शताब्दीको निद्रापछि
जागेको छ एउटा मान्छे
दमन र तिरस्कारको आँधीले
आक्रोशित छन् उसका आँखा
खलबलाएको छ उसको मगज
शताब्दीको यो अन्तरालमा
सकेन कसैले बिउँझाउन उसलाई
गरेनन् झकझकाउने आँट कसैले
बाबुसाहेबको पैतालामुनि
सुतिरहेको थियो मस्त निद्रामा
साहुको ऋणको भारीमा
बेहोस थियो उसको आत्मा
बाबुसाहेबको पैतालाबाट
जगाउन खोजेको हुन् कैयौँ पटक
तर पैतालाको बलले मारिए कैयौँ कमिलाहरू
त्यसैले प्रत्येक दिन बाबुसाहेबको जुँगाले
भेरीमा बगिरहेको थिए उसका भाइ नवराजहरू
मालिकको गोठको मल जसरी
कुहिन बाध्य छन् उसका मित्र अजितहरू
बल्ल आज बिउँझेको छ एउटा मान्छे
दमन र तिरस्कारको आँधीले
आक्रोशित छन् उसका आँखा
आरनमा कारी सक्यो खुकुरी उसले
खाइसक्यो कसम बाबुसाहेबहरूको
जुँगामा खुकुरीको धार लगाउने
होसियार हौ मालिक, सावधान रहनू साहु
उसले लगाइसक्यो गाउँको चार फन्को
आउँदै छ तिम्रो दरबारमा
तहसनहस पार्न तिम्रो विरासत
लिन बदला हरेक दमनको
एक योद्धा
एक क्रान्तिकारी
एक पागल मान्छे।