किचडले लिचडलाई
गुनासो शैलीमा भने
‘हाम्रै डंगुरका थिग्रिएका
रस हौ तिमी
हामी लाखौँबाट छानिएका
दश हौ तिमी
शासकै किन बन्यौ?
बन्नु नै थियो शासक त
बन्दै-बन्दिनँ किन भन्यौ?
गन्हाउँदिनँ भन्थ्यौ ठुस्स
उग्र उत्पात किन गन्हायौ?
यो सुन्दर देशको हालत
किन बद्हालै बनायौ?’
लिचडले किचडलाई
लिचडै शैलीमा भने
‘हो तिम्रै डंगुरमा थियौँ
तिम्रै रस हौँ हामी
तिमी सरी साधारण हैनौँ
लाखौँ लाखमा दश हौँ हामी
तिमी डंगुर हौ किचडको
विकल्पै छैन तिमिलाई
हामी जस्ता लिचडको
हेर हामी अमर छौँ
यो धर्तीको इतिहासमा
तिम्रै डंगुरहरूको रासमा
तिमी रमाइराख तिम्रा
पोखिइरहने भडासमा
अल्झी नै रहने छौ तिमी सधैँ
झिना मसिना आशै आशमा’
(फोहरको डंगुरलाई ‘किचड’ भनिन्छ भने त्यसबाट थिग्रिएर निस्कने झोललाई ‘लिचड’ भनिन्छ।)