जसरी एक चित्रकारले
क्यानभासमा अनेक रङ पोत्छ
अनि मेटाउँछ
नमिलेका रङहरू, बिग्रिएका आकृतिहरू
यसरी रङहरूको जिन्दगीमा
पोतिनु र मेटिनुको शृङ्खला
बारम्बार चलिरहन्छ।
नदीको लहरले जसरी बगाएर लान्छ
बालुवामा अङ्कित
युगल जोडीका नामहरू
जसरी बर्सातले पखाली जान्छ
पालुवामा लागेका धुलोका कणहरू
तर तर
चित्रकारले क्यानभासको रङ मेटाएझैँ
किन मेटिँदैनन् उसका स्मृतिहरू?
बर्सातले पालुवाको धुलो पखालेझैँ
किन पखालिँदैनन् ती अतीतहरू?
जसले नचाहेरै पनि
कुनै तानासाहले जसरी
हृदयमा शासन गरिरहेछन्।
म चाहन्छु विज्ञानले यस्तो 'इरेजर' बनाओस्
जसले सहजै मेटाओस् ती यादहरू
जो हृदयमा यसरी लेखिएका छन्
मानौँ शताब्दीदेखिको शिलालेखमा
कुँदिएका शब्दहरू ,
जसलाई मेटाउन
पत्थर स्वयमले टुक्रिनु पर्छ।