हरेक दिन रातको गर्भले
सूर्य कान्तिको तेज
जन्माउँदै गरेका बेला
कुरीति र कुसंस्कारको कालो बादलले
पोतिएको ध्वाँसो
लपक्कै दलेको समाजको आडम्बरले
रोपिँदै गरेका आशाहरू
तुहिएका छन् फेरि पनि
र जन्मिएका छन्
नजन्मिएका छोरीहरू।
समाजले, बाले, आमाले अनि सबैले
सोचेको जस्तो
स्वर्ग, नर्क खै कता कता?
पुगेका छैनन् उनीहरू
भेटेका छैनन् कसैलाई पनि
हजुरबा, हजुरआमा, मामा, ठूलोबा
हो, कसैलाई पनि
किनकि
टुटाइएनन् डोरीहरू बीचैमा
चलिरहेको छ चक्र, उहाँहरूको
कोख, काख, माया, जीवन, मृत्युको
खोजेका थिए
सरस्वती जस्ता चेलीहरूले
पनि त्यस्तै नै
तर जानी जानी
निर्दयी बनाएर मुटु
टुसाउन नपाउँदै निमोठिएका छन्
ती कलिला मनहरू
भोगाइ नै यस्तै रहेछ सायद
र,
फेरि म बन्न पुगेका छन्
नजन्मिएका छोरीहरू।
खोज्दै छन् नयाँ कोख फेरि
अमूल्य मन कतै छन् कि भनी
तर,
स्वीकार्य छैन कसैलाई
छटपटी र अन्तर्द्वन्द्वले
भौतारिरहेका छन् काली भएर
र फेरि बनेका छन्
नजन्मिएका छोरीहरू।
अन्धाधुन्ध चलेको भुमरीमा
घुमिरहँदा फनफनी
भेटिएका थिए कैयौँ दिदीहरू,
बहिनीहरू र प्यारी छोरीहरू
रुमल्लिइरहेका, अतासिइरहेका,
निरीह बनी निसास्सिइरहेका
अस्तित्वको लडाइँमा
जन्म र मृत्युको दोसाँधमा
बेरेर पासो अड्किरहेका
अकल्पनीय पराकाष्ठा भोगिरहेका
मुक्तिका लागि लडिरहेका
दुर्गा, लक्ष्मी बन्ने आशामा
जन्मन नपाउँदै मृत्यु भएका
नजन्मिएका हाम्रा छोरीहरू।
रोपेर बीज सृष्टिको
कैयौँ पटक भाँचिएका
एक जीवनको भिक्षा माग्दा माग्दै
कोखैबाट खोसिएका
छोरी नै हुनुको पीडा बोकेर
अस्तित्व बोध गर्न नपाउँदै
कैयौँ पटक मेटाइएका
म जस्तै, उनी जस्तै लाखौँ पृथ्वीहरू
बिस्तारै बिस्तारै निभिरहेका
खुला आकाशमा चम्कने ताराहरू
आँखै अगाडि निभिरहेका
उदाउन नपाउँदै अस्ताएका
नजन्मिएका हाम्रा छोरीहरू।