कसैकी छोरी बनिन्
मायाकी डोरी बनिन्
दिदी बनिन्
बहिनी बनिन्
घरकी लक्ष्मी बनिन्
सानैदेखि संस्कारी बनिन्
सहनशील अनि सुशील बनिन्!
कसैकी छोरी, कसैकी श्रीमती बनिन्
कसैकी आफ्नी बन्न
आफ्नैकी पराई बनिन्
कसैकी बुहारी बनिन्
कसैकी देवरानी, कसैकी जेठानी,
कसैकी के कसैकी के बनिन्
अन्ततः कसैकी आमा बनिन्
जब आमा बनिन्, मात्र आमा बनिन्
कसैकी केही बनिनन्, मात्र आमा बनिन्
दिन सन्तानको रात सन्तानको
मन पनि उतै, तन पनि उतै
सोच पनि उतै, खोज पनि उतै
खुसी, टन्टो, पीर, रन्को सबै कुरा उतै
उनको हाँसो आफ्नो हाँसो
रोदन आफ्नो आँसु
जब आमा बनिन्
सहनशीलता, त्याग अनि तपस्या बढ्दै गयो
परिपक्वता अनि उमेर चढ्दै गयो
आफूले आफूलाई बिर्सेर आफू आफू रहिनन्
सांसारिक सुख अनि मोह खोज्न गइनन्
जब आमा बनिन् मात्र आमा बनिन्
चाहे आमा, चाहे हजुरआमा आखिर जीवन्त आमा बनिन्!