त्यो खुला आकाशमा
तँ जा साथी
तँ जानै पर्छ
आफ्ना पोखहरू खोली यत्रतत्र
तैँले अब घुम्नै पर्छ साथी
एउटा यौवन उमेर
अनि झरझराउँदो तेरो बैँस
अब तैँले यी चार दिवारका
संघार भित्र हैन साथी
आफ्नो माटो उठाई
निधारमा एक चिम्टी
आमाको बढ्दो श्वास अनि बाको बढ्दो चाउरीको
निशानीसँगै टिको लगा साथी अनि
तँ झट्टै अब बाहिर निस्की साथी!
एउटा कुरा तँलाई भन्नै छ
उकालीमा जाँदा गाउँका
रानी वनहरू अनि ढोडेनी तैँले भुल्न हुन्न साथी
बढ्दै गरेका बाडुल्कीसँगै
धुमिल धुमिल भएका ती आँखाहरू
मझेरीमा लडिबुडी गर्दै दलिनबाट
तलतल पसपतेसम्म घाँटी तन्काई तँलाई
हेरिरहेकै हुनेछन् साथी
गौँडा अनि कुरङ्ग खोलाका ढुङ्गाहरूले
अरू नै कसैको खुट्टा ठोक्की ठेस लाग्दा पनि तेरा
खुट्टाका आभासहरू पर्खिनै रहेका हुनेछन् साथी
ती गेबे घट्टे अनि नारदेका तीतेपाती
इरु अनि अम्लिसोका बुट्टाहरूले तेरा हातका
अपनत्वहरू खोजी नै रहेका हुनेछन् साथी
ती बुढा बरका रुख, कुटमिरो अनि
टाँकीहरूमा सिरसिर बतास त लागी नै रहेका हुनेछन्
तर तेरा गीतका भाकासँगै मच्चिने ती बाँसका
लहरहरू तेरो आगमनमा कुरी नै रहेका हुनेछन् साथी।
तँ जानै पर्छ साथी
भर्खर लरबराउँदै लरबराउँदै हिँड्न लागेका सन्तानलाई
तैँले बामे सर्न सिकाउन तँ जानै पर्छ
वर्षा याममा भिजेका बाका कन्सिरीका पानीहरू ओभाउन
तँ अब उठी नै हाल्नपर्छ साथी
घर आँगनीमा पल्लो घरे काकाको नाति
मोटरमा पाठशाला जाँदै गर्दा तैँले नि
खाली खुट्टा पाठशाला जाँदै गरेका
सन्तानको खुट्टामा चप्पल लाइदिन
तँ अब जानै पर्छ साथी
खुला आकाशमुनि एक घुट्की
पानी गिलासमा हालेर आमालाई
औषधी मुलो खुवाउन अब तँ नजानुको विकल्प नै छैन साथी
खाली भाँडामा कम्तीमा डाडु अनि पन्युँका घण्टी लगाउन
भए नि अब तँ जानै पर्छ साथी।
सिरसिर चलेका बतासहरूसँग
शरीरमा उठेका काँडाहरू कम गर्न
अब तैँले सोच्नै पर्छ साथी
पौष मासका ठिहीमा सिऽसिऽ गर्दै
आँगनीमा ठेस लागी लडेको
भाइको घुँडो टाल्न
अब केही त गर्नै पर्छ साथी
बेलुकी गुँडमा फर्कँदा अपनत्वको यामानको
पहाड बोकी
मुखमा टुलटुल हेर्दै तेरो दुःखको साथी बनेकी
भाउजूको लाज छोप्न अब त जानै पर्छ साथी।