सपना रङ्गिन छ
आशा अधिक छ
भरोसा परदेशकै छ
त्यही भएर त एयरपोर्ट भरिभराउ छ।
स्वदेशमै हरियाली पहाड छ, प्रकृति छ
तर गोजीमा हरियो पासपोर्ट छ
प्रकृति त्यही पासपोर्टमा छ
हरियाली त्यहीँ छ
सौन्दर्यता त्यही छ
त्यही भएर त एयरपोर्ट भरिभराउ छ।
फर्की नआउला कि बाबुको पीर छ
चारैतिर साहुको तिरै तिर छ
घर जम उतै गर्ने पो हो कि
बुहारी विदेशी पर्ने पो हो कि
आमाका आँसु टप्प पुछेर
फर्की आउने कसम खाएको छ
दुवै हातले पाउ छोएको छ
त्यही भएर त एयरपोर्ट भरिभराउ छ।
थोरै जिम्मेवारी छ
तर रहर अधिक छ
त्यही रहर भित्र सपनाहरू छ
सपना आकाशमा उड्नु छ
परदेशमा गाडी गुडाउनु छ
सेल्फीले फेसबुक सजाउनु छ
त्यही भएर त एयरपोर्ट भरिभराउ छ।
ऊ कुद्दै छ सेल्फी रहरमा
सेल्फिस हुँदै जाने पो हो कि
गन्दै छ उड्ने ती दिनहरू
बुन्दैछ दिवा सपनाहरू
घर, गाडी र ऐस आरामको
विदेशी डलर, तातो गोजी
मन्द मुस्कान
यी सबै सम्झेर मन बहलाउँदै छ
त्यही भएर त एयरपोर्ट भरिभराउ छ।
सरकारहरू फेरिए
मन फेरिएन
उडेको जहाज देखियो
फर्किएका मुर्दा देखिएन
देखियो हरियो डलर
सङ्घर्ष देखिएन
बाँचे फर्कौँला, केही गरौँला
देशभक्ति सोच कुनामा राखी
कथा सबैको एकैनासको छ
त्यही भएर त एयरपोर्ट भरिभराउ छ।
आमा यता गाउँमा
खेताला खोजौली
म विदेशमा काम खोजौला
नसके वारि बाझै छोडिदेऊ
म विदेशी पैसो पठाउला
बस्दिन म सक्दिन स्वदेश
शिक्षित बेरोजगारको बिगबिगी छ
त्यही भएर त एयरपोर्ट भरिभराउ छ।