खै कसरी वर्णन गरौँ? सुरुआत गर्ने ठाउँ नै छैन। हाम्रो भेट करिब ६ वर्ष अघि यात्राको क्रममा भएको थियो। हामी दुवै काठमाडौँबाट गुल्मी जाँदै थियौँ। जाने क्रममा उनी आफ्नो पारिवारिका सदस्यसँग थिइन् भने म एक्लै।
त्यो यात्रामा हाम्रो भेट भएको आज करिब ६ वर्ष भएछ। एक दिन फेसबुक चलाउँदै थिएँ, ठ्याक्कै अगाडि 'एड फ्रेन्ड' भनेर उनको तस्बिर देखियो। प्रोफाइलमा गएर हेरेँ, उनले त्यहीँ दिदीसँगको फोटो राखेकी रहिछन्। मान्छे पहिलेदेखि नै राम्री थिइन्। मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ तर तीन दिनसम्म नि एसेप्ट भएन।
एसेप्ट नभएपछि करिब दुई दिनपछि फ्रेन्ड रिक्वेस्ट मैले क्यान्सिल गरेँ। फेरि करिब दश/एघार दिनपछि पुनः अगाडि एड फ्रेन्ड भनेर देखायो पुनः एड गरेँ अर्थात् रिक्वेस्ट पठाएँ। त्यसको तीन/चार घण्टामा हामी फेसबुकमा साथी भयौँ अर्थात् मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन्। उनको दिदीले एक पटक 'हार्दिक बधाई सिस्टर स्वास्थ्य क्षेत्रमा आफूलाई अब्बल स्थापित गर्दै राम्रो नतिजा हासिल गरेकोमा' भनेर पोस्ट गरेको देखेको थिएँ।
मलाई उनी एमबिबिएस डाक्टर जस्तो लागेको थियो। त्यसैले मैले दुई दिनपछि उनको स्टोरीमा राखेको फोटोमा 'सुन्दर डाक्टर साप' भनेर म्यासेज गरेँ। एमबिबिएस डाक्टर जस्तो मान्छेले के म्यासेज रिप्लाई गर्ला जस्तो लागेको थियो तर उनले करिब एक घण्टामा 'धन्यवाद अधिकृत साप' भनेर रिप्लाई गरिन्।
म पेसाले अधिकृत नभए तापनि उनले मलाई अधिकृतको दर्जा दिएकी थिइन्। म्यासेजको क्रममा मैलै सोधेँ, 'कहाँ कार्यरत हुनुहुन्छ?' मैले ठट्यौली पारामा डाक्टर जस्तो मान्छेले पनि म्यासेज रिप्लाई दिँदा रहेछन् भनेँ। उनेले हाहा रियाक्ट स्टिकरसहित म डाक्टर हैन नर्स हो भन्ने जवाफ दिइन्। त्यसै गर्दै गर्दै हाम्रो संवाद हुँदै गयो।
यस्तै त्यस्तै कुरा भएर त्यो दिन केही कुरा भयो। उनको मेरो पहिलादेखि नै चिनजानका कारण बोल्न सहज भएको थियो। दुई/चार दिन न उनले म्यासेज गरिन् न त मैले। मलाई नर्स जस्तो मान्छे वास्ता गरिनन् भन्ने महसुस भयो। अनि मैले म्यासेज गरिनँ। एक दिन एउटा लोक सेवा पेजमा स्वास्थ्यतर्फको पढाइको भिडिओ फेसबुकमा देखेँ। एकजना भर्खरैको लगभग पच्चीस छब्बीस वर्षको सुन्दर महिलाले पढाएको देखेर मैले कमेन्ट गरेँ 'पढाई पनि सुन्दर, मान्छे पनि सुन्दर' भनेर। त्यो कमेन्टमा उनले आएर हाहा रियाक्टसहित रिप्लाई दिइन्।
मैले कमेन्टमा गरेको रिप्लाई उनको म्यासेजमा हजुर पनि सुन्दर हुनुहुन्छ भनेर रिप्लाई दिएँ। उनको त्यो रूप, व्यवहारबाट प्रभावित भएर म फुरुङ्ग भएको थिए। जसरी लियोनार्दो दा भिन्चीको मोनालिसाको चित्र 'कोमल रहस्यमय मुस्कानको लागि प्रसिद्ध' थियो उनको मुस्कान मलाई त्यस्तै रहस्यमय लाग्थ्यो। साँच्चिकै सुन्दर र शालीन।
धेरैले नर्सहरू सुन्दर हुने गर्दछन् भन्ने गर्दथे। त्यो सत्य नै रहेछ किनकि उनको सुन्दरताले प्रमाणित गरिसकेको थियो। त्यसपछि हाम्रो दिन प्रतिदिन कुराहरू हुँदै गयो, नजिक हुँदै गयौँ। मैले उनलाई भेट्ने प्रस्ताव राखेँ, उनको बागमती प्रदेशको स्टाफ नर्सको प्रदेश लोक सेवा आयोगको परीक्षा रहेछ। उनले परीक्षा दिएर आएपश्चात् भेटौँला भनेर म्यासेज गरिन्।
उनी करिब चार/पाँच दिन आफ्नो कार्य व्यस्तताले काठमाडौँ आइनन्। करिब एक हप्ता छि उनी काठमाडौँ आएर मलाई म्यासेज गरिन्, भोलि भेट्ने हो भनेर। मलाई भेट्न असाध्यै मन थियो। हामी सोही दिन काठमाडौँको वसन्तपुर दरबारमा भेट्ने निर्णय गर्यौँ। वसन्तपुरको एउटा क्याफेमा हामी खाजा खाँदै करिब एक घण्टा कुरा गरेर बस्यौँ।
मैले मेरो फ्रेन्ड रिक्वेस्ट किन एसेप्ट नगरेको भनेर प्रश्न गरेँ। उनले मुसुक्क हाँस्दै दुई/तीन दिनमा एसेप्ट गर्ने भनेर नगरेको तर पछि रिक्वेस्ट क्यान्सिल भएछ भन्ने उत्तर दिइन्। मैले पछि किन एसेप्ट गरेको भनेर प्रश्न गरेँ। उनले फेरि रिक्वेस्ट क्यान्सिल हुन्छ भनेर उति बेलै एसेप्ट गरेको भन्ने उत्तर दिइन्।
उनले मलाई सोही दिन 'तपाईंलाई एउटा कुरा थाहा छ?' भनेर प्रश्न गरिन्।
मैले 'के भन्नु न?' भनेर प्रश्नको जवाफ बुझ्न खोजेँ।
उनलाई निजामती ड्रेस भनेपछि अति नै मन पर्ने रहेछ। मैले मेरो फेसबुकको प्रोफाइलमा सेतो सर्ट, निलो कोट र कार्डसहितको फोटो राखेको थिएँ। उनले मेरो रिक्वेस्ट एसेप्ट गर्नु अगाडि मेरो प्रोफाइलमा गएर त्यो फोटो हेरेकी रहेछन्। अनि सेतो सर्ट, निलो कोटबाट प्रभावित भएर एसेप्ट गरेकी रहिछन्। सोही दिन करिब एक घण्टापछि हामी छुट्टिने निर्णय गर्यौँ।
उनी कालिमाटीमा बस्ने रहेछन्। म पनि त्यहीँ क्षेत्रमा बस्ने हुँदा मैले त्यहाँ पुर्याइदिएर म ताहाचल फर्किएँ। दिन प्रतिदिन कुरा हुँदै गयो, हामी झन् नजिक नजिक भएको महसुस हुँदै गयो। करिब दुई हप्ता हामी कुरा गर्दै गयौँ। अनि दोस्रो भेटमा हामी पशुपति आरती हेर्न जाने योजना बनायौँ। करिब दुई घण्टा हामी पशुपतिको आरती स्थलमा बस्यौँ। धेरै कुरा गर्यौँ।
उनीसँग मैले विगतका कुरा गरेर नजिक हुन खोजेँ। हामी त्यहाँ कुरा गर्दै केही फोटाहरू खिच्यौँ र त्यहाँबाट निस्क्यौँ। मैले उनको घर पुर्याइदिएर रुममा गएँ।
मलाई उनको हरेक बानी मन पर्दै जान लाग्यो। सधैँ सँगै हुन पाए हुन्थ्यो जस्तो महसुस हुन्थ्यो तर त्यो सम्भव थिएन। म दिउँसो कार्यालयमा जाने गर्दथेँ, समय मिल्दैन थियो। उनी पनि लोक सेवाको तयारी गर्दै थिइन्। उनले पढ्दै जागिर गर्ने निर्णय गरिछन्। उपत्यका बाहिर करारमा जागिर खान जाने निर्णय गरिन्। भोलि जाने आज जस्तो हामी पुनः भेट्ने निर्णय गर्यौँ।
शनिबारको दिन थियो। समय पनि प्राप्त थियो। हामी करिब चार/पाँच घण्टा जति स्विट्जरल्यान्ड पार्क अर्थात् कालु पाण्डे डाँडामा गयौँ। उनलाई मैले भेट हुँदा पटक पटक सोध्ने गर्दथेँ- नर्स किन राम्रा हुन्छन्? तर उनले त्यसमा आफ्नै पीडा छन् भन्ने गर्थिन्।
मैले कस्ता पीडाहरू भनेर सोधेँ। उनले मुसुक्क मुस्कुराउँदै, बिरामीको सेवा गर्दा छुट्टै आनन्द हुन्छ तर सेवा सुविधा तलब भने एकदम कम, आवश्यक इक्युपमेन्टलाई छैनन्, हस्पिटलमा सिनियर नर्सले जुनियरलाई गर्ने व्यवहार, हेर्ने दृष्टिकोण फरक हुन्छ, हेपाहा प्रवृत्ति बढी हाबी हुन्छ। त्यसले गर्दा काम गर्न मन नलाग्ने, जागिर छाडेर बिदेसिने मन लाग्ने जस्ता कुरा गर्दा मलाई अलिकति नराम्रो महसुस भयो।
यति सुनिसकेपछि मैले उनको विगत कोट्याउन चाहिनँ। तीन/चार घण्टाको बसाइँ आधा घण्टा जस्तो नि लागेन। समय बितेको पत्तो नै भएनछ। मलाई उनी साह्रै मन पर्थ्यो। मैले धेरै कुराहरू उनलाई प्रस्तावको रूपमा राखेँ तर उत्तर भने सकारात्मक पाइनँ। उनी साँच्चिकै सुन्दर र व्यवहारिक भएका कारण म उनीप्रति आकर्षित थिएँ। हामी बोल्दै गयौँ। उनी उपत्यका बाहिर एउटा सरकारी अस्पतालमा कार्यरत भएका कारण हाम्रो भेट हुन सकेन। म्यासेज दिनकै हुने गर्दथ्यो।
यसै गर्दै करिब एक वर्ष बित्यो। एक दिन मैले उनलाई पुरानै प्रश्न गरेँ। उनले पनि माया गरेजस्तो र नजिक हुन खोजेजस्तो गर्ने गर्थिन्। हामी दैनिक जसो बोल्थ्यौँ।
म सरकारी जागिरे भएका कारण प्रायः कार्यालय पोसाकमा अफिस जाने गर्दथेँ। कहिलेकाहीँ हामी भेट्दा म ड्रेसमै हुन्थेँ। उनले मलाई 'सरकारी जागिर खाएर म पनि निजामती ड्रेसमा सजिन मन छ' भनेर बेलाबेला भन्ने गर्दथिन्। मैले उनलाई जागिर खान धेरै हौसला प्रदान गर्ने गर्दथेँ। आत्तिनु हुँदैन, समय आएपछि जागिर खाइन्छ, सम्झाउने गर्दथेँ। उनलाई सरकारी जागिर खाने त्यो रहर पूरा भएको हेर्ने मन मलाई पनि थियो।
हाम्रो उमेर पनि मिलेको थियो। उनी मभन्दा दुई वर्ष कान्छी थिइन्। उनको बोली व्यवहारबाट पनि प्रस्ट हुन्थ्यो उनले पनि मलाई मन पराउने गर्दथिन्। एक दिन मैलै उनलाई 'हामी बिहे गरौँ अनि सँगै लोक सेवा पढौँला' भनेँ। मलाई उनले आफू पहिलेदेखि नै रिलेसनमा रहेको उत्तर दिइन्।
मैले मुसुक्क हाँस्दै 'के गर्ने? कहाँ हुनुहुन्छ?' भन्ने प्रश्न गरेँ। उनले पेसाले उहाँ डाक्टर हुनुहुन्छ भन्ने उत्तर दिइन्।
मैले पुनः प्रश्न गरेँ- 'बिहे कहिले गर्ने त?'
'खै! यो वर्ष हुन्छ होला।'
मैले बधाई दिन बाहेक के नै गर्न सक्थेँ र!
अहिलेसम्म नि उनले बिहे गरिसकेकी छैनन्। हाम्रो सम्बन्ध अहिले पनि पहिलेको जस्तै राम्रो छ, अहिले पनि हामी कहिलेकाहीँ फेसबुकमा बोल्ने गर्छौँ।