एक पेट भोक बोकी
एक निधार भाग्य खोज्न
काठमाडौँ लाग्छ मन बहादुर
रात्रि बसमा रातभर खुला आँखाले
साँच्दै साँच्दै धरहरा जत्रो सपना
मन बहादुरको बुढो बाको दुखेको मुटु
जाँच गर्न गाउँ पस्दैन गङ्गालाल
मन बहादुरको खेतको लहलह बाली
खरिद गर्न गाउँ पस्दैन सिंहदरबार
मन बहादुरको गर्भवती श्रीमतीलाई
सुत्केरी गराउन गाउँ पस्दैन राजमार्ग
बरु परिवारको आँखा हिलाम्मे पारी
गाउँको खेत सुक्खा राखी
एक छाती बाध्यता बोकी
मन बहादुर आफैँ पस्छ काठमाडौँ
मन बहादुरले पनि युद्ध लडेकै थियो
कक्षा नौ पढ्दा पढ्दै बुर्जुवा शिक्षाको खिलाफ
आफ्नै विद्यालय बन्द गराइ
आफ्नै शिक्षकलाई मोसो दली
व्यवस्था परिवर्तन गर्न होमिएकै थियो जनयुद्धमा
व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तनको अर्को युद्ध लड्न
एक पेट क्रान्ति बोकी
काठमाडौँ लाग्छ मन बहादुर
घर होइन, कोठा हो काठमाडौँ
राजमार्ग होइन, फुटपाथ हो काठमाडौँ
पानी होइन, प्यास हो काठमाडौँ
भोजन होइन, भोक हो काठमाडौँ
रहर होइन, बाध्यता हो काठमाडौँ
श्रीमतीको आँखाको रहरको गाजल बेची
छोरीको हातको मेहन्दीको रङ खरिद गर्न
छोराको कापीको अक्षरहरू खरिद गर्न
रात्रि बस चढी मन बहादुर लाग्छ काठमाडौँ
एक निधार आशीर्वाद आमाको
एक गला परिवारको बाध्यता पहिरिई
लाग्छ मन बहादुर काठमाडौँ
काठमाडौँमा मात्रै काठमाडौँ छैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि छ
पर्खिरहन्छ जसले सधैँ मन बहादुरलाई।