भन्छन् नि, धेरै पस्किनु भनेको फ्याँकिनु पनि हो। त्यस्तै भयो मेरो जीवनमा। सानैबाट अभावै अभावमा दुःखका दिनले घेर्दाघेर्दैमा बितेको मेरो बालापन सायद खुसी भन्ने कुरा मेरा लागि जमिनको कुनै सतहमा लुकेको थियो होला।
आजभन्दा करिब ३/४ वर्ष अगाडि हाम्रो पहिलो भेट अर्थात् पहिलो कुराकानी मैले एउटा पोस्टमा गरेको कमेन्टबाट सुरु भएको थियो। कमेन्ट रिप्लाई गर्दागर्दै आएको 'हाई' भन्ने म्यासेज नै उसको र मेरो संवादको सुरुआती बिन्दु थियो। त्यस दिनदेखि हामीबीच बिस्तारै कुराकानी हुन थाल्यो। हामी कति छिट्टै एकापसमा घुलमिल भयौँ, लाग्यो कि ऊ र मबीच वर्षौँ पुरानो आत्मीयता छ।
हामी दिन प्रतिदिन एकअर्काको नजिक हुँदै गइरहेका थियौँ। म पूर्वी नेपालकी, ऊ पश्चिम नेपालको। हाम्रो प्रत्यक्ष देखभेट थिएन तर पनि निकै नजिकको साथी जस्तै भएका थियौँ एकअर्काका लागि। बिस्तारै ऊसँगको मेरो निकटता बढ्दै जान थाल्यो। एकदिन ऊ नबोल्दा मलाई शून्य लाग्थ्यो। बोल्न त अरू पनि थिए तर तिर्खाएको कागलाई पानी नै चाहिन्छ, जुसले हुँदैन। मलाई त्यस्तै हुन थालिसकेको थियो।
बिस्तारै दिन, महिना गर्दागर्दै वर्षौँ पुगेछ हाम्रो संवादको यात्रा पनि। हाम्रो भिडिओ कलदेखि च्याटसम्मका यात्रा हामीसँगै लम्किरहेका थिए। कुराकानी भएको ७/८ महिनापछि हाम्रो पहिलो भेट भयो। कहिले केटा मान्छेलाई भेट्न भनेर ननिस्किएकी म उससँगको पहिलो भेटमा साह्रै लजाएकी थिएँ। आज पनि त्यो पल मेरो आँखामा आएर घुमिरहेको हुन्छ। त्यो दिन मलाई खुब याद आउँछ।
भिडिओ कलमा उसलाई जितेर बोल्न सक्ने म ऊ नजिक पर्दा केही बोल्न नसक्ने, कता-कता आत्तिएकी जस्तो भएकी थिएँ। त्यो हाम्रो पहिलो भेट छोटो तर सधैँलाई यादगार रहेको छ। त्यो भेटपछि हाम्रो निकटता दिन प्रतिदिन झन्-झन् बढ्दै जान थाल्यो। पछि पनि समय मिलाएर हाम्रो १/२ पटक भेट भएको थियो। ऊ र मबीच जति पटकको भेट उति नै सामीप्यता बढ्दै गइरहेको थियो।
तर दैवको खेल भनौँ या भावीको लेखाइ के हो? थाहा भएन, हामी आज एकअर्कादेखि टाढिएका छौँ। मलाई लाग्छ, अधिक चाहेर पनि नपाएको माया र पाएर पनि गुमाएको व्यक्तिको याद कहिले नहराउँदो रहेछ मनबाट। निकै दुःखका साथ खर्च गर्ने गरेकी छु उसका यादहरूलाई, कतै कम पर्ने हुन् कि भन्ने डरमा।
घरमा राखेका भाँडाकुडा (निर्जीव वस्तु) ले त आवाज निकाल्छन्, हामी त मानव हौँ। यसैले पनि कहिलेकाहीँ खटपट परी नै रहन्थ्यो। एकदिन हामी सदाझैँ राम्रै कुरा गरी बाई भनेर छुट्टिएका थियौँ। त्यस बिहानदेखि ऊ फेरियो या उसको मन फेरियो, खै पत्तै भएन! त्यसपछिका दिनमा न त उसको फोन नै आयो, न त म्यासेज नै! मैले उसलाई गरेका म्यासेजहरूको पनि मैले एकोहोरो उत्तर पाएँ।
प्रेम कसरी सफल हुन्छ? कसरी असफल हुन्छ? त्यसको मापन कसरी गर्ने? यदि मापन नै गर्नपर्यो भने हाम्रो प्रेम सफल भयो वा असफल? यदि असफल नै भएको थियो भने पनि कहाँ, किन र कसरी भयो? म यी प्रश्नहरूको उत्तर खोजिरहेकी छु। हाम्रो प्रेम गङ्गाको जलभन्दा पनि पवित्र थियो। किनकि त्यो मेरो पहिलो प्रेम थियो। यदि प्रेम गलत थिएन भने म पनि गलत थिइनँ अनि मेरो प्रेम, मैले उसलाई गरेको माया, ऊसँग गरेका प्रणहरू, ऊसँग देखेका सपनाहरू त झन् गलत हुन सक्दैनन्। गलत र झुट्टा त उसले मलाई गरेका वाचाहरू रहेछन् जसलाई उसले बिरुवामै उखेलेर फालिदियो।
एकदिन उसले मलाई तिमीलाई कहिले पनि रुन दिने छैन भनेको थियो। उसले भनेको उहीँ कुरा सम्झिन्थेँ अनि रातभर रोइरहन्थेँ। यो कस्तो वाचा थियो उसको, मैले बुझिनँ या उसले बुझाएन मलाई! म कसरी आफ्नो दैनिकी बिताइरहेकी थिएँ केवल म भोग्नेलाई थाहा छ। सबैसँग सधैँ हाँसी खुसी कुरा गर्ने म कसैसँग राम्रोसँग बोल्न पनि नसक्ने भइसकेकी थिएँ। मेरो शरीर त्यतिसम्म कमजोर भएको थियो। म आफूलाई सबैभन्दा कमजोर भएको महसुस गरिरहेकी हुन्थेँ, तर मेरो मस्तिष्क अझ बढी परिश्रम गर्दै थियो, मैले बिर्सन खोजेकोलाई पनि पुराना पुराना यादहरू सम्झना गराइराखेर।
मसँग मेरो भौतिक शरीर मात्रै बाँकी थियो। मेरो हाँसो, खुसी अझ भनौँ मेरो आत्मा सबै उसैले लिएर गएको थियो। म केवल जीवित लास जस्ती भएकी थिएँ। मलाई सम्झना छ, मेरो गल्तीमा पनि म आफैँ रिसाउँदा मायाले फकाउने गर्थ्यो उसले तर आज कसरी ऊमा यस्तो परिवर्तन भयो म अचम्ममा छु। मैले कहिले सोचेकीसम्म पनि थिइनँ उसको मन यसरी बदलिएला भनेर।
उसले एक्कासि मन फेर्यो, टाढियो। न गुनासो गर्न पाएँ ऊसँग। आज पनि झस्काइरहन्छन् उसका ती आजीवन प्रेमिल मिठा झुटहरूले। साह्रै कठिन हुँदो रहेछ यादहरूको तुफानले मनमा भुमरी चलाउँदा बाहिरी मनलाई शान्त बनाएर राख्न, अनि प्रकट गर्न खोजेका धेरै कुराहरू मनमनै गुम्साएर मौन रहिरहन। मेरा रातदिन बगेका आँसुले प्रमाणित गर्न नसकेको ऊप्रतिको प्रेम मेरा शब्दहरूले प्रमाणित गर्न सक्दिनँ।
मैले यसरी लेखिरहँदा गल्ती उसको मात्रै थियो र म सही थिएँ हाम्रो सम्बन्धमा भन्न खोज्दिनँ। सायद उसले शंका गर्ने बाटो मैले राखेकी थिएँ। तर पनि म एकदमै सत्य थिएँ। म चिनी जस्तै घुल्ने बानी परेकी तर जमाना सुगर फ्रीको रहेछ, म सोझीलाई के थाहा! भन्छन् जुन सम्बन्धमा शंकाले जरा गाड्छ त्यो सम्बन्ध ढिलो चाँडो ढल्छ भनेर, हाम्रो पनि त्यस्तै एकअर्काको अविश्वासले नै सम्बन्ध मेटिएको हो। 'माया पुतली जस्तो हुँदो रहेछ! मुट्ठीमा कैद गरूँ मर्ला भन्ने पीर, उड्न दिऊँ त नफर्केला भन्ने डर।'
देखावटी माया देखुन्जेलसम्मलाई मात्रै हो तर मनको माया सास रहुन्जेलसम्मको लागि हुन्छ। कहिलेकाहीँ म आफैँ झस्किने गर्छु, म कहाँ जाँदै छु? हिजो ऊसँग हाँस्दै हिँडेकी म आज रोदनमय भएको छ जीवन। आँसु पुछ्ने हात उसकै थियो, अब त्यो हात मसँग रहेन। मैले रोजेको बाटो किन सर्वमान्य छैन कुन्नि! यो सम्बन्धको होडबाजीमा म कहाँ अल्झिरहेछु पत्तै पाइनँ।
मैले उसलाई मेरो प्रेम बुझाउन जानिनँ होला, सकिनँ होला। तर म उसलाई निःस्वार्थ प्रेम गर्थेँ। म चारो खोज्दै उडेकी भँगेरी जस्तै थिएँ, उसले मायाको बीउ छरेर नजिक बोलायो अनि पिँजडामा कैद गरी छाडेर गयो। लाग्थ्यो मलाई को सही को गलत सजिलै छुट्टाउँछु म। यस्तो विचार गरेर मात्र प्रेममा पर्छु भनेर। तर यथार्थ त्यस्तो नहुँदो रहेछ।
सायद यो दूरी, यो बिछोड, यो तड्पाइ मेरो भाग्यलाई मन्जुर थियो होला। भाग्यलाई नै हाम्रो सम्बन्ध मन्जुर भएन र आज हामी यसरी छुट्टिनु पर्यो। सायद सम्बन्धको विशेषता नै यस्तै रहेछ, हाँसेर काटेका पलहरू समयको एक दौरानपछि रुँदै याद गर्नुपर्ने रहेछ। चित्रमा लाइक गर्दै सुरु भएको हाम्रो सम्बन्ध अन्त्यमा चरित्रमा कमेन्ट गरेर सकियो।
प्रेममा भावनाको माया, बोलीचालीको माया र शरीरको माया उत्तिकै जरुरी रहेछ। हामीबीच एक सुन्दर समय थियो। जब ऊ गयो, मेरो प्राण ऊ सँगसँगै गयो। मलाई यो संसार संसार जस्तो लागेन, रातको समयको सुनसान सडकजस्तै भएर लडिरहेँ म। मैले सम्झिएँ सम्बन्धको सुरुआत, त्यो संवेगहरू, प्रेमप्रतिको समर्पण, साथहरू, सपनाको संसार अनि ती सम्भावनाहरू, उसको सरलता, उसको सहृदयी भावना, त्यो स्वार्थ बिनाको प्रेम सबै सबै सम्झिएँ अनि सम्झिएँ श्वास बिनाको मेरो शरीर। मनमनै लाग्यो, प्रेम यस्तै रहेछ।
सर्वस्व ठानेकाले नै सर्वस्व लुटेर जाँदा रहेछन्, स्वार्थ छोडेर विश्वास गरेकाले नै स्वार्थ हरेर शोषण गर्दा रहेछन्। सत्य छोडेर स्वार्थको लागि सङ्घार नाघेर जानेहरूले समर्थनको समर्पणलाई सखाप पार्दा रहेछन्। उसले मलाई जाँदाजाँदै यहीँ सन्देश दिएर गयो। मैले सोचेँ, मेरो भाग्यमा प्रेमको सीमा यति नै रहेछ।