पिंक कलरको दुई जोर 'म्याजिक चप्पल' ती केबल चप्पलमात्र थिएनन्। हाम्रो घर भित्रको पब्लिक सवारी साधन जस्ता थिए। बिहान चर्पी जाँदा सबैले आलोपालो लगाउने। त्यसपछि एकजोर आमाले वनमा घाँस दाउरा गर्न जाँदा लगाउने। अर्को जोर बुवाले खेत बारीमा जाँदा लगाउने। बुवा र आमालाई बोकेर घर भित्रिएपछि चप्पलको काँधमा भाइ र म चढ्थ्यौं।
कक्षा चारमा पढ्दा सहरबाट घर फर्कंदा बुवाले भाइलाई र मलाई एक-एक जोर चप्पल ल्याइदिनु भएको थियो।
खेल्दै जाने क्रममा केही दिनपछि चप्पलले आफ्नो धार परिवर्तन गर्यो र गाडीको चक्कामा परिणत भयो।
खासमा चप्पलले आफ्नो स्वरूप र कर्म परिवर्तन गर्नुमा दोष बुवाको थियो। सहरबाट घर फर्कंदा चप्पल सँगसँगै चारचक्के खेल्ने गाडी पनि ल्याइदिनु भनेर भाइले र मैले सामूहिक प्रस्ताव पेस गरेका थियौं। तर बुवाले गाडीको प्रस्ताव स्वीकार्नु भएन।
बुवाले गाडी किनेर नल्याई दिएपछि, हामी दुई भाइ बाध्य भएर आफैले गाडी आविष्कार गर्ने मनस्थितिमा पुग्यौं। गाडी आविष्कार गर्ने क्रमका काठको टुक्राहरू, प्लास्टिकको बोतल, लौरो, ट्युब, बाँसको कप्टेराहरू इत्यादि जम्मा पारेर गाडीको सम्पूर्ण पाटपुर्जाहरू तयार पारियो। तर गाडी गुड्नको निम्ति आवश्यक टायरहरू कतैबाट जुटाउन सकिएन र दाजुभाइको दुई जोर चप्पल हाम्रो पैतालाबाट गाडीको पैताला बन्न पुग्यो।
विज्ञानको नियमअनुसार कुनै पनि वस्तु पूर्ण रूपमा नष्ट हुँदैन। केवल त्यसको आकार, प्रकार, स्वरूप र आयातनमा परिवर्तन हुन्छ। चप्पलले पनि स्वरूप परिवर्तन गर्यो। स्वरूप परिवर्तन भएसँगै चप्पलका काम पनि परिवर्तन भए। हामीलाई बोकेर हिँड्ने चप्पलले अब गाडी बोक्ने भए। साँझ बिहान गरेर करिब तीन दिनको लगातार मेहनतपश्चात् गाडी तयार पारियो। गाडीको पहिलो परीक्षण गर्ने क्रममा: धुलोमाटो हालेर कुदाउने तयारीमा थियौं। ठीक त्यही बखत बुवा खेतको काम सकेर घरमा टुप्लुक्क आइपुग्नु भयो।
भर्खर निर्माण सम्पन्न गरेर परीक्षण गर्नको लागि तयारी अवस्थामा रहेको गाडीको टायरमा बुवाको नजर पर्यो।
बुवाको रिसको थर्मोमिटर उकालो लाग्यो। बुवाको निम्ति दुईजोर चप्पल नष्ट भयो। तर हामी दाजुभाइको निम्ति त्यो नवीन आविष्कार थियो। हामी दुई भाइको आविष्कार देखेर बुवा खुसीले गदगद हुनुपर्ने हो।
स्याबासी दिएर पिठ्यूँमा धाप मार्नुपर्ने हो।
तर बुवाले त्यसो गर्नुभएन।
स्याबासीको सट्टा उल्टै मेरो कानको जरिबुटाको रौं उखलेर दुईपट्टि गालामा पाँच औंलाको डाम बस्नेगरी दिनुभयो। भाइले उमेरको लाभांश प्राप्त गर्यो र गालीमात्र भेट्यो। त्यो दिनबाट बुवाको चप्पल लगाउने र बुवाको अगाडि चप्पल किनिदिनु भन्ने हिम्मत जुटाउन सकिएन।
बुवाले एक साँझ खाना खाने बेलामा मतिर हेर्दै भन्नुभयो- कक्षा पाँच पास गरिस् भने एकजोर चप्पल किनिदिन्छु।
मैले चप्पल लगाउन पाउने आसमा खुब मेहनत गरेर पढेँ। घर नजिकैको स्कुलबाट कक्षा पाँच पास भएँ। दुई वटा खुसी एकैपटक प्राप्त भयो।
पढाइमा पास भएको खुसी र चप्पल लगाएर स्कुल जान पाउने खुसी। दुईमध्ये चप्पल लगाएर स्कुल जान पाउने कुराले धेरै खुसी बनायो। चैत, वैशाखमा बाँझो खेतका गह्रा जसरी पट्पटी फुटेका मेरा खाली खुट्टाले पनि चप्पल भेट्ने भए। अब मैले पनि बुवा र आमाले जस्तै: नियमित चप्पल लगाउन पाउने भएँ। अबको केही दिनमा मेरो पनि एकजोर निजी चप्पल हुनेछ।
घर नजिकको प्राथमिक स्कुल पास गरिसकेपछि, करिब डेढ घण्टाको ओरालो झरेर पुगिने कक्षा दससम्म पढाइ हुने माध्यमिक विद्यालय जानुअघि निकै जिज्ञासा र कौतुहलता थियो।
ठूलो स्कुल, धेरै विद्यार्थी, शिक्षकहरू कस्ता होलान्?
नियमित होमवर्क गर्नुपर्ने बाध्यता होला कि नहोला?
कक्षाकोठामा शिक्षकले सोधेको बेलामा प्रश्नको उत्तर जानिएन भने कुटाइ पो खाइने हो कि ओक्खो!
मनमा अनेकन कुराहरू खेल्न थाल्यो।
स्कुल जाने दिन पनि नजिकै आइपुग्यो। तर बुवाले चप्पल किनिदिने सुरसार गर्नुभएन। नेताले चुनावमा आश्वासन दिएजस्तो बुवाले आश्वासन त सजिलै दिनुभयो तर पूरा गर्ने कुरामा दुविधा रह्यो।
स्कुल खुल्ने अघिल्लो दिन आमामार्फत् बुवालाई विगतमा आफूले गरेको बाचा सम्झिनको निम्ति अनुरोध पठाएँ।
बुवाले भोलिपल्ट बिहानै फैसला सुनाउनु भयो- आजबाट आमाको चप्पल तेरो भयो। बुवाको निर्णयले आमाको खुट्टाको चप्पल मेरो खुट्टामा सर्यो। मेरो खुट्टामा चप्पल परेकै दिन आमाको घाँस दाउरा गर्न जंगल जाने खुट्टा खाली भए।
चप्पल लगाएर स्कुल जान पाउने कुराले जति खुसि भएँ, त्यो भन्दा धेरै आमाको खाली खुट्टा देखेर दु:खी भएको थिएँ।
आमाले गोठमा गाईभैसीको गोबर सोहोर्दा नियमित लगाउने चप्पलले आफ्नो रंग परिवर्तन गरेको थियो। मैले पुरानो चप्पललाई धोएर सुकिलो बनाई पुरानै रंगमा फर्काएँ।
माओवादी द्वन्द्व चरम बिन्दुमा पुगेको थियो। स्कुल खुल्ने र बन्द हुने कुराको कुनै टुंगो हुँदैनथ्यो। स्कुल खुलेता पनि पूरै दिन पढाइ हुन छोड्यो। अलि समयपछि राजाले शासन सत्ता आफ्नो हातमा लिए। राजनीतिक दलहरूले राजधानी केन्द्रित आन्दोलनहरू सुरू गरे। विद्यार्थीहरूलाई पनि आन्दोलनमा सहभागी गराउन थालियो। विद्यार्थी आन्दोलनमार्फत् जीवनमा पहिलो पटक मैले राजधानीमा पाइला टेक्ने अवसर प्राप्त गरेँ।
राजधानीमा पाइला टेकेकै दिन 'गणतन्त्र नेपाल जिन्दावाद' को नारा लगाउँदै विद्यार्थी मोर्चामा समाहित भएर अघि बढेँ। अघि बढ्ने क्रममा: न्युरोड गेटमा मधेसी मूलको एक जना सिपाहीले, मेरो मसिनो सिन्का जत्रो पिँडुलो भाँचिने गरी हाने। आमाले अघिल्लो दिनमात्र तोरीको तेल मनतातो गरेर अँगेनाको छेउमा राखेर मिचेका पिँडुला रातो भयो।
अर्को दिन, मैले राजधानीको नाका छेउ वाड-भन्ज्याङमा बसको छतमा उभिएर दोस्रो नारा लगाए- राजा चोर, देश छोड!
मैले त्यसदिन टुँडिखेलको भागदौडमा आमाको नामबाट मेरो नाममा नामसरी भएको एकजोर चप्पल गुमाएँ। बिहान झोला बोकेर पढ्न निस्केको छोरो साँझ खाली खुट्टा घर पुगेपछि बुवाको रिसको थर्मोमिटर उकालो लाग्यो। बाहिर छपनिमा सिउरिएर राखेको बाँसको कप्टेरो एक्कासि मेरो नलिखुट्टोमा आइपुग्यो।
तेस्रो दिन खाली खुट्टा पढ्न गएँ, कक्षाकोठाको ढोका छेउमै उभिएका एकहुल केटीहरूमध्ये चन्चल स्वभाव भएकी केटी साथीको नजर मेरो खाली खुट्टामा पर्यो। निकै अचम्म मान्दै साथीहरूलाई सुनाई- हेर्न त्यो केटाले त चप्पल नलगाई पढ्न आएको।
मैले तिनीहरूको कुरालाई बेवास्ता गर्दै कक्षाकोठाभित्र प्रवेश गरेँ। उनीहरूको संवादले मलाई निकै लज्जित बनायो। ट्वाइलेटमा पिसाब फेर्न जान पनि सकिनँ। निकै अप्ठ्यारो महसुस गरेर कक्षाकोठामै बसिरहेँ। पहिलो घण्टी पढाइ भएपछि स्कुल बन्द भयो।
तेस्रो पटक राजधानी छिरियो, खाली खुट्टा शौचालय जान अप्ठ्यारो लागेको मलाई, स्कुलदेखि चालीस किलोमिटरको दूरीमा रहेको राजधानीमा आन्दोलन गर्न जानलाई खाली खुट्टाले छेकेन।सधैंको झैं बसको छतको डिलमा बाहिर खट्टा खसालेर बसेर नारा लगाउँदै काठमाडौं लागियो।
त्यतिबेला मनमा जम्मा एउटा कुरा थियो- राजाले हामी नागरिकको अधिकारहरू खोसेका छन्। त्यसैले राजतन्त्र हटाउनु पर्छ। म यसैको निम्ति हिँडिरहेको छु, भन्ने कोरा सोचाइ बाहेक अरू केही थिएन। मेरो छेवैमा बसेको रातो झण्डा टाउकोमा बाँधेको मानिसले त्यसदिन अनौठा नारा लगायो।
भारतीय विस्तारवाद मुर्दावाद!
अमेरिकी साम्राज्यवाद मुर्दावाद!
मैले त्यो नारा त्यसअघि कहिल्यै सुनेको थिइनँ। मेरो बाल मस्तिष्कले त्यसको अर्थ ठम्याउन सकेन।
'शाही नेपाली सैनिक मन्च' भत्काउन अघि बढ्ने क्रममा सहिद गेट नजिकै अग्लो कद भएको पुलिसले मेरो ढाडमा गोर्खे लौरी बजायो। हर बङ्ग्याउँदै त्यहाँबाट मुस्किलले ज्यान जोगाएर भाग्न सफल भएँ। त्यसदिन सहिद गेटकै अघि सहिद हुनबाट जोगिएँ। बेलुका घर पुग्दासम्म मलाई हनहन्ती ज्वरो आयो। मलाई त्यसदिनको आन्दोलन र पुलिसको कारबाही अरू दिनको तुलनामा निकै भारी पर्यो।
बिरामी मान्छे बिरामी नभए जसरी बेलुका खाना खाने बेलामा भान्सामा उपस्थित भएँ। खानाको पहिलो गाँसमा नै अरूचि पैदा भएता पनि सधैंको जसरी खाँए। त्यसदिन खाना नखानु भनेको भोलिपल्टबाट मेरो आन्दोलनमा जाने बाटो बन्द हुनु हो। ढाडमा उठेको सुम्ला चस्किएर रातभर सुत्न सकिनँ। मलाई भाटा हान्ने त्यो पुलिसको अनुहार रातभर आँखामा घुमिरह्यो।
भोलिपल्ट बिहान उठेर मुख पनि नधोई, किताबको पहिलो पन्नामा रहेको राजारानीको तस्बिरहरू च्यातेर फाल्दै मनमनै झण्डै दर्जन पटक राजतन्त्र मुर्दावाद भने।
शनिबारको दिन भएकोले त्यसदिन विद्यालय बन्द थियो। दिउँसो गाईगोरु लिएर गोठालो गएँ। ज्यान वनमा भए पनि मन भने राजधानीमा थियो। स्कुलमा हाजिर लगाएर उतैबाट झोला भिरेर आन्दोलनमा जाने गरेको कुरा बुवाले कताबाट सूचना पाउनु भएछ। बेलुका खाना खाने बेलामा केरकार गर्नुभयो।
'सत्ता पल्टाउन हिँडेको छस् रे.. भन्ने सुनेको छु कुरो के हो ?,' म केही नबोली मुन्टो निहुँर्याएर बसेँ।
'राजा हटाउन नारा लगाउँदै हिँड्छस् रे! राजा नरहे देश रहन्छ?'
'राजा नरहे पनि राज्य चल्छ बुवा!,' मैले जीवनमा पहिलो पटक बुवाको कुरोमा असहमति जनाएँ।
असहमति मात्र होइन बुवाको भन्दा ठीक विपरीत तर्क प्रस्तुत गरेँ।
'कांग्रेस र कम्युनिस्टको पछि लागेर कुद्ने होइन। यस्तै पारा हो भने, भोलिबाट स्कुल जान बन्द गोठालोमा भर्ती हुने।'
बुवाले मेरो पढाइ, राजनीतिक आस्था र विश्वास माथि एकैपटक धावा बोल्नुभयो। संयोगले भोलिपल्टैबाट देशभरका विद्यालय अनिश्चितकाल सम्मको लागि बन्द भयो।
दरबार बाहिरको हल्लाहरूलाई दरबारको पर्खालले छेक्न सकेन। पर्खाल नाघेर भित्र छिर्यो।
वैशाखको उखरमाउलो चर्को घाममा दरबारभित्र सयन कक्षमा आराम गरी बसेका श्री पाँच महाराजधिराज आरामले बस्न सक्नुभएन। नेताका टाउकेहरूलाई सत्ताको ललिपप देखाएर भुलाउन गलाउन सकिन्थ्यो होला। तर यो आन्दोलन नेताले गरेको नभई जनताको तर्फबाट गरिएको विद्रोह थियो। त्यतिबेला नेताहरूका पनि नेता गिरिजा प्रसाद कोइराला थिए। उनैमार्फत् राजाले आन्दोलन तुहाउने योजना बनाए। तर गिरिजाप्रसाद कोइरालाले जनताको भावना, आन्दोलन लक्ष्य र उद्धेश्य विपरीत जान चाहेनन्।
उनले राजाको कुरा सुनेनन्, जनताको कुरा सुने। राजालाई अन्तिम समयसम्म पनि भेट दिएनन्।
महाराजले दरबार भित्रको आँखीझ्यालबाट चियाएर हेर्दा अवस्था निकै भयावह स्थितिमा पुगेको संकेत पाईइबक्सियो।
अन्ततः राजा घुँडा टेक्न बाध्य भए। नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै निहित भएको तथ्यलाई हृदयगंम गर्दै.....जनताको नासो जनतालाई नै सुम्पिबक्सेको हुकुम भयो।
तत् पश्चात् जनताबाट निर्वाचित प्रतिनिधिले शासन सत्ताको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरे।
मुलुकमा संविधान सभाको निर्वाचनमा भयो। हिंसात्मक आन्दोलनबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी देशको पहिलो शक्ति बन्यो।
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बने। संविधान सभाबाट संविधान जारी भयो।
आज झण्डै दुई दशकपछि यो लेख लेख्दै गर्दा उनै प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेर शासन सत्ता सम्हालिरहेका छन्। व्यवस्था बदलियो तर जनताको अवस्था भने बदलिएन। बरू व्यवस्था बदल्न लागेका भनिएका नेता र तिनका वरपरका मानिसहरूको रातारात अवस्था बदलियो। नायक भनिएकाहरू नै जनताको नजरमा खलनायक जस्ता देखिन थाले।
आजको दिनमा बुवाले तेरो गणतन्त्रले जनतालाई के दियो त बाबु भनेर सोध्दै गर्दा- मसँग देखाउनको निम्ति नागरिक स्वतन्त्रता, सामाजिक न्याय, विधिको शासन, नागरिकलाई अधिकार सम्पन्न बनाएको एकथान संविधान, जनताको छोरो देशको प्रमुख हुने गणतान्त्रिक व्यवस्था, तीन तहको सरकार संघ, प्रदेश र स्थानीय तह। गाउँगाँउमा सिहदरबार नागरिकलाई घर दैलोमा नै सेवा लगायत दर्जन कुराहरू छन्। तर, जनताको जीवनस्तरमा भने खासै परिवर्तन आएको छैन। आज पनि जनताको जन-जीविकाको सवाल भने जहाँको तहीँ छ।