प्यारी बालसखी!
तिमी औधी चञ्चल थियौ
तिमी र म घण्टौँ लुकामारी खेलेका हुन्थ्यौँ
तिमी जति टाढा पुगेर लुकेकी हुन्थ्यौ
म त्यति नै टाढा पुगी तिमीलाई भेट्टाएको हुन्थेँ
तिमी त्यति टाढासम्म पुगेर लुक्दा समेत म खुसी हुन्थेँ
किनकि
जति टाढा पुगे पनि तिमी मैले भेट्टाउने ठाउँमै हुन्थ्यौ
खै कसरी हो
अहिले यति धेरै टाढा भयौ
धेरै पर पुग्यौ
तिमी घण्टौँसम्म लुक्दा समेत नआत्तिने मलाई
अहिले सेकेन्ड सेकेन्डमा तिमीलाई देखूँ लाग्छ
भेटूँ लाग्छ
तिमी मसँग यस्तो लुकामारी खेल्यौ
यति टाढा पुग्यौ
यति लामो दूरीमा रह्यौ
जति ठूलै कोसिस गरे पनि
नभेटिने
नदेखिने
यो कस्तो लुकामारी खेल खेल्यौ?
तल्ला घरे काइँला बाको खले गरामा दाइँ हाल्दा
तिमी गोरुको पछि पछि फुर्लुङ-फुर्लुङ पल्टेकी हुन्थ्यौ
म तिम्रै पछिपछि तिम्रो आसपासमा हुन्थेँ
पाटे गोरुले तिमीलाई हान्ला कि भन्ने डरले
तिम्रो दायाँतिर
तिमीलाई नै छिर्के हाल्दै म तिमीसँगै हिँड्थेँ
अहिले त्यही पुरानो खले गरामा बसेर म तिमीलाई सम्झन्छु
पाटे गोरुका जोडी त अहिले छैनन्, एक निशानी तिमी अनि म
उनै पाटे गोरुका जोडी जस्तै
तर,
एउटा दायाँ अर्को बायाँ
यति लामो दूरीको फरकमा भयौँ
यो कस्तो दूरी आज बनायौ?
मुट्ठीका मुट्ठी काफल टोपीमा पोको पारी
म तिम्रै नजिक आउँथेँ
तिमी औधी खुसी हुन्थ्यौ
हातमुख रातै पारी काफल खाएर तिमी अघाउँथ्यौ
म तिमीलाई हेरेर अघाउँथेँ
जब तिमी आफ्नो मुख पुछेर मेरा यी आँखामा हेर्थ्यौ
म लजाउँदै-लजाउँदै भुइँ झरेका काफल पुछ्दै
अनि खाँदै तिम्रै आँखामा हेरेको हुन्थेँ
अहिले त्यही काफलको बोटमुनि बसेर म माथि हेर्छु
काफल पाकेर रक्ताम्मे छ, टिप्ने जाँगर पटक्कै छैन
कोइली चरीका एक प्रेम जोडी एउटा दाना काफललाई
पालै पालो चुँड्दै अनि बाँड्दै खाने गर्छन्
मैले मेरो टोपी छाम्छु
मुट्ठी काफल दाना खोज्छु
तिम्रा रातै भएका हात अनि मुख सम्झन्छु
यो कस्तो मलाई सम्झना गरायौ?
तिम्रो घर नजिकै ठूला पाटामा
एउटा सानो कर्कलाको बोट छ
त्यो बोटबाट तप्प-तप्प पानी चुहिन्छ
मलाई तिम्रै आँखाबाट आँसु चुहिए जस्तै लाग्छ
सँगसँगै मेरा आँखाबाट पनि आँसु चुहिन्छन्
त्यो कर्कलो त केवल एकछिन रुन्छ
म त निकै अबेरसम्म रुन्छु
तिम्रो घरको कर्कलो तिमीलाई पर्खिँदै छ
म पनि तिमीलाई अझै पर्खिँदै छु
यो कस्तो नसकिने पर्खाइ राखिदियौ?
यति धेरै लुकामारी
यति लामो दूरी
यति अमिट सम्झना
यति प्रसव पर्खाइ
अब
सबै सबै हटाइदेऊ
सधैँ सधैँलाई मेटाइदेऊ ल!