मेरो कालो दिन, बा गुमाएको दिन
मध्यरातमा बाको मृत्युको खबरले म स्तब्ध भएँ
भक्कानो फुटेर आयो, आँखामा भेल बर्सियो
मैले टेकेको धर्ती भासियो, मैले ओडेको आकाश च्यातियो
म अनि मेरा बा टाढा थियौँ, अब कहिल्यै नभेटिने भयौँ
बा म कसरी भुलौँ तपाईंले दिएको ऊर्जा, शिक्षा, उपदेश, सत्कर्मको बाटो
तपाईंले ताते ताते गरेर डुलाएको, खेलाएको
अश्रु धारा बगाउँदै, अर्ध चेतमा म
मेरा सारा खुसी लुटिएको थियो
बलेँसीमा लडेँ, घरको भित्ता छामे,
म भुइँमा बजारिएँ,
बा तपाईं सुतेको खाट सुम्सुमाएँ,
औँसीको अँधेरी रातमा टर्च बालेर यताउता हेरेँ
अहँ भेटिनँ
बा बितेको दलान, ठाउँ–ठाउँमा सिक्का र चरु
मलामी हिँडेको बाटो, डुब्न लागेको घाम
एकनासले हेरी रहेँ सपना वा बिपना!
तपाईंको शरीर जल्यो, आत्मा जल्यो
अनि मेरो आशा उड्यो, चेत उड्यो, होस उड्यो सबै सबै
मेरी आमाका राता चुरा झर्याम फुटाएको, सेतो वस्त्र
पतिको वियोगमा भाव विह्वल टोलाइरहेकी
मेरा दाजुको शिरमा सेतो टालो, निन्याउरो अनुहार,
अश्रु धाराले हातको सिरानी भिजेको
चिहिल बिहिल हामी सन्नाटा छायो
हाम्रो घरको दर्बिलो खम्बा ढलेको दिन
आशाको दियो निभेको दिन
बा तापाईंले अन्तिम श्वास फेरेको दिन
सधैँका लागि निधाएको दिन
महाभारत, रामायण, गीता लगायत थुप्रै किताब पढ्न खुब मन पर्ने हजुरलाई,
अब त्यो श्लोकको मधुर स्वर कहाँ सुन्नु बा? मैले कहाँ सुन्नु?
बा साँच्चै सुन्दर परिवार थियो हाम्रो, एक उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो
तपाईं बिना अधुरो, अपुरो, घरमा शून्यता छायो
अब त्यो माया, आँट, भरोसा कसले दिने?
निःस्वार्थ तपाईंसँग थियो
दाजुभाइ, इष्टमित्र, नरनाता, आफन्तको सान्त्वनाले
बाँच्नका लागि आधार बनाइदियो
अब तपाईंको चिनो स्वरूप, तपाईंले बनाएका संरचना
तपाईंले रोपेका थुप्रै रुख बिरुवाहरू
तपाईंले दिएको शिक्षा, संस्कार, सीप, क्षमता, दक्षता छ त्यसैलाई शिरोपर गर्नेछु
आरु फुलेका बेला तपाईं भमरा झैँ आइरहनू
म मेरै बा आएको अनुभूति गर्नेछु
म आशीर्वाद मागिरहनेछु
अँधेरी रातको चम्किलो तारा तपाईं, निलो आकाशले घुम्टो मारिरहोस्
बा आशाको किरण छरिरहनू है
यो संसारी मायाबाट बिदा लिनुभयो नि
तर यही हावा, बतास र बादलमा घुमिरहनू है
आफू भोकै बसेर मेरो पेट भरिदिनु भयो
मैले खान दिने बेला तपाईं कता जानुभयो बा?
तपाईं कता जानुभयो?
आफू नाङ्गै बसेर मेरो आङ ढाकिदिनु भयो
मैले लगाइदिने बेला तपाईं कता जानुभयो बा?
तपाईं कता जानुभयो?
बा अब शब्दमा मात्र हुनुभयो
एक्लै एक्लै टोलाउन जानेँ, एक्लै एक्लै भौँतारिन सिकेँ खै के सिकेँ
आज ४५ औँ पुण्य तिथि
तपाईं जस्तै सकारात्मक सोच भएको व्यक्तिको जन्म होस्
तपाईंको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस्
हार्दिक श्रद्धाञ्जली बा, हार्दिक श्रद्धाञ्जली।