क्याफेको भित्रपट्टि गेस्टको एकान्तताको लागि बनाइएको क्याबिन। होटलको मूल ढोकाबाट छिर्नासाथ अगाडिपट्टि खुला छ, हलजस्तै। खुलामा खान चाहने ग्राहक त्यही हलमै बसेर खानेकुराको मजा लिन सक्थे।
आज क्याफे खाली छ।
म एउटा क्याबिनमा बसेर भर्खर आएको बियर ग्लासमा भर्दैछु। मेरो क्याबिनको पर्दा बन्द छ। अनि बाहिर सधैं भरिभराउ हुने क्याफे आज एकान्त छ। म यी हप्ताका अरू छ दिनजस्तै एक्लै छु।
अगाडिपट्टि मान्छे र राक्षसको मिश्रणजस्तै लाग्ने आकारमा दुई वटा फ्लावर भेसल राखिएको छ। सेता न्याप्किन न्याप्किन होल्डरबाट फुत्केर भाग्न चाहे जसरी फरफराई रहेछन्।
आजकल म छिर्नासाथ दुई वटा बियर र चिकन छोइला विथ चिउरा स्थायी स्न्याक्स बनेको छ त्यसैले अब त्यहाँ के खाने भनेर वेटरलाई भनिराख्नै पर्दैनथ्यो। गएर टेबलमा बसिदिए पुग्थ्यो।
मेरो मनको अर्डर अनुसार नै खानेकुरा टेबलमा आइपुग्यो।
म बियरको पहिलो चुस्की आफैँसँग चियर्स गरेर लिन्छु र छेउमै प्लेटमा राखिएको चिउरा र चिकेन छोइलालाई एउटा फर्क चम्चाभित्र समाहित गरेर जिब्रोले टुक्राउन सुरू गर्छु दाँतको सहयोगमा।
र सधैं जस्तै म्याटमा राखिएको ग्लासको पानीभित्र घोत्लिन्छु।
त्यही बीचमा मैले एउटा फोन गरेँ र मोबाइललाई यसै बज्न छोडिदिएँ। मनमा अनगिन्ती कुराहरू खेल्न सुरू गर्छन्।
म यो क्याफे खुलेदेखि प्राय: यहाँ आइरहन्छु। सधैं भरिभराउ र झकिझकाउ रहन्छ यो ठाउँ। यहाँ छिर्दा आफ्नै घरको कुनै कोठामा छिरेजस्तो लाग्छ तर आज कतै निर्जन ठाउँमा आएजस्तो आभास भैरहेछ।
म पुन: मेरो टेबल नियाल्छु मेरो ग्लासको बियर थप गाढा बन्दै छ। सिलिङमा बलिरहेको बत्ती मधुरो हुन पुग्छ।
अझै मधुरो, झनै मधुरो, लाग्छ अब बत्ती निभ्छ। तर एक्कासि चिम उज्यालिन्छ। चहक बन्छ। तेज चहक बलेपछि झ्याप्पै निभ्छ।
***
चारैतिर अन्धकारको सन्नाटा छाउँछ।
बल्ल म होसमा आउँछु। हेर्छु अगाडि वन जस्तै लाग्ने गरी ठूला, ठूला रूख छन्, अन्धकार व्याप्त छ औंशीको रात जस्तै। कोहुउउउउउ कुकुर हो या कोही प्रेत आत्मा हो चिच्याएको भान हुन्छ। म बल्ल झस्किन्छु।
ओहो! म त साँच्चिकै कुनै घना जङ्गलमै पो रहेछु।
घना जङ्गल। कुनै टुप्पोबाट फेदतिर लम्किएका मसिना धर्को बाटो केही देखिँदैन। म हतासिन्छु। एउटा रूखको फेदमा बस्छु। पैंतालातिर केहीले घोचेजस्तो अनुभव हुन्छ।
हात लगेर छामछुम पार्छु। केही हतियार जस्तो लाग्छ। आफू अगाडि राखेर आँखाका पर्दा सकेको तन्काउँछु।
केही रातो लत्पतिएको देखेजस्तो लाग्छ। नजिकै ल्याएर सुघ्छु, रगत आलो लाग्छ, मान्छेको जस्तो।
अब भने म पूर्ण विश्वासमा थिएँ, यो एक ऐँठन हो।
मैले क्याफेको क्याबिनबाट सोचेको मेरो मानसपटलको चलचित्र मात्र हो। वास्तविकतामा म क्याफेमै छु। यो सोचाइको भोगाइ मात्र हो। म ब्युँझाउनलाई आफैँलाई चिमट्छु तर अहँ म ब्युँतिन्नँ।
अब सपनाभित्रको सपनामा पनि कहिलेकाहीँ हामी अठिएको देख्छौं, फुस्कन खोज्दा सक्दैनौं या कुनै सपनामा पछाडिबाट लखेट्दै आएको मान्छेसँग डराएर भाग्न खोज्छौं तर गोडा चल्दैनन् र त्यही गुजुल्टिन्छौं। यद्यपि यी सबै घटनाभित्र पनि सपनाका चित्र हुन् भनेर सपनाले नै भनिरहेको हुन्छ।
यो अनकंटार जंगलमा म त्यही एउटा जंगलमा छैन है भन्ने भान हुने संकेत खोजिरहेको थिएँ। तर अहँ आँखा अगाडिको अन्धकारले प्रष्ट भनिरहेको थियो यो भ्रम होइन वास्तविकता नै हो।
मैले आफैँले आफैँलाई ब्युँताउन दुई तीन झापड हानेँ, पीडाको अनुभव रियल थियो। हातमा केही धारिलो वस्तु छँदै थियो, अलिकति हात काटेर बग्दो रातो रगत हेर्ने मन भयो।
सपनामा रगत बग्छन् तर त्यस्को विपनासँग मतलब हुँदैन। मैले यति सोच्दै गर्दा हात काटिसकेँ, हातबाट रगत साँच्चिकै बग्यो र आँखाबाट त्यस्को पीडा पनि।
तर सबभन्दा बढी पिर म जङ्गलमा फसेको रहेछु भनेर पर्यो। ती क्याफेका रंगीन दिनहरू त अत्यधिक पीडाबाट अलिकति मुक्ति दिन मस्तिष्कले चलाएको शस्त्र मात्र रहेछ। अब यहाँ जंगलबाट ब्युँझिने होइन, म त क्याफेको सपनाबाट ब्युँझिएर पो यहाँ आएको रहेछु।
मेरो काटिएको हातबाट रगत निस्कनासाथ कोलाहल आवाज जङ्गलभरी व्याप्त भयो।
सायद यो जङ्गल आम जङ्गल छैन। यहाँ छिर्ने र निस्कने जङ्गलको स्वभावत नियमको पालना छैन। के गर्ने म दोधारमा छु।
कसरी यो जङ्गलको बाटो छिचोल्ने अन्योलमा छु।
जङ्गल दिउँसै त निर्जन हुन्छ झन् रातमा त कहालिलाग्दो नै थियो। मेरो मनमा रातभन्दा पनि रातभित्रमा गरिने भूतका डरलाग्दा कहानीले प्रवेश गरिसकेको थियो।
आफ्नै छाया समेत लुटेर लैजाने यो अन्धकार र त्यसमा पनि घना जङ्गलको बीच र मनमा खेलिरहेका डरलाग्दा रात्रीकालीन किवंदन्ती, एउटा मान्छेलाई डरको चरम बिन्दुमा लैजान पर्याप्त हुने नै भयो।
म बिस्तारै यताउता सर्न खोजेँ। यसो गर्दा खुट्टाले भुइँका पात सोहोर्थ्यो र सररर गरेर ती पात बज्न पुग्थे।
मलाई मेरै धड्कनको तेजसँग झनै डर लाग्न थाल्यो। यही बीचमा एक्कासि कता-कताबाट कोही मेरो हात समात्न खोजे जस्तो गर्यो। केही पलको लागि उसले मेरो हात समात्यो, मैले हात झड्कारिदिएँ।
ती हातहरू एकपछि अरू धेरै हुँदै गए म के गरूँ र कसो गरूँको दोधारमा थिएँ।
हातको हतियार नचाउन थालेँ। केहीलाई हतियारले छोएजस्तो लाग्थ्यो। नचाउँदा नचाउँदै हातको हतियार खस्यो र कतै विलिन भयो।
कोलाहाल आवाज उसैगरी चर्किंदै थियो।
कसैले मेरो हात बेस्सरी समातेझैँ लाग्थ्यो त कसैले काँधमा दबाएजस्तो लाग्थ्यो। केही धमिल धुवाँ आँखा अगाडि हावामा पौडिरहेझैं लाग्यो। मानौँ त्यो कुनै चुरोटको धुवाँ हो। त्यस्को गन्ध पनि ठ्याक्कै चुरोट नै जस्तै थियो। मैले लामो श्वास तानेँ, त्यो धुवाँ सिधै नाकका पोरामा ठोक्किँदै मुटुसम्म पुग्यो, यो चुरोट नै रहेछ। तर कसरी निस्कियो यो अनकन्टार ठाउँबाट चुरोटको धुवाँ? केही समयलाई भए पनि त्यो धुवाँले म कहाँ छु भन्ने बिर्साइदियो। म धुवाँको नशामा लठ्ठिएँ। समात्ने हातहरू एकपछि अर्को हुँदै आए।
म चलमलाउन सकिनँ। त्यही कतै तुर्लुङ्ग कसैले हातैले माथि आकाशमा झुन्डाएझैं लाग्यो। खुट्टा एक्कासि बाधिए। एकैछिनमा मेरो अगाडि खोला देखियो। ती समातेका हातले मलाई खोलामा फ्याकिदिए। नाक मुख बन्द भएपछि निस्सासिएँ र आत्तिएँ पनि। बाहिर निस्कँदा त निर्थुक्क भिजेको थिएँ। त्यही बीचमा केहीले मलाई पछाडिबाट धारिलो हतियारले प्रहार गर्यो। म बेहोस भएँ।
***
दृश्यका पर्दा उघ्रँदै गयो मैन उज्यालोतर्फ।
कैयौं दिनको निद्रा एकैदिन निदाए जसरी निदाइरहेको व्यक्तिका आखाँ अचानक खुल्छ। यताउता हेर्छ र महसुस गर्छ यो अस्पतालको इमर्जेन्सी वार्ड हो। छेउमा झ्याल छ। दायाँपट्टि फाइल, औषधि र अत्यावश्यक मेडिकल किट राखिएको टेबल छ। सबै कोठाको अवलोकनपश्चात् आफैँलाई निहाल्छ। ऊ हरियो कपडामा बेडमाथि पल्टिरहेको छ। हातमा ब्याण्डेज बाँधेको छ। शरीरका अन्य भागमा समेत चिथोरे जस्तो डाम छन्। उसलाई क्याफेमा बसेर बियर खाएपछिको पल याद छैनन्। ऊमाथि के भैरहेछ उसलाई थाहा छैन।
हो त्यो ऊ मै थिएँ। म यो हुँ भनेर थाहा पाउन ब्युँझेपछि केही समय लाग्यो। तर कसरी म यहाँ मनमा अनेक प्रश्नका भेल बगिरहेछन्।
एकैछिनमा दादु आउनुभो। उहाँको खास नाम घनश्याम हो। हामीभन्दा अग्रज उहाँलाई मायाले बोलाउँदा दाजु दाजु भन्दा भन्दै दादु रहन गयो।
दादु हातमा जुसको प्याकेट बोकेर आउनु भएको थियो।
'कस्तो छ तिम्लाई?' दादुले चासो दिएर सोध्नुभयो।
'जङ्गलबाट हस्पिटल कसरी आए दादु?'
'जङ्गलबाट ? कुन जङ्गलबाट ?,' दादु अचम्मित देखिनु हुन्थ्यो।
'के भाको हो दादु मलाई ? म कहाँ थिए ? अनि यहाँ कसरी आइपुगेँ ? म कति दिनदेखि यहाँ छु?,' मेरो दिमाग खलबलियो।
'म भन्छु सबै कुरा पहिले यो जुस खाऊ त।' दादुले छेउको टेबलमा राखेको ग्लासमा जुस भरेर मतर्फ इशारा गर्नुभयो।
म उठेर ढाडलाई सिरानीको आडेस लगाएँ र दादुको कुरा सुन्न आतुर भएँ।
'कुरा हिजो साँझको हो तिम्ले मलाई फोन गरेका थियौ र एक्कासि बोल्दा बोल्दै तिम्रो स्वर परिवर्तन भयो मानौं तिमी निदायौ। मैले धेरै पटक तिम्लाई बोलाएँ। तिम्रो आवाज आएन। मलाई शंका लाग्यो कतै तिमिलाई केही त भएन भनेर। म तिमी बसेको क्याबिनमा आइपुगेँ। तिम्रो अगाडि बियरको ग्लास थियो। हातमा फर्क चम्चा।तिम्रो देब्रे हात काटिएको थियो र त्यहाँबाट रगत झरिरहेको थियो। रगत रोक्नलाई तिम्रो हात समात्न खोज्दै थिएँ खै तिम्ले के सम्झियौ बेस्सरी कराउँदै त्यो चम्चाले मप्रति प्रहार गर्यौ मेरो हातमा छोइयो तर केही भने हुन पाएन। त्यसपछि मैले त्यहाँको साहुजीलाई बोलाएँ। हामी दुई जना फेरि क्याबिनमा छिर्यौं। तिम्ले हातमा सल्किएको चुरोट लिएर बसेका थियौ र बेस्सरी नाकले धुवाँ तान्दै थियौ। अघिको चम्चा भुइँमा खसेको थियो। हामीले तिम्लाई धेरै पटक झकझकायौं तर तिमी कुनै नयाँ संसारमा पुगे जस्तै देखिन्थ्यौ। होशमा आउँछौ कि भनेर ग्लासमा भएको पानीले पनि छ्याप्यौं, ब्युँझिएनौ।
साहुजीले त्यहाँ काम गर्ने अरू एक दुई जना बोलाउनुभयो र तिम्लाई समातेर हस्पिटल ल्यायौं। केही समय त डाक्टरले पनि यो समस्याको बारेमा बुझ्न सकेनन् र धेरै बेरपछि एउटा इन्जेक्सन लगाइदिए। त्यसपछि तिमी हिजो राति यहीँ हस्पिटलमा निदायौ। अहिले बल्ल होसमा आएका छौ।'
यसको मतलब म क्याफेबाट यहाँ ल्याइएको रहेछु। जंगल मेरो भ्रमको नतिजा मात्र रहेछ। जङ्गलमा भए भनेका घटनाक्रम क्याफेको क्याबिनभित्र भएका रहेछन्। मैले मनमनै वास्तविकता र मनको भ्रमबीचको रहस्य सोचेँ।
'एक्कासि किन यस्तो भएको दादु मलाई? डाक्टरको केही रिपोर्ट आयो?'
'रिपोर्ट आएको छैन अब केही समयमा डाक्टर आउनुहुन्छ होला।'
अब मलाई रिपोर्टको पर्खाइ थियो। त्यो पर्खाइ त्यति लामो भने भएन केहीबेरमै सेतो गाउन बाहिर स्टेथेस्कोप झुन्डाएका अनि एउटा हातमा फाइल बोकेका डाक्टर मुसुमुसु हाँस्दै आइपुगे।
'गुड मर्निङ मिस्टर सुदिप।' डाक्टर मुस्कुराउँदै मेरो नाम पुकार्दै थिए।
'गुड मर्निङ डाक्टर।' मलिन जबाफ फर्काएँ।
'डाक्टर ...' म केही सोध्न खोज्दै थिए। मनको प्रश्न बुझे जस्तै गरेर उनले बीचमै रोके र भन्न सुरू गरे।
'आई नो युर कोइसन मिस्टर सुदिप। रिपोर्ट आइसकेको छ। तपाईंलाई एउटा अनोठो रोग लागेको देखिन्छ। कुनै ग्रेन लाइक चिउरा जस्ता खाद्य पदार्थमा विभिन्न खालका फङ्गिज हुने गर्छन्। कुनै फङ्गिजहरूले हामीलाई शारीरिकभन्दा पनि मानसिक रूपमा अट्याक गर्छ। जस्ले हेलुसिएसन गराउने, डिप्रेसनमा लैजाने काम गर्छ। विभिन्न आवाजहरू सुनेजस्तो लाग्ने, अर्कै संसारमा हराएजस्तो लाग्ने जस्ता लक्षण देखिन सक्छन्।
सायद तपाईंले त्यस्तै कुनै कुरा लगातार रूपमा खानु भएको थियो होला। मेडिकल भाषामा यस्लाई 'एर्गोटिज्म' भनिन्छ। बट नो निड टु ओरी। तपाईं राम्रो हस्पिटलमा हुनुहुन्छ। केही एन्टिडोट अनि केही दिनको मानसिक रेस्टले यु विल बि फाइन।'
यति भनेर डाक्टर उसैगरी मुस्कुराउँदै बाहिर निस्किए। म एकछिन फेरि लठ्ठिएजस्तो भएँ।
***
अगाडि बसेको दादुले मलाई झक्झकाउनु भयो।
मैले दादुलाई हेरेँ।
'कहाँ टोलाको तिमी?'
'ल आउ चेयर्स गरम।' दादुको हातमा बियरको ग्लास थियो। यता उता नियालेँ, यो त त्यही क्याफे भित्रको क्याबिन पो हो त!