ओ फूलहरू
किन लहराइरहन्छौ तिमीहरू?
ओ फूलहरू!
किन फहराइरहन्छौ तिमीहरू?
हेर त-
चुँडिनु तिमीले नै पर्छ
लुछिनु तिमीले नै पर्छ
टुट्नु-फुट्नु तिमीले नै पर्छ
उछिट्टिनु तिमीले नै पर्छ
तै पनि ओ फूलहरू
किन फुलिरहन्छौ तिमीहरू?
वर्षातको भेलले तिमीलाई नै बगाउँछ
हिउँदको उजाड तिमीलाई देखेर अघाउँछ
तिमी नै हौ जो-
सुन्दरतामा जन्मेर
डङ्गुरमा मर्नुपर्छ
बगैँचामा शृङ्गारिएर
उजाडमा झर्नुपर्छ
शिरमा सजिएर
पैतलामा पछारिनु पर्छ
घाँटीमा सजिएर
नालीमा बजारिनु पर्छ
र पनि ओ फूलहरू
किन फक्रिरहन्छौ तिमीहरू?
कसले देख्छ र यहाँ?
तिमी जन्मिँदाका अप्ठ्यारोहरू
तिमी हुर्किँदाका बेवारिसे रहरहरू
तिमी बाँच्दाका सपनाका तानाबानाहरू
तिमी ठडिँदै गर्दाका मधुरा संघर्षहरू
नदेख्दा पनि कसैले, ओ फूलहरू!
किन हाँसिरहन्छौ तिमीहरू?
तिम्रो त आफ्नो भन्नु पनि को छ र?
आफन्त पनि आफैँ
साथी पनि आफैँ
शुभचिन्तक पनि आफैँ
समर्थक पनि आफैँ
तिमी दुर्जन पनि आफैँ
तिमी सज्जन पनि आफैँ
तर नहुँदा पनि कोही
ओ फूलहरू!
किन सजिरहन्छौ तिमीहरू?
बच्पना खाल्डोमा हालेर
सुन्दरता दुनियाँलाई लुटाएर
सजगता मिट्टीसँग मिलाएर
आफ्नो लागि-
आफैँ झार आफैँ पात भएर
आफैँ धुलो आफैँ पिठो भएर
कलिलो यौवनको रस कंकटमा झुन्ड्याएर
सौम्यताका धर्सा शरीरमा कोरेर
शान्तिका अवयवहरू अनुहारमा बोकेर
ओ फूलहरू!
किन रंगिरहन्छौ तिमीहरू?
दु:खकष्ट आँखामा दबाएर
पीडा वेदना पैतालामुनि छुपाएर
ओ फूलहरू!
किन सुगन्ध छरिरहन्छौ तिमीहरू?
टिपी तिमीलाई तिम्रै जरा काटिराख्नेहरूको बिपनामा
पहिरिएर र तिमीलाई फेरि कुल्चिराख्नेहरूको सपनामा
आँसुको जलपान गराइरहने यो सहरमा
विषको अमृत पान गराइरहने मान्छेको रहरमा
ओ फूलहरू!
किन हँसिला-रसिला भइरहन्छौ तिमीहरू?
किन सधैँ चम्किला रहिरहन्छौ तिमीहरू?
ओ फूलहरू!