मलाई मेला महोत्सव अक्सर जान मन हुँदैन। अन्तरमुखी स्वभावको मलाई मानिस ठूलो भिडभाड अत्यासलाग्दो लाग्छ। त्यसमाथि प्रवेशद्वारमा हुने ठेलम ठेल। धुलो। उफ्।
मलाई पटक्कै मन पर्दैन। सानी छोरीको करका कारण एक दिन नगई भएन। कक्षा ४ मा पढ्ने छोरीले भनेकी थिइन्–सबैका बाबाले मेलामा आफ्नो बच्चा घुमाउन लगिरहेका छन्। मेरा कति साथीहरूले मेलाको रमाइलो कुरा गरिरहन्छन्। हजुर मलाई किन कहिल्यै मेला लैजान मान्नुहुन्न?
मैले छोरीलाई पहाड र नदी किनार घुमाउन लैजाने कुरा गर्दै फकाउन खोजेँ।
छोरीको कुरामा उसको मम्मीले आगोमाथि घिउ थपेजस्तै गरी कुरा थपिदिइन्। त्यो शुक्रबार दिन थियो। शनिबार मैले छोरीलाई मेलामा घुमाउन लैजाने वाचा नगरी उम्कने कुनै उपाय थिएन। श्रीमती र बच्चाको जिद्दीमा सायद धेरै श्रीमान र बाबुहरू हार्छन् होला।
म एकान्तप्रेमी, प्रकृतिप्रेमी। वन जंगल र पहाडको विचरण खुबै मन पर्छ। पहाडका चुचुराबाट फाँटहरू नियाल्दा म प्रफूल्ल हुन्छ। प्रकृतिका अनुपम उपहार सुन्दर चराहरू, उनीहरूले बोल्ने विभिन्न भाषा। गाउने गीतका लयहरू। ती उत्कृष्ट संगीतमय लाग्छन्।
वसन्त ऋतुका फक्रिने सुन्दर फूलहरू क्यामेरामा कैद गर्न पाउँदा मेरो खुसी क्षितिज बनिदिन्छ। मलाई कलकल बगिरहने सग्लो खोला वा नदीका प्रति पनि उस्तै प्रेम छ।
छोरीलाई मैले सुरूमा पहाड घुमाउन लैजाने प्रस्ताव गर्दा उनले नजिकै बसेकी मम्मीलाई पुलुक्क हेरिन्।
उनकी मम्मीको अनुहारको इशारा पाइन् सायद। हुँदैन, त्यो पहाडमा के हेर्न जाने भन्दै खनिइन्। आँखा तरिन्। फेरि मैले खोला वा नदी किनारमा घुम्नका लागि लैजाने प्रस्ताव आमालाई गरेँ।
छोरीले आमाको भाव बुझ्न नपाउँदै उनकी आमा बिस्फोट भइन्। तपाईं जस्तै हामी पागल हौं र? एक्लै खोला, नदीको किनार डुलिहिँड्ने? हाम्लाई देख्नेहरूले के भनी ठान्लान्?
यस्तै बाध्यताका बीच एक दुई दिन मात्रै भए पनि म परिवार र बच्चाको खुसीको लागि मेला पुग्ने गरेको छु।
विगत केही वर्षयता दाङको तुलसीपुर र घोराहीमा लाग्दै आएका मेलाका दृष्य बडा गजबका लाग्थे। चिनिएका जति उद्योगी, व्यवसायी,जनप्रतिनिधि,राजनीतिक दलका नेता कार्यकर्ता कसैले पनि प्रवेशका लागि टिकट काट्दा रहेन छन्। उनीहरूले टिकट काट्नु पर्दौ रहेन छ तर, आम मान्छेहरूले भने त्यस्ता मेला महोत्सव प्रवेशका लागि अनिवार्य टिकट देखाउनै पर्ने बाध्यकारी नियम हुन्छ।
बिहानभर बजारमा सागको मुठा बेच्ने, सडकमा मकै पोल्ने, दूध बेच्नेहरूमाथि स्वयमं सेवकका नाममा प्रवेशद्वारमा खटाइने चुन्द्र मुन्द्रेहरूको व्यवहार झनै उदेगलाग्दो हुँदो रहेछ। हेपाहा र मिचाहा प्रवृत्ति सोझा साझामाथि मात्रै हुने रहेछ।
यहाँनेर मैले के बुझेँ भने ठूला बडा, गनिएका चिनिएका मानिसहरू पैसा नभएर हैन, आफूलाई अरूका अगाडि देखाउनकै लागि नि:शुल्क पासको व्यवस्था खोज्दा रहेछन्।
गाउँबाट आएर एउटा सागको मुठो बेच्नेले टिकट काटेर मेला महोत्सव हेर्दै गर्दा ठूला बडा भनाउँदाहरू गोजीबाट ५० रुपैयाँको पास देखाउँदै गर्वका साथ प्रवेश गरिरहन्थे।
यो दृष्यले मन पोल्थ्यो। तर, के गर्नु ? सबै अबुझ बनेपछि। ती बुज्रुकहरू सायद आम मानिसका अगाडि नियम कुल्चेर, मिचेर कसैको रोकटोक बिना शानका साथ भित्र प्रवेश गर्नुलाई उनीहरू आफ्नो इज्जत प्रतिष्ठा वृद्धि भइरहेको ठान्दा हुन्।
प्रवेशद्वारमा बस्ने मध्येका प्रहरीका मान्छे हुन वा कुनै स्वयम सेवक उनीहरूलाई सर वा दाइ भनेर सम्बोधन गरिदिँदा त झनै उनीहरूका खुट्टा जमिनमा हुँदैन थिए होला।
आफूलाई बेग्लै ग्रहको मानिस ठान्दा हुन्। कति भद्र भलादमी भनाउँदाहरू त त्यस्तै स्वागत र स्वस्तिगान पाउनकै लागि दिनमा चार पाँच पटक मञ्चमा आउजाउ गरिरहँदा रहेछन्।
त्यस्ता प्रवृत्तिका मानिसहरूले पहिलै एमसी कर्तासम्म आफ्नो सम्मानमा तलमाथि नहोस् भन्ने कुरा खबरदारी गरिसकेका हुँदो रहेछन्।
समय समयमा आसन ग्रहण गराउनुपर्ने नाम उच्चारण गरिरहनु पर्ने? के कारण हुन्छ? भन्नेबारे एक जना उद्घोषकले त्यसलाई आफ्नो चाकडी र बाध्यता भनेका थिए।
सामान्य आम मानिसका लागि त्यो पटक पटकको नाम उच्चारण मलाई जस्तै ‘क्या बोरिङ’ को विषय हुँदो हो।
त्यहाँको नजरालाई थाती राख्दै चिया पिउनको लागि एउटा होटलमा गएँ।
स्टेजमा एक चर्चित गायक चक्र बमले धुम मच्चाइरहेका थिए। उनले 'लालकुर्ती वाली, भन साली तेरी दिदी कहाँ छ,' लगायतका गीत पस्किरहँदा स्टेट मुन्तिर नाच्नेहरूले धुलो उडाइरहेका थिए।
त्यतैबाट निस्किइन्। एक जना चिनजानकी बहिनी।
एकै सहर भए पनि उनीसँग धेरै अन्तरालमा भेट जुरेको थियो। उनी टाढैबाट मुस्कुराउँदै हात जोड्दै नमस्कार गर्दै समिप आइन्। आत्मीयता दर्साउन प्याट्ट बिस्तारै हानिहालिन्।
मलाई पनि वर्षौं पछिको भेटमा उनले दर्शाएको आत्मीयता र सम्मान भाव एकदमै प्यारो लाग्यो। सूर्य अस्ताउने अन्तिम तरखर गर्दै थियो। सन्ध्याले घुम्टो ओढाउन तरखर गरिरहँदा बमकै कारण धेरै दर्शक मेलास्थलमै रोकिएका थिए। हामी दुनियाँ छोडेर आफ्नै विगत र गाउँमा पुग्यौं। बालापनको साथी वा गाउँ पुग्दा पनि खुसी मिल्दो रहेछ भन्ने मलाई लाग्छ। गायक बम स्टेजमा ‘ओइ काजल’ गीत गाउँदै थिए।
त्यो गीतले मलाई तान्दै थियो। म गीतप्रति ध्यान दिन थाले। त्यहीबीच उनले मेरो हात च्याप्प समाइन्। र आफ्नो आँखा नियाल्न आग्रह गरिन्।
'दाइ हजुर झुट नबोल्नुहोस है। तपाईं र मेरो दिदी बीचको सम्बन्ध कस्तो थियो?'
मैले उम्कने प्रयासका साथ भनेको थिएँ– एउटा असल मित्रवत सम्बन्ध मात्रै हो।
तर, उनले मानिनन्।
'प्लिज दाइ, सत्य बोल्नुहोस् दिदी हजुरको फिदा थिई। तपाईंलाई औधि प्रेम गर्थी।'
उनलाई हाम्रो सम्बन्धको बारेमा केही कुरा अवश्य थाहा थियो। र पनि मैले एउटा मित्रवत र सामान्य मित्रताको सम्बन्ध मात्रै थियो भनेर ढाँटिरहेँ।
यतिखेर उनको गहभरी आँसु थियो। उनले दोपट्टाको सप्कोले आँसु पुछिन्।
'तपाईंको साथ छुटेपछि दिदी बर्बाद भई। पागल भई। अहिले विदेश छ। कति केटा साथी बनाई। उसले सायद यतिखेर नारकीय जीवन भोगिरहेकी होली। तपाईंसँग कहिल्यै कुरा हुन्छ कि?'
मैले 'नाइँ' भन्ने भावले मुन्टो हल्लाएँ।
त्यो यथार्थ पनि थियो। हामी सामाजिक सञ्जालमा पनि जोडिएका छैनौं।
उनी बोलिन्– तपाईंलाई भिनाजु भन्न पाएको भए आज म कति खुसी हुन्थेँ होला। मेरो मम्मीले पनि यही कुरा गर्नु हुन्छ। दिदीको टेन्सनले आज हाम्रो घर परिवार ठूलो तनावमा छ।
त्यो सुनेर अनायासै मेरा आँखा पनि रसाए।
उनैले रूमाल दिँदै भनिन्– भिनाजु आँसु पुछ्नुहोस्।
म घर आउनासाथ उनकी दिदीलाई सामाजिक सञ्जालमा खोजेँ। तर फेला पार्न सकिनँ।
एक दिन फेरि उनैसँग तुलसीपुरकै बाटोमा भेट भयो। त्यतिखेर पनि उनले उत्तिकै आत्मीय व्यवहार गरिन्।
बुढी केही पर गाडी कुरिरहेकी थिई। उनले बिस्तारै 'मेरो मनले मानेको भिनाजु तपाईं नै हो' भनिहालिन्।
म एकाबिहानै बिथोलिएँ।
फेरि घर आएर समाजिक सञ्जालमा नाम खोजेँ अहँ उनकी दिदीलाई कतै फेला पार्न सकिनँ।