कोरोनाले लगभग एक वर्ष पूर्ण ठप्प पारेपछि क्याम्पस भर्खर सुरु भएको थियो। क्याम्पसमा भर्ना भएपछि एक/दुई हप्ता मात्रै भौतिक कक्षा भएका थिए। त्यसपछि लकडाउन। झन्डै एक वर्षपछि क्लासमा पुग्दा आफू सँगैका साथीहरू पनि मास्कले नयाँ लागिरहेका थिए। मंसिरका सुरआती दिनहरू भएकाले चिसो सुरु भइसकेको थियो। सबैजना चुरोट पिएर धुवाँ फालिरहेका जस्ता देखिन्थे। क्लासमा केटाहरूको संख्या औँलामा गन्न सकिने थियो भने केटीहरूको संख्या गन्नमा गाह्रो नै थियो। धेरै अपरिचित थिए भने थोरै परिचित।
केटाहरू अब कसलाई लाइन हान्नेदेखि फेसबुक आइडी पत्ता लगाउनेसम्मका कार्यमा बेजोडसँग लागिरहेका थिए। यो मामिलामा म अब्बल थिएँ। फेसबुकमा कमेन्ट र मेन्सन हेरेर कसको चक्कर कोसँग छ पत्ता लगाउनेदेखि स्टोरीमा स्टिकरले हाइड गरेर ट्याग गरेकाहरूको पोल खोल्ने जिम्मा पनि मेरै थियो। मैले गरेको अनुसन्धान र खोज लगभग सही साबित हुन्थ्यो। त्यसैले पनि यो काममा केटाहरू मलाई उछिन्ने हिम्मत गर्दैन थिए।
हामी अंग्रेजी, गणित, नेपाली र स्वास्थ्य पढ्ने गरी जम्मा ९५ जना थियौँ। हाजिर लगाउनमै सरहरूलाई हम्मे हम्मे हुन्थ्यो। आआफ्नो मुख्य विषय बाहेक अनिवार्य विषयहरू हाम्रो सँगै हुन्थ्यो। स्कुलमा छँदा पहिलो बेन्चमा बस्न खोजियो, प्लस-टुमा तेस्रो बेन्चमा सरुवा भइयो भने क्याम्पस आइपुग्दा अन्तिममा पुगिएछ। पहिलो बेन्चदेखि लास्ट बेन्चसम्म पुग्दाको अनुभव फरक फरक थियो।
स्कुलमा छँदा पढन्ते भएर पहिलो बेन्चमा बसियो। प्लस-टुमा पुग्दा विद्यार्थीको चापका कारण तेस्रो बेन्चमा पुगियो। क्याम्पसमा सबैमा नजर दगुराउनकै लागि भए पनि लास्टमा बसियो। लास्टमा बस्नुका धेरै फाइदा हुन्छन्। एउटा त को के गरिरहेको छ, त्यो सबै हेर्न पाइन्छ। अर्को सितिमिति सर पछाडि आउँदैनन्, ढुक्कले बस्न पाइन्छ। म अन्तिम बेन्चको भरपुर फाइदा लिइरहेको थिएँ।
अरूभन्दा पनि अनिवार्य अंग्रेजीको क्लास रमाइलो हुन्थ्यो। सरले गजब पढाउनु हुन्थ्यो। अंग्रेजीको क्लास म अक्सर छुटाउँदैन थिएँ। त्यो दिन पनि म लास्ट कुर्सीमा बसेर सरलाई सुनिरहेको थिएँ। पछाडिको ढोकाबाट 'मे आई कम इन सर' को आवाजले सबैले पछाडि हेरे। म त लास्टमै थिएँ, मैले पनि नियालेँ।
सेतो जुत्ता, कालो पाइन्ट, कालो ज्याकेट र सेतो टोपीमा सजिएर उनी भित्र आउन सरको अनुमति कुरिरहेकी थिइन्। सरले भित्र आउन भन्नुभन्दा पहिले मैले झट्ट कुर्सी नियालेँ। संयोगले अन्तिम लाइनमा एकजना म मात्रै थिएँ। मेरो छेउको कुर्सीमा मेरो झोला थियो। धुलो पुछेर मैले झोला राखेको थिएँ। अन्य कुर्सीहरू धुलोले धमिलिएका थिए।
म उनी मेरो छेउमा बस्छिन् भन्ने लगभग ढुक्क थिएँ। उनी आइन् र अगाडि हेरिन्। अगाडि पनि एक/दुई वटा कुर्सीहरू खाली रहेछन् तर अगाडि जाने ठाउँ थिएन। मैले त्यो दिन थाहा पाएँ, दुई वटा ढोका हुनुको कारण। उनी आएर छेउको कुर्सी पुछ्न थालिन्। मैले झोला उठाएर काखमा समातेँ। उनी मेरो छेउको कुर्सिमा बसिन्।
यदि त्यो बेला कसैले सर्वेक्षण गर्थ्यो भने म संसारकै खुसी व्यक्तिको शीर्ष स्थानमा हुन्थेँ। केटाहरूले कागती निचोरेको जस्तो अनुहार पारेर मलाई अमिलो अनुहार बनाएर हेरे। उनी चुपचाप सरको पढाएको सुन्न थालिन्। मेरो आँखा सरतिर थियो भने ध्यान उनीतिर।
उनी प्लस-टु हामीसँग पढेकी मध्ये थिइनन्। महेन्द्र नमुना माविबाट क्याम्पस आएका अक्सर सबैलाई म चिन्थेँ। उनी खलंगामा नयाँ हुन् भन्नेमा मलाई दुई मत भएन। पिरियड सकियो, सर गए। स्कुलमा चुटाइ खाएर रन्थनिएर भित्र बस्नेहरूलाई क्याम्पसमा मजा थियो। धेरै जना सरकै पछि बाहिर गए। मेरो बाहिर जाने बानी थिएन, म भित्रै बसेँ।
'तपाईंको मेजर सब्जेक्ट के हो?' मैले बोलीमा भरपुर मिठास ल्याएर सोधेँ।
'स्वास्थ्य' उनले एकै शब्दमा उत्तर दिइन्।
'अनि तपाईंको?' प्रश्न सोध्ने पालो उनको थियो।
'अंग्रेजी' मेरो उत्तर पनि अति संक्षिप्त भएर गयो।
'तपाईंको नाम?' मैले न्वारनदेखिको बल लगाएर सोधेँ।
'सिर्जना' उनको उत्तरले मैले थाहा पाइसकेको थिएँ, उनी अपि हिमाल कि हुन् भनेर। र पनि सोधिहालेँ, 'अनि घर कता हो नि?'
'अपि हिमाल' मैले सोचेकै उत्तर उनले दिइन्। यति संवाद हुँदै गर्दा अर्को विषयको सर आइपुगे। हामी फेरि चुपचाप भयौँ।
दिनहरू यसरी नै बित्न थाले। मध्य मंसिर भएर होला चिसो अति नै थियो। क्लासहरू बिहानकै थिए। क्लासहरू अधिकांश रित्ता हुन्थे। म नियमित नै थिए। दिन बिराएर सिर्जना पनि आउँथिन्। उनका साथी कोही बनेका थिएनन्। मेरा साथी त थिए तर म अरूबाट एक्लिएर उनीसँगै बस्थेँ क्लासमा। सिर्जना मेरो नोट बुक लग्ने गर्थिन्। अरूलाई दिन आनाकानी गरे पनि उसका लागि म कुनै नाइनास्ती गर्दैन थिएँ।
हामी फेसबुकमा साथी थियौँ। अक्सर बोलिरहन्थ्यौँ अनलाइनमा। क्याम्पस न आएको दिन अनलाइनमा बोल्थ्यौँ। उनी दिनभरि गरेका कामहरूको फेहरिस्त सुनाउँथिन्। जे होस् समय अनुकूल नै बित्दै थियो।
'आज किन आउनुभएन तपाईं?' क्याम्पस सकेर घर गइसकेपछि सिर्जनाले म्यासेज गरिन्। म त्यो दिन बिहान पानी परेकाले गएको थिइनँ। अरू दिन नआउने सिर्जना त्यो दिन त झन् के आउली भनेर म गएको थिइनँ। त्यसै दिन गएर बिताइछे।
'तपाईं आउनु हुन्न सोचेर नगएको,' मैले हल्का दाँत देखाएको स्टिकरसहित रिप्लाई गरेँ। म्यासेज सीन भयो।
'भन्नु पर्छ नि जान्न भनेर, म एक्लै भएँ सबै क्लासमा,' सिर्जनाले स्याड स्टिकरसहित रिप्लाई गरिन्।
'कोही आएनन् र आज? एक्लै तपाईं मात्रै हो र?' मैले सोधेँ।
'अरू भए पनि नभए पनि मलाई के? कोही बोल्दैनन्, अरू थिए तर बोल्ने कोही थिएनन्,' रिप्लाई आयो।
'अनि तपाईं किन बोल्नु भएन त?' मैले सधैँ सोध्ने प्रश्न आज पनि सोधेँ।
'उनीहरू बोल्दैनन् अनि मैले किन बोल्नु?' जवाफ आयो। '
तपाईंले सुरुमा बोले पनि हुन्छ त,' मैले सुझावसहितको रिप्लाई गरेँ।
'सुरुमा बोल्ने बानी नै छैन। तपाईंसँग पनि सुरुमा तपाईंले नबोल्नु भएको भए बोल्ने थिइनँ,' उताबाट रिप्लाई आयो।
मैले ठिकै हो भनेर कुरा सक्न खोजेँ, उताबाट फेरि म्यासेज आयो, 'आजदेखि तपाईं नजाने दिन म्यासेज गर्नुहोला नत्र..।'
मैले 'हस्' भनेर टुङ्ग्याएँ।
पुस सकिँदासम्म दिनहरू यस्तै चल्दै थिए। सिर्जना सधैँ सेतो टोपी लगाएर आउँथिन्। सेतो टोपीले उनको सुन्दरता झन् निखरता ल्याउँथ्यो। माघ सुरु भयो। सधैँ टोपी लगाएर आउने सिर्जना एकदिन टोपी बिना क्याम्पस आइन्। त्यहीँ दिन मेरा सबै खुसीहरू कहिल्यै नफर्किने गरी बाटो लागे। संसारकै खुसी व्यक्तिको शीर्ष स्थानको मान्छे म पुछारमा पुगेको थिएँ।
त्यो टोपीले मेरो सपनालाई उभ्याइदिएको रहेछ। उनले टोपी उतार्ने बित्तिकै सपनाले आत्महत्या गर्यो। यत्रो राज सिर्फ एउटा टोपीले लुकाएको थियो? के यो सब संयोग थियो? अब अगाडि के हुन्छ? जस्ता कयौँ प्रश्न एकैचोटि दिमागमा आउन थाले। उसै त थोत्रिइसकेको दिमागले यत्रो कुरा थेग्न सक्ने कुरै भएन।
साँच्ची सिर्जनाको बिहे भइसकेको हो र? म आफैँसँग प्रश्न गर्दै थिएँ। उत्तर अगाडि थियो। म भ्रममा पो छु कि भनेर आफैँलाई चिमटेँ तर उनले लगाएको सिन्दूर हटेन, झन् गाढा देखियो। कोही कसरी यति प्राइभेट बन्न सक्छ। दुई महिनामा यस्तो केही कुरा उसले गरेकी थिइन। बिहे भइसकेपछि पनि ऊ यति सामीप्यता किन खोजिरहेकी थिई? फेसबुकमा पनि उसले बिहे गरेको हो भनेर थाहा पाउने कुनै त्यस्तो फोटो थिएन।
सायद गलत म नै थिएँ कि! मैले फेरि आफैँलाई प्रश्न गर्न सुरु गरेँ। यो दुई महिनामा यति नजिक किन भएँ? घर र परिवारको बारेमा किन सोधिनँ? उनले त बताउन चाहिनन् तर म त सोध्न सक्थेँ नि! यी प्रश्नको चित्तबुझ्दो जवाफ मसँग थिएन। मैले एकचोटि फेरि हेरेँ, सिर्जनाको सिउँदो चम्किरहेकै थियो।
'के भयो तपाईंलाई किन चुपचाप हो आज?' सिर्जनाको प्रश्नले म झस्किएँ।
भन्न त मन थियो- यति ठूलो राज आजसम्म किन लुकायौ?
हुन त दुई महिना मात्रै त भएको थियो। उसले मेरो बिहे भयो भनेर भन्न आवश्यक ठानिन। मैले सोध्न आवश्यक ठानिनँ। म आफैँ उसको बिहे भएको छैन भनेर विश्वस्त भएँ। तर प्रेमले दुई महिना नभन्दो रहेछ। प्रेम हुन धेरै समय लाग्ने रहेनछ। त्यत्तिकै गीत बनेको होइन- एकै नजरमा माया बस्यो है।
'केही भएको छैन,' मैले हाँसेर उत्तर दिन खोजेँ तर मेरो अनुहार त्यति बेला हाँसो कति सुहायो होला?