तिमी र म घाम (सूर्य) र शीतल (चन्द्रमा) झैँ भएका छौँ जस्तो लाग्छ। हिजो ४ वर्षसम्म एउटै कलेजको छानोमा रह्यौँ। एउटै छानो कक्षा फरक, हामीबीच देखादेख भयो तर भेटाभेट त्यही सूर्य र चन्द्रमाको जस्तो।
आज मेरो अनुरोध र तिम्रो स्वीकारले गर्दा आएका हामी विपश्यना केन्द्रको पनि छानो एक छ, तिमी महिलातिर, म पुरुषतिर। यहाँ त तिम्रो बोलि सुन्न पनि सक्दिनँ, तिम्रो छाया देख्न नि सक्दिनँ। न त तिमीलाई हेर्ने र खोज्ने छुट छ मलाई।
म फिल्डमा हुँदा राखेको प्रस्ताव त स्विकार्यौ, मसँग यो स्थान आउन त आयौ। सँगै आउने हाम्रो कुरा, बुढानीलकण्ठको मन्दिरमा म पुग्दा तिमी धम्मसृँगा पुगिसकेकी रहिछौ। भित्र छिर्ने समयमा तिमी अलग, म अलग।
प्रिय, आज आठौँ दिन। मलाई झलझली याद आइरहेका छन् ती चार वर्ष बित्नुभन्दा पहिलेका कुरा।
म र प्रिन्स क्यान्टिनको पहिलो लाइनको कुर्सीमा बसेका थियौँ। हामी हाँस्दै 'इन्ट्रोडक्सन अफ पब्लिक हेल्थ' पढाउने म्यामको चर्चा गर्दै गर्दा क्यान्टिनको ढोकाबाट ५ जना केटीको ग्रुप हल्ला गर्दै प्रवेश गर्यो। जब तिमीहरू प्रवेश गर्यौ, हामीले गर्दै गरेको चर्चामा रोक लाग्यो। एकजना पाँच जनाको खानाको अर्डर लगेर दिन्छिन्।
हामीले पहिल्यै दिइसकेको हुनाले हाम्रो खाना पहिला आयो। हामीले खाँदै गर्यौँ। खाना बोल्दै खाने बानी भएर होला सुस्त सुस्त खाइयो।
यत्तिकैमा एकजनाले मधुर स्वरमा भनिन्- 'भाइ, तिमी हाम्रो फर्स्ट सेमेस्टरमा हो है।'
म प्रिन्सतिर हेरेँ र उसले मतिर हेर्यो। उनले फेरि दोहोराइन्- 'तिमी बिपिएच पढ्ने त हौ नि होइन र?'
अब मैले पक्का मलाई रहेछ सोचेर जवाफ दिएँ। एकआपसमा चिनजान गर्यौँ, तिमीहरू मेरो सिनियर रहेछौ।
खाना खाएर पनि सकियो। त्यो बीचमा सबैले बोल्दा तिम्रो एक अनुहार भने आफ्नै धुनमा भात खाइरहेको थियो।
मैले प्रिन्सलाई कानेखुसी गर्दै त्यहाँतिर हेर्न लगाएँ। एक भयङ्कर अचम्मको दृश्य देखियो। यो मेरा लागि भने अनौठो नै थियो। प्रिन्स 'देख, देख' भनेर हाँस्न लाग्यो। सबैजना सिनियरहरू हामीतिर हेर्न लाग्यौ। तर केही भएन, तिमीहरू पनि हामीसँगै हाँस्यौ।
म भने तिमी तिरै हेरिरहेँ। तब मलाई नाम चाहियो तिम्रो। त्यति बेला तिम्रै साथीहरूले नाम झिकेर बोलाए, मैले त्यसमा चुनौती खेप्न परेन।
मलाई बाँकी समय कक्षामा बसेर बिताउन धेरै असजिलो भयो। प्रिन्सले 'ए दादा, के भयो रे?' गरिरहेको थियो। म केही होइन भन्दै बसेँ।
साँच्चिकै कहिलेकाहीँ छटपटी पनि बिना काममा औधी हुने। अझ भनौँ भने प्रेमभन्दा पहिलो खुड्किला आकर्षणमा त अति नै।
नाम सम्झिरहेँ, गौशालाबाट काँडाघारी जाने लामो र जामवाला बाटो त झन् मलाई ३६५ दिन बिताएझैँ भयो।
घरमा गएर फ्रेन्ड रिक्वेस्ट पठाएँ र म्यासेज पनि गरेँ, 'हेलो'।
दिउँसो २:३० तिर पठाएको म्यासेजको रिप्लाई साँझ ७:५६ मा दियौ- 'हेलो भाइ।'
मैले कागले किरा पाएझैँ झटपट म्यासेज सिन गरिहालेँ। तुरुन्त पठाएँ- 'मैले दिदी नभन्दा हुँदैन?'
मलाई यो तागत दिदी भनिरहँदा पक्कै पनि आउँदैन थ्यो। तर मलाई तिमी सिनियर भए पनि एक नारी (आमा, बहिनी, श्रीमती र छोरी) सबै बन्न सक्छे नि त, किन आत्तिनु भनेर स्वतःस्फूर्त रूपमा तम्तयार हुने आँट आयो।
म डराउने वाला थिइनँ, तिमीले सोधेका हरेक प्रश्नका उत्तर छिनमै दिन सक्ने तागत बोकेको थिएँ।
रिप्लाई दियौ- 'हुन्छ, नभन न त (मुस्कुराउँदै गरेको इमोजीसहित)।'
मलाई महसुस भयो कि साँच्चिकै मनले केही चिज चाहन्छ भने हिम्मत आफैँ आउँदो रहेछ।
त्यसपछि तिम्रो पढाइ, एसइई, +२ सबै कुरा खोतलेँ र उमेर पनि सोध्न छुटाइनँ। अब अहिले बाहेक पहिले तिमी कहिल्यै मेरो सिनियर नरहेको कुरा स्पष्ट पार्यौ त्यही रातमा।
भोलिपल्ट चिनजान पछिको पहिलो दिन थियो। मेरो पहिलो कक्षा ६:३० मा र तिम्रो पहिलो कक्षा ७:०० बजे सुरु हुँदो रहेछ। म जाममा परेर ढिलो पुगेँ, तिमीलाई बानेश्वरबाट भित्री सडक हुँदै ल्याउने टेम्पुले चाँडै पुराएछ।
म गौशालाबाट भित्र छिरेर गेटमा पुग्दा तिमी पनि सूर्य ज्ञवाली मार्गबाट गेट निरै पुग्यौ, म झल्याँस्स भएँ।
मनमा डर, मुहारमा क्रान्ति, काँपिरहेको स्वरमा म बोलिरहेको थिएँ। तिमी पनि उम उम गरेर बोल्दा त्यस्तै त्यस्तै देखिन्थ्यौ।
त्यो दिन खाना खान संयोग जुरेन।
हामी बोलेको करिब १२/१३ दिनसम्म कुरा भएन, १४ औँ दिनपछि म आफैँ बोलेँ। कुरा गर्दै जाँदा, के कति काममा बोलेको भनेर तिमीले भनेपछि मलाई के बहाना बनाउनु भयो। मलाई प्राक्टिकलमा सहयोग गर्नु पर्यो भनेँ मैले। सहजै स्वीकार गर्यौ। कलेजको लाइब्रेरीमा भेट्ने, दुवैजना ६ बजे भेट्ने प्लान बन्यो।
मसँग मेरो भाइ बस्थ्यो। ऊ बाँकी समय काठमाडौँमै बस्ने भनि घरबाट आएको थियो। मैले भाइलाई म भोलि बिहान अलि चाँडै जाने कुरा बताएँ, बिचरा सोझो केटो हुन्छ भनिहाल्यो।
मनमा अनेक थरी कुरा खेलाउँदै रात कटाइयो, बिहान म्यासेन्जर हेर्छु त 'सरी! हजुरआमालाई सन्चो भएन' पो छ।
न आकाशमा पुग्न समय लाग्यो न त धर्तिमा झर्न।
म एक प्रेम सम्बन्धमा त थिएँ। तर पनि आफूले सोचेको जस्तो नभएकाले अर्को सम्बन्ध बनाउन चाहन्थेँ। म आकर्षणको दुनियाँमा रमाउन चाहन्न थिएँ। मलाई आकर्षणले पुगिसकेको थियो। साँच्चिकैको प्रेम चाहिएको थियो। जहाँसम्म तिमीसँग केही नहुँदा पनि तिमी छौ जस्तो लागोस्।
सायद केही नजुर्नेसँग बढी आकर्षण र प्रेमको अपेक्षा हुँदो रहेछ।
म केही बोलिनँ। म्यासेजको रिप्लाई नि गरिनँ। अस्ति अस्ति जाने समयमै गएँ। भाइले चाँडो जानु भएन भनेर सोध्यो। बिर्सेछु भनेँ।
'बिहानले दिनको संकेत गर्छ' भनेझैँ त्यो दिन मेरो बिहान नै झुर जस्तो लागेको थियो।
किन हो किन मनलाई मैले आजसम्म पनि बुझ्न सकेको छैन। त्यो बेला त झन् बुझ्नु मेरो बहसको कुरा थिएन।
केही दिन म बोलिनँ न त तिमी नै बोल्यौ।
धेरैपछि एकदिन तिमीले नै म्यासेज छोड्यौ- 'हेलो, भोलि सँगै खाना खान पर्छ ल, तिमीहरू अलि ढिलो गर्नु क्यान्टिन छिर्न।'
नमरी सकेको, मर्न नचाएको तर मर्नु पर्ने हुन्छ होला जस्तो सोचेको मनको दियोमा थोरै तेल थपियो। त्यो तेल थपिराख्यौ, न दियो ठूलो बाल्यौ न त निभ्न दियौ।
अनेकौँ कुराहरू खेलिरहेका छन्, बाहिर निस्किरहेका छन्। जो बाहिर ल्याएर साध्य छैन। तर खुसीको कुरा, तिमी साँच्चै तिमी छौ र त म नजिक भएको छु। तिमीले दिने जति दियौ र त म नजिक भएको छु। मैले पनि केही दिएँ, केही राखेँ र त एकअर्का बाँधिएका छौँ। तर तिम्रो मेरो उही सूर्य र चन्द्रजस्तै यो सम्बन्धलाई बलियो आधार दिने कसरी होला?
म पहिले पनि आएको थिएँ, ती दश दिन मौन बस्न सकेँ। यो पटक, गुरुले भनेका पञ्चशीलहरू मध्ये चार शील त पालना गरेको छु, तर एक शीलमा अझै सामर्थ्य राख्न सक्दिनँ।
कुन कोठामा गएर सुन्छौ प्रवचनहरू?
नेपाली, अंग्रेजी, नेवारी, हिन्दी हरेक कोठामा पुगिसकेँ।
यो ऐँठन हो या भ्रम?
तिम्रो आवाज नसुनिँदा
साँच्चिकै छातीले मुटुलाई दबाएझैँ लाग्छ।
यो नशा हो कि प्रेम?
तिम्रा शब्दहरू गुन्जिरहँदा
सञ्जीवनी पिउँदा पनि केही नपुगेझैँ लाग्छ।