गत महिना
छिमेकीले घर पूजा भन्दै
सडकमै कालो पाठो ढलाए
रगतको कुलेसो बाटाभरि भयो
केही पानीले पखाले तर दाग दिनभर रहिरह्यो
‘छिमेकी हुन्, यस्तो कहिलेकाहीँ मात्र चल्छ, सहनुपर्छ’
बगलका घरवालाहरूले बोले!
सातापछि
आडैको सँधियार पुत्रको बिहे भयो
बिहेको रातभर बेतोड आवाजमा पञ्चेबाजा गुन्जाए
त्यो दिनभर छिमेकी घरका पेटी र बाटाभरि
पाहुनाको ओहोरदोहोरले सँधियारले उछार पाएनन्
र रातभर घरका जहानहरू पनि निदाएनन्
‘उत्सवमा खुसी हुनुपर्छ, बोलेर के गर्नु?’
फेरि पनि चुपचाप नबोली समर्थन दिए!
तीन दिन नबित्दै
छिमेककै अग्लो घरवाला छोरीको
हेप्पी बर्थ डे पार्टी चल्यो
डिस्को, भेज, ननभेज सहितको ड्रिङ्क्स र पाटी चल्यो
मध्यरातमा पेटीभरि केहीले छादे
पेन्ट गरेर २ दिन नबितेको भित्ताभरि पिसाबका रेखी लगाए
फोहोर गराइएका घरवालाहरूले सबेरै उठेर सफा गरे
‘सहरी जीवन हो, सहनुभन्दा के नै विकल्प छ र?’
पुनः बर्थ थे पार्टीको पनि प्रशंसै गरे।
आज
छिमेकीले सम्झिए
भूकम्प जाँदा घरबाहिर मैदानमा बिताएका रात
चिसो मैदानमा झमक्क निद्रा कहिले पर्थेन
जब मध्यरात हुन्थ्यो भुस्याहा कुकुरहरूले
सारा बजार गुञ्जन गराउँथे भुँऽऽभुँऽऽ आवाज छितरिएर
बिहान कुरेर बिताउँथे र भन्थे
‘रातको ड्युटी गरेका होलान्, बरु छिट्टो बिहान भए हुन्थ्यो!’
ती दिनहरूलाई पनि गुनासो नगरी पचाए।
‘सहरी जीवन, सहरी छिमेक सबैको यस्तै हो
कसैको के कसैको अनेकानेक बहानामा शान्ति छैन
ध्वनि, प्रदूषण, कोलाहल, किचलो सबै सहनुपर्छ!’
छिमेकीले छिमेकीसँग बात मार्दै चित्त बुझाउँथे
किनकि
शान्ति, सुरक्षा र अवसर देखेरै उनीहरूले
यही बजार रोजे, बजार बसे र बसाइँलाई
कत्ति अफ्ठेरो बनाएनन्
निरन्तर निरन्तर!