हातमा सल्काइरहेको चुरोटलाई उसले एस्ट्रेमा राखी। पवन अझै निदाइरहेको थियो। उसले एक झमट पवनलाई हेरी नजिकैको सोफामा फ्याँकिएको पवनको आधा उल्टो आधा सुल्टो कपडालाई हेरी। भित्तामै थियो गोलो ठूलो ऐना, उसले आफैलाई हेरी।
पवन मस्त निद्रामै थियो।
बेड छेउमै राखिएको टेलिफोनमा उसले आफ्नो औँला दौडाई- 'हेल्लो, प्लिज वान कफी।'
'ह्विच वान म्याम?'
अमेरिकानो।
एकैछिनमा ढोकामा बेल बज्छ। ऊ ढोका छेउ पुग्छे। जसै ढोका खोल्छे अनायास वेट्रेसको हातबाट एस्ट्रे फुत्किन्छ।
'सरी म्याम!'
डन्ट से सरी ओके! यू आर रियल्ली स्टुपिड। कस्ता-कस्तालाई काममा राख्छन्!
यत्तिकैमा उनीहरूबीच चर्काचर्की पर्छ। पवन निद्राबाट बिउँझन्छ।
'फेरि के भयो सृष्टि? तिमी चुप लाग, कति ठूलो स्वरले चिच्याएको सामान्य कुरामा!'
यतिकैमा होटेल साहु पनि आइपुग्छ। यताउताका कोठामा सुतेका मानिसहरू पनि बाहिर निस्कन्छन् तर उनीहरूलाई शान्त पार्न सकिन्न।
सृष्टि निरन्तर झम्टी रहिछ, वेट्रेस पनि चिच्चाई रहिछ।
त्यतिकैमा होटेल साहुले निर्णय गर्छन्- 'सुम्नीमा तिमी भोलिबाट काममा नआऊ। म झेल्न सक्दिनँ यस्तो मान्छे।'
यति भनेपछि सृष्टिको रिस केही शान्त हुन्छ, क्षणभरमै कोठा सफा हुन्छ र उनीहरू कोठा बन्द गर्छन्।
सृष्टि मौनतामै चुरोट उडाइरहेकी छे। पवन मनमनै सोच्छ- बिचरा! क्षणभरमै उसको जागिर गयो। के गल्ती गरेकी थिई र उसले यति धेर! होटेल साहुले केही क्षण झेल्न नसकेको मान्छेभन्दा कैयौँ गुणा बढी छे यो तर यसलाई झेलिरहेछु म वर्षौँदेखि, थाह छैन कहिलेसम्म।
ढोकाको बेल बज्छ।
'हजुरको कफी म्याम अमेरिकानो।'
सृष्टि वेट्रेसको शिरदेखि पाउसम्म हेर्छे रिसालु नजरले।
'अब हामी सधैँ यसरी बस्न सक्दैनौँ सृष्टि, घर-परिवार र समाजले हामीलाई के भन्छ? न विवाह न परिवार न कुनै सम्बन्ध!'
'हो मिस्टर पवन! यही भन्छौ भन्ने थाह थियो। आजभन्दा वर्षौँ अगाडि यो किन भनेनौ? छोरा मान्छेले हेर्ने आफ्नो स्वार्थ न हो।'
'सृष्टि, साँच्चै म भ्रममा रहेछु। त्यो प्रेम थिएन, समयको बरबादी थियो।'
'मिस्टर पवन, कसैको जीवन बरबाद गरेर, उसलाई बस्तु जस्तो प्रयोग गरेर आज भन्छौ समयको बरबादी! तिमीले मलाई प्रयोग गर्यौ, म छोड्ने छैन।'
सोफामा यत्रतत्र छरिएका सामान ब्रिफकेसमा हालेर सृष्टि निस्कन्छे।
पवन भन्छ- 'फेरि के भयो?'
नसुनेरै जोडले ढोका तान्छे र निस्कन्छे।
पवन झ्यालको पर्दा खोल्छ र एकनास हेरिरहन्छ, आवेग र घृणाले भरिएकी सृष्टि टाढा धेरै टाढा नपुग्दासम्म।
पवन निःशब्द भई खाटमा पल्टिरहेछ। व्यग्र तुफान थामिएपछिको सन्नाटा जस्तै कोठा शान्त छ। एस्ट्रेबाट सृष्टिले फ्याकेको चुरोटको धुवाँ उडिरहेछ। पवन आफैलाई सम्झन्छ विगतको त्यो कोमल, निश्चल अनि शालीन पवनलाई जो गाउँले थियो, सहर देखेर डराउँथ्यो, सुकिला मान्छेहरू देखेर बिच्कन्थ्यो तर आजको पवनसँग सबै कुराहरू थियो जो विगतको पवनसँग थिएन।
हिजोका दिनमा सहरमा ऊ परिचित थिएन। आजको दिनमा ऊ अपरिचित थिएन। उसका गाउँले अतीतहरू सबै मेटिइसकेका छन्। ऊ सहरिया भएको छ। उसका सबैभन्दा प्रिय ठाउँहरू हिप्पीहरूका टहल्ने ठाउँ भएका छन्। त्यही हिप्पीको ज्याकारान्डा क्याफेमा उसको ध्यान एक केटीले तानी जो निस्फिक्री चुरोटको धुवाँ उडाउँदै टोम जोनको 'इट्स नट अनयुज्अल' सुन्दै थिई। गीतको तालमा एकनासले उसको गोडा र मुन्टो हल्लिरहेको थियो। त्यही तालमा हल्लिरहेको थियो उसका अगाडिको केस। त्यसैमा पवनको आँखा लठ्ठिरहेको थियो। एकनासले हेरिरहेको पवनलाई देखेर सृष्टि पनि मुस्कुराई।
पवन छेउमै जान्छ र भन्छ- 'क्यान आई स्टे हेयर?'
हुन्छ सहित फेरि एक मुस्कान!
'हेर्दा त तिमी टोम जोनको फ्यान नै जस्तो लाग्यो नि।'
'नाइँ, म चिन्दिनँ टोमलाई, म गीतको फ्यान हुँ गायकको होइन।'
'गीतको नि मान्छे फ्यान हुन्छ?'
'हुन्छ नि, जस्तो म हिहिहि...'
'बाई द ओए, म पवन अनि तिमी?'
'म सृष्टि!'
शिशिर यामको जस्ता छोटा र चिसा दिनहरू वसन्त यामका लामा र न्यानो दिनहरूमा परिणत हुन खोजे जस्तै उनीहरूको सम्बन्ध पनि बिस्तारै बिस्तारै बढ्दै थियो।
ज्याकारान्डा क्याफेबाट सुरु भएको उनीहरूको मित्रता समाज र परिवारको प्रवाह नगर्दै काठमाडौँकै भव्य अपार्टमेन्टको १० औँ तलासम्म आइपुगेको थियो। समय बित्दै थियो उनीहरूको सम्बन्धमा पनि धेरै कुरा बित्दै थिए। पवन निरन्तर कामको सिलसिलामा बाहिर जान रुचाउँथ्यो।
उसका स्वभावहरूमा निरन्तर आएको परिवर्तनले सृष्टि अतालिन्थी र भन्थी- 'पवन, हामी कहिलेसम्म यसरी बस्ने? विवाह गरौँ न।'
पवन भन्थ्यो- 'मलाई कति कामको प्रेसर छ। खालि विवाह विवाह! करियरमा ध्यान देऊ।'
सृष्टि मौनतामा विक्षिप्त हुन्थी र बाथरुमका भित्ताहरूमा मुड्की बजार्दै रुन्थी। पवन फेरि अर्को बहाना गर्थ्यो र बाहिरिन्थ्यो। सृष्टि पुनः मुर्छित हुन्थी र घायल हुनबाट बच्न ऊ भोड्काको सहारा लिन्थी।
पवन विवाह सुन्न चाहँदैन थियो, ऊ त्यही सुन्न चाहन्थी। ऊ सम्झिन्थी पवनले उसलाई भनेको, हामी केही समय सँगै बसौँ त्यसपछि लगत्तै विवाह गरौँला। पवनले देखाएका अनेकन् सपनाहरू र आधुनिकताको उन्मत्त संस्कृतिको क्षणिक जसले उसको जीवनको बाटो मोडिएको थियो। आधुनिक जीवनशैली र हिप्पीहरूको सङ्गतले त उनीहरूलाई जोड्यो तर समाज र परिवारको नियमहरूले उनीहरूलाई बिस्तारै विलीन बनाउँदै थियो। जब जब रातो पहिरनमा सिन्दुर पोतेसहित सजिएर महिलाहरू हिँडेको देख्थी उसमा आफ्नो जीवनप्रति आक्रोश र घृणाभन्दा अरू देख्दिन थिई। कहिले ऊ आफैलाई दोषी ठान्थी त कहिले पवनलाई।
एक दिन पवन खुसी हुँदै घर गयो। उसले सोच्यो, यसलाई कतै घुमाउन लानु पर्यो, सायद विवाहको रटानबाट केही समय मुक्त हुन पाइन्छ कि?
उसले भन्यो- हाम्रो विवाहको कुरा नि गरौँला, केही रमाइलो पनि। भोलि घुम्न जाऊँ।'
उसलाई घुम्नुभन्दा विवाहको कुराले छिटो आकर्षित गर्यो र उनीहरू घुम्न गए।
पवन उठ्छ, मानौँ ऊ निरन्तर फ्ल्याशब्याकमा छ! ऊ निरन्तर एकोहोरो टेबलमा भएको खाली ह्विस्कीको बोतललाई हेर्छ। ऊ आफैलाई सोच्छ, ऊ नि रित्तो छ बोतल जस्तै! बोतलको मूल्य त्यस भित्रको रक्सीले तोके जस्तै ऊ त्यही रक्सी बिनाको बोतल भएको छ, मूल्यहीन।
बाहिर चिसो हुस्सुले ढाकेको छ। दिउसै रातझैँ अँध्यारो भएको छ। निरन्तर टेबुलमा बजिरहेको फोन उठाउँछ- 'हेल्लो!'
'हेल्लो सर, हजुर पवन बस्नेत बोल्नु भएको हो?'
उम् भन्नुस् न।