आमा
सपना नै सुन्दर लाग्ने मलाई
त्यो सपनाहरूभन्दा धेरै सुन्दर लाग्ने
बिपना हौ तिमी
थाकेको शरीरलाई चाहिने आराम र
दुःख बिसाउन चाहिने चौतारी हौ तिमी
तिमी छौ र त जीवन रमाइलो छ
जीवनका प्रत्येक दिन रमाइला छन्
तिमी छौ र त मेरो पुरै संसार उज्यालो छ
तिम्रो यादले नै यी ओठहरू
अनायासै मुस्कुराइ दिन्छन्
आँखा रसाउँछन् तिम्रै सम्झनामा
भिजाइ परेली झारी दिन्छन् आँसु
तिम्रो त्यो काखको न्यानो स्पर्श सम्झिई
तिम्रो ओठमा मुस्कान सजिएको दृश्य नै
यी आँखाले देखेको सबैभन्दा सुन्दर दृश्य हो
तिम्रो आँखा आँसुले भरिएको कहिल्यै देख्नु नपरोस्
तिम्रा सबै रहरहरू
आफ्ना रहरहरूभन्दा पहिले पूरा गर्न सकूँ
धेरै दुःख भोगिसकेकी तिमीबाट
अब दुःखको छाया हटाइ
सुखको अनुभूति दिलाउन सकूँ
गर्नु जीवनमा त्यति ठूलो केही छैन
तिमीलाई हँसाउनु बाहेक
खुसी तिमीलाई राख्न सकूँ
जस्तो अप्ठ्यारो परिस्थितिमा पनि
मेरा सुन्दर सपनाहरू पूरा हुँदा
मलाई सुन्दर लाग्ने बिपनाको कारण तिमी
मेरो अगाडि देख्न पाऊँ
तिमीलाई देखी प्रत्येक दिनको सुरुआत अनि अन्त्य गर्न पाऊँ।