चैत, वैशाखको उखर्माउलो गर्मीमा
करोडौं मुनाको मृत्यु
देखेर आफ्नै आँखा अगाडि
लाइटर, सलाइ र ठुटाहरूको विरूद्धमा
कुन अदालत जाने होला?
न्यायको खोजीमा
दोषी कसलाई ठहर्याएका छौ
ए, सत्ताका ठेकेदारहरू हो
पर्यावरणका अभियन्ताहरू
अग्नि ज्वालाको रूप देखीदेखी
किन मौन छौ?
हरिया महाभारत पर्वतको
पत्झर वनहरूबाट
सालको पात टिपेर लगाउनु छ टपरी,
सम्पन्न गर्नु छ भतिजको बरेत र सानिमाको श्राद्ध समेत
सोत्तर ल्याएर गोठमा
गाईलाई ओभानो बसाल्नु छ
साथमा बनाउनु छ मल
मल बनाएर बारीमा मकै, गहुँ उब्जाउनु छ
गर्न बाँकी नै छन् यी सबै काम
बिडम्बना आगलागीले
वनभरिको सालको पात खरानी भएछ
सल्लाको खोटो तानेर
बनाउनु थियो अलकत्रा र सौन्दर्यका सामग्री
हुनु छ सुन्दर साथमा बाटोको मुहारमा
पोत्नु छ कालो मोसो
देखाउनु छ गाउमा विकास
समथर तराईका चारकोसे झाडीहरू
सदावहार भीमकाय वनहरूबाट
निकाल्नु थियो घरको धुरी बलो
कार्बन उत्सर्जन घटाउनु थियो
वनको बहुसरोकारको माध्यमले
पर्यापर्यटनलाई फस्टाउनु थियो
यति मात्र कहाँ हो र!
हिमालका कोणधारी वनहरूमा
बुट्यान झाडीहरूका साथै
पाटन मैदानहरूमा
सञ्जिवनी जडिबुटीहरू
गुचिच्याउ, पाँचऔंले, सतुवा, यार्चागुम्बा आदिआदि
एकसाथ खरानी भएको छ
आज मेरो समृद्धिको सपना सकिएको छ
आगोको लप्काको शिकार भएर
हरियाली बदलिएको छ
उजाड पाखोमा रूपान्तरण हुँदै
सबैतिर धुवाँको साम्राज्य छ
सूर्य देवता र अग्निनारायणको विपक्षमा उभिएर
मलाई भन्न मन छ
धर्मका ठेकेदारहरूलाई
के खरानी मात्र उपलब्धि हो सृष्टिको!
ए, वातावरणविद हो
वन मासेको अभियोगमा कसलाई कारबाही गर्नु हुन्छ?
कुन अदालतमा मिसिल र फिराद बुझाउनु हुन्छ
कार्बन उत्सर्जन रोकिएको छ
अन्तर्राष्ट्रिय सन्धिको उल्लंघन भएको छ
जोगाउन सकिएन पर्यावरण चक्र
मासिएको छ कोइलीको स्वर
हराएका छन् घोरल र झारलहरू
भौंतारिएका छन बाह्रसिंगे र रतुवाहरू
तडपिएका छन्
जीवात्माहरू दानापानीको अभावमा
आफ्नैपन बिरानो बनेको देखेर
कालिज, च्याँखुरा र त्रिताहरूले डाँको छाडेका छन्
कानुनको किताबमा लेखिएको थियो
जंगलमा आगो लगाउनु गैरकानुनी काम हो
तर पनि सबैतिर आगोले साम्राज्य जमाएकै छ
डिभिजन, निर्देशनालय र मन्त्रालयले वार्षिक खर्चेको छ
लोक कल्याणकारी विज्ञापन नामको रकम
जताततै देखिन्छन्...
हरियो वन नेपालको धन
वन सम्पदाको संरक्षण गरौं
भाबी पुस्तालाई पुर्खाको नासो बुझाऔं
यस्तै यस्तै कैयन चिजवस्तुहरू
तर पनि
दिन दुई गुणा रात चार गुणाका दरले
जंगलमा आगो लागिरहेको थियो
यति नै बेला नै
टेलिभिजनमा सवादको कार्यक्रम थियो
पर्यावरण, प्रकृति र हरियाली प्रवर्द्धनको विषयमा
रेडियोमा गीत बजिरहेको थियो
वनै खायो डढेलोले
मनै खायो यो मोरीको पापी मायाले...
माफ गर प्रकृति
मैले तिमीलाई जोगाउन सकिनँ
भाबी पुस्तालाई, बुझाउनु थियो पुर्खाको नासो!
(लेखक घनश्याम भण्डारी कर्णाली प्रदेश सभा सदस्य र दुल्लु नगरपालिका- ८,दैलेखका स्थायी बासिन्दा हुन्)