबा कति खुसी हुनुहुन्थ्यो! भाइबहिनी पनि दिदीको अघिपछि गर्दै दङदास बन्थे। उनले मनमनै माइतीघर पुगेको मधुर कल्पना गरिन्।
बेलुकाको खाना खाँदै गर्दा सासूले भनिन्, 'एक दिनका लागि मरिहत्ते गरेर माइत जान पर्दैन। बरु आमा भेट्न मन भए अर्को महिना जानू।'
एकाएक सासूको कुरा सुनेर समिराका नौनाडी फतक्क भए। धेरै दिनदेखिको मनमा गोडमेल गरेको उत्साहको बिरुवा ओइलिने लक्षण देखियो। हृदयको अभिलाषा धरापमा पर्ने छाँट आयो। उनको मुहारको रङ फेरियो। मजेत्रोलाई शिरमा मिलाउँदै बिस्तारै भनिन्, 'हैन आमा! भोलिपल्ट त बिहानै आइहाल्छु नि। बरु बिहानै एक भारी घाँस काटेर राखिदिन्छु। आमाले पनि जसरी नि आउनू है, भन्नु भएको छ।'
समिराले सकेसम्म आफ्नो बोलीमा नम्रताको लेपन लगाउँदै बोलिन्।
'त्यसो भनेर कहाँ हुन्छ? म बुढी मान्छे यी गाईबस्तु स्याहार्न सक्दिनँ। घरको धन्दा कसले गर्छ? फेरि तेरा नन्द, आमाजू पनि भोलि आउँछन्। उनीहरूलाई कसले पकाएर खुवाउँछ? जान पर्दैन। जान मन लागे अर्को महिना जानू।'
सासूले अन्तिम निर्णय सुनाइन्। ससुराले पो यस बेला केही सहानुभूति देखाउलान् भन्ने झिनो आशा थियो। तर सासूको हैकमका अघि बिचरा नतमस्तक थिए। भित्र मनमा लागे पनि भन्ने आँट उनमा थिएन।
दश वर्ष त्यस घरमा बुहारी बनेर भित्रिएदेखि समिराले बुझेको ब्रह्म ज्ञान थियो यो।
राति ओछ्यानमा पल्टेर ननिदाउँदासम्म समिराको दिमागमा त्यही कुरा रिँगिई रह्यो। एक मनले त पतिलाई फोन गरेर दुखेसो पोख्न मन लाग्यो। परदेशको तातो मरुभूमिमा घरकै लागि मरिहत्ते गर्ने लोग्नेलाई घरायसी कुरा सुनाएर तनाव दिन उचित लागेन।
भोलिपल्ट मातातीर्थ औँसीका दिन आमालाई फोन गरेर मलाई भएन पछि आउँछु भनिन्। आमासँग झुट बोल्नुपर्यो। फोन गरिसकेपछि मन थाम्न सकिनन्। घोप्टो परेर रुँदा रुँदा गरिन्। उनको असन्तुष्टि आँसु बनेर बग्दा पनि सकिएन। बाबा मरेको त पाँच वर्षभन्दा ज्यादा भइसकेछ। आमा पनि अब त बुढी हुनुभयो। उनको मनमा आमाबाबाको औधी याद आयो, औधी माया लागेर आयो। झलक्क हेर्ने पाए नि हुन्थ्यो जस्तो भयो।
दिउँसो नन्द र आमाजू आए। समिराले उनीहरूलाई खाना खाजा खुवाइन्। घर धन्दा गरिन्। तर उनको आङमा अझै पहारिलो घाम लागेको थिएन। नन्दले भनिन्, 'भाउजू त माइत जानु भएनछ। हुन त कर्म दिने आमा पनि त जन्म दिने आमा जस्तै त हो, यतै मुख हेरे पनि भइहाल्यो नि।'
आफ्नी छोरीको कुरा सुनेर सासू गजक्क परिन्। सबै जना ठाँटिएर माइत गएको देख्दा समिराको मन औधी पोलेको थियो। यही बेला नन्दको रूखो बोलीले उनको मन झनै कुँडियो।
'हो त नि, जन्म दिने र कर्म दिने उस्तै हुन्। तपाईं पनि उतै सासूको मुख हेर्नुभा भइहाल्थ्यो नि। किन आउनुभा?' नन्दलाई यसो भनेर मुख बुझो लाइदिन उनलाई मन लागेको थियो तर मुख थामिन्। चाडबाडका दिन माइत आएकी चेलीको चित्त दुखाउन उचित लागेन। उनले यसो भन्नु हो भने बिनसित्तिमा घरमा ठूलै रडाको हुन सक्थ्यो। अनि यसको सबै दोष समिराकै थाप्लामा आइपर्थ्यो। नन्दलाई पनि के थाहा होस्, समिरा आफैँ जान नचाहेकी हुन कि आमाले जान नदिएको हो भनेर। समिराले केवल फिस्स हाँसेर नन्दको भनाइमा प्रतिक्रिया जनाइन्।
समिराले अघिल्लो वर्षका सबै घटना सविस्तार याद गरिन्।
'किन टोलाएकी तिमी?'
कोकिलाको आवाजले समिरा झसङ्ग भइन्। समिराले वातावरणलाई सहज बनाउँदै भनिन्, 'यसपालि त आमा एक महिना अघिदेखि काठमाडौँ जानु भएको छ। दाजुले घुमाउँछु भनेर लिएर जानु भएको छ। अब अर्को साल जान्छु नि।'
कोकिलाले छरिएको कपाललाई दुवै हातले सम्हाल्दै भनिन्, 'मातातीर्थ औँसीको अघिल्लै दिनदेखि बाटामा भिडभाड हुन्थ्यो। खानेकुरा, फलफूल र कपडाका पसलमा मान्छे भरिभराउ हुन्थे। यसपालि त आर्थिक मन्दीले होला सधैँजस्तो चहलपहल अलिक छैन। मैले त आमालाई यसपालि चौबन्दी चोलो, सारी र दुई आनाको औँठी दिएँ।'
कोकिलाले नजानिँदो पाराले रवाफ प्रदर्शन गरिन्।
दुवैले कुराकानी थाती राखेर पर बाटोतिर हेरे। केही महिला आफ्नो गन्तव्यमा लम्किँदै थिए। सिरसिर हावाले सिसौका कलिला पालुवा यताउति हल्लिरहेका थिए। वृक्ष शाखामा एक हुल पक्षी आपसमा कल्याङकुलुङको भाषामा गफ गर्दै थिए। पहेँलो पुच्छर भएको सानो चरा परतिरको हाँगामा बसेर रमिता हेरिरहेको थियो। कोकिला हाई काढ्दै उठेर घरतिर लागिन्।
समिराले बाख्रालाई घाँस हालिदिइन्। खाना खाएर निदाएकी सानी छोरी अझै सुतिरहेकी थिइन्। उनले बिहानै सबैलाई चिया खुवाइसकेर आमालाई फोन गरेर फोनमै आमाको दर्शन गरेकी थिइन्। समिरालाई आमाको औधी याद आयो।
'कठै बरी! मेरी आमा बालबच्चा हुर्काउन कति दुःख गर्नुभयो।' मोबाइलमा आमाको तस्बिर हेर्दै मनमा सम्झिन्।
समिराले बाल्यकालदेखिकै घटना स्मरण गरिन्। आमाले उनलाई ताते गर्दै हिँड्न सिकाएको, मामा, पापा, नाना गर्दै बोल्न सिकाएको, को खाइ गर्दै खान सिकाएको सम्झिन्। एउटा सन्तानलाई हुर्काउँदा बढाउँदा आमाले कति त्याग र कष्ट उठाएकी हुन्छिन् भन्ने कुरा अहिले उनी अनुभव गर्दै छिन्। नौ वर्षको उमेरमा झाडा पखालाले इन्तु न चिन्तु हुँदा आमाले उसलाई बोकेर रुँदै एक घण्टा हिँडेर डाक्टरकहाँ लगेको सम्झना उनको स्मृति क्यानभासबाट अहिलेसम्म मेटिएको छैन। उनलाई ज्वरो आउँदा आमालाई पिरले सताउँथ्यो। उनकी आमाले उनलाई पिठ्यूँमा बोकेर बारीमा मकै गोडेको याद छ। काखमा बोकेर गाउँघर डुलाएको स्मृति पनि ताजै छ।
'उहाँ बिहानै उठेर पानी ल्याउनु हुन्थ्यो। आगो फुक्नु हुन्थ्यो। घर लिपपोत गर्नुहुन्थ्यो। गाईबस्तुलाई घाँस, खोले गर्नुहुन्थ्यो। बारीको काम गर्नुहुन्थ्यो। अनि आफ्ना छोराछोरीलाई खाना पकाएर खुवाएर घरको कामधन्दा सकेर बुबाको काम सघाउन खेतमा जानुहुन्थ्यो। उहाँ मेसिनझैँ काममा अविरल व्यस्त हुनुहुन्थ्यो।
उहाँका स्नेहालु हातमा अनौठो जादु रहेको छ। टाउको दुख्दा आमाले मायालु पाराले निधार छामेपछि हलुका महसुस हुन्थ्यो। उहाँले टाउकामा सुमसुम्याएर मातृ स्नेह खन्याएको समिरालाई असाध्य मन पर्छ। आमा कतै जाँदा अरूले खान दिएका एक कोसा केरा पनि छोराछोरीलाई सम्झेर पोल्टामा हाल्नुहुन्थ्यो। उहाँ आफ्ना सन्तानलाई आफूलाई भन्दा माया गर्नुहुन्थ्यो। छोराछोरीको सफलतामा आमाका आँखामा झल्किने सन्तुष्टि र फर्याकफुरुक बिछट्ट किसिमको हुन्छ।'
समिराले बाबासँगका केही घटनाको पनि स्मरण गरिन्। छ वर्षको उमेरमा पहिलो दिन पाठशालामा भर्ना गर्न गएको वेला उनलाई बुबाको हात समाएर गएको याद छ। शिक्षकले नाम सोध्दा डराएर बुबाको दौरा समाएर लपक्क टाँसिएको घटना शिलामा खोपिएका अक्षर जस्तै उसको मानसपटलबाट अहिलेसम्म मेटिएको छैन।
सात वर्षको उमेरमा बारीको कान्लाबाट लडेर समिराको भाइको खुट्टामा गहिरो चोट लागेको थियो। त्यो बेला बुबाले उसलाई काँधमा बोकेर गाउँघर डुलाउँदा समिरा बाबाको हात समातेर सँगै हिँड्थिन्। बुबाले कतै गएर घर आउँदा चकलेट, मिठाइ, भुजाका डल्ला, पाउरोटीमध्ये कुनै न कुनै चिज ल्याइदिनुहुन्थ्यो। उहाँ आफ्ना सन्तानलाई कति माया गर्नुहुन्थ्यो!
बुबा बिहानै गोरु नारेर खेत जानुहुन्थ्यो। खाना खाएर केही घण्टा आराम गरेर फेरि काममै व्यस्त हुनुहुन्थ्यो। उहाँ माटोमा खेल्नुहुन्थ्यो। माटैसँग सङ्घर्ष गर्नुहुन्थ्यो। भन्ट्याङभुन्टुङ आधा दर्जन जति छोराछोरी हुर्काउन उहाँले निकै ठूलो मेहनत गर्नुपरेको थियो। उहाँको मेहनत सन्तानको सुखका लागि समर्पित थियो। बुढ्यौलीले गाँजेर मुजा पर्न थालेको उहाँको अनुहारमा पनि छोराछोरीकै भविष्यको चिन्ता हुन्थ्यो।
उहाँका मुखको बोलीबाट अव्यक्त कुरा अनुहारको भाषाबाट व्यक्त भइरहेका हुन्थे। उहाँ कति महान् हुनुहुन्थ्यो! बुबा आफूलाई पुरानै लुगाले काम चलाउनुहुन्थ्यो। तर छोराछोरीलाई नयाँ लुगा किनिदिनु हुन्थ्यो। बुबा आफू बिहान बेलुकाको भोजनमै टिक्नुहुन्थ्यो तर छोराछोरीलाई दिउँसो खाजा खाने प्रबन्ध गरिदिनुहुन्थ्यो।
एक दिन बुबा बजार जानुभएको थियो। बच्चा बच्चीका लागि खानेकुरा किन्न भनेर। उहाँले सामान किनेर पैसा दिन खोज्दा पैसा त गोजीमा रहेनछ। पैसा हराएछ। अब के गर्ने भन्ने उहाँलाई चिन्ता परेछ। छोराछोरीका लागि फलफूल, बिस्कुट तथा दाल, मसला, चिनी जस्ता खाद्यान्न किन्ने उहाँको योजना हेर्दाहेर्दै सिसाको खेलौना फुटे जस्तै चकनाचुर भएछ। उहाँलाई रित्तो हात घर जान मन भएनछ। त्यसपछि उहाँले केके गरेर भए नि ती कुरा ल्याइदिनुभएछ।
दसैँ नजिकै आउँदै थियो। समिराकी आमाले भन्नुभयो, 'पटुवा बेचेको पैसाले छोराछोरीलाई लुगा ल्याइदिनु र तपाईंलाई पनि कमिज सुरुवाल ल्याउनू। अनि अलिकति जिरा मरीच ल्याउनू। तेलका लागि घरमै अलिकति तोरी छ त्यही पेल्नुपर्छ।' बुबा पटुवाको बोझा नाम्लो लगाएर हाट जानु भयो। बुबाले बोकेको बोझामा हाम्रो खुसी मिसिएको थियो। बेलुका घरमा दसैँको रमझम भित्रियो। बुबाले सबै छोराछोरीलाई लुगा ल्याइदिनुभएछ। कसैलाई माथि लगाउने, कसैलाई तल लगाउने। आमालाई पनि चोलो र पटुका ल्याइदिनुभएछ।
'तपाईलाई चाहिँ खोइ नि?' आमाले लुगा ओल्टाई पल्टाइ गरेर भन्नुभयो। बुबा एक छिन गम्भीर जस्तो देखिनुभयो अनि सूर्यको किरणले बादललाई छिचोले जसरी मुसुक्क हाँस्दै भन्नुभयो, हाम्रा लागि दसैँ यी नै छोराछोरी हुन्। यिनीहरू रमाए हाम्रो दसैँ सप्रियो। यिनीहरू रमाएनन् भने हाम्रो दसैँ बिग्रियो। आमाले भने आफ्नो अनुहार खुम्च्याएर बेखुसीको सङ्केत दिनुभयो।
बुबाले के भन्नुभएको होला भनेर समिरा बल्ल अहिले बुझ्दै छिन्। बाउआमा सन्तानलाई उज्यालो छर्ने बत्ती जस्तै हुन्। जसरी बत्तीले आफू जलेर अरूलाई उज्यालो छर्छ। बाउआमाले पनि आफू गलेर पनि छोराछोरीको ओठमा मुस्कान छर्छन्। आफू भोकै बसेर छोराछोरीको पेट भर्छन्। बाबुआमाले सन्तानका लागि ठुलो त्याग गरेका हुन्छन्। समयमै बुझ्न नसक्नु छोराछोरीको कमजोरी रहेछ।
बुबा आमासँगका विगतका स्मृतिले समिराको मन अमिलो भएर आयो। समिराले आफ्नी आमाको निश्चल अनुहार आफ्ना दुई आँखाअगाडि सलबलाएको देखिन्।
एउटै आँगन जोडिएकी देउरानी पर्ने सोभना आइन्। दुवै देउरानी जेठानीबीच उही मातातीर्थ औँसीका बारेमा कुरा निस्क्यो। धेरै बेर भलाकुसारी गरे।
समिराले भनिन्, 'आज त सामाजिक सञ्जालमा सबैले आमाका तस्बिर राखेका छन्। मैले पनि माइतकी आमा र घरकी आमाको फोटो राखेँ।'
सोभनाले भनिन्, 'मलाई त यो देखावटी कुरा पटक्कै मन पर्दैन। कतिपयले त फेसबुकमा फोटो हाल्नकै लागि अनेक नाटक गर्छन्।'
उनले फेरि अगाडि थपिन्, 'बाबाआमाको मायाका लागि विज्ञापनको जरुरत पर्छ र?'
समिराले पनि आजकाल संस्कार, संस्कृति, चाडपर्वमा अलिकति तडकभडक मिसिएको ठानिन्। सोभना उठेर घरतिर लागिन्।
समिरा मनमनै सोच्न थालिन्, 'यसपालि त यस्तै भो। मातातीर्थ औँसीमा आमाको मुख हेर्न पाइनँ। अर्को साल त जसरी भए पनि आमाको मुख हेर्न माइत जान्छु, जान्छु।' समिरा बिस्तारै बोलिन्।
उता टाट्नामा बाँधेका बाख्रो प्याँ प्याँ गरी घोक्रो फाट्ने गरी कराएको आवाज आयो। अल्झिए कि क्या हो! बाख्राको आवाजले सानी छोरी पनि ब्युँझिएर रुन थालिन्। छोरी लिन जाऊँ कि बाख्रा हेर्न जाऊँ, दोधार हुँदै समिरा पहिला बाख्रा भएतिर दौडिन्।