कलेजकाे त्यो पहिलाे दिन। संयोगबस भेट भएको र परिचय सँगै साथी भएको प्रथम व्यक्ति थियो ऊ (सरोज)।
गाउँबाट भर्खर काठमाडौं पढ्न झरेकी लजालु केटी थिएँ म। कलेज यात्राको पहिलो दिन कता कता अप्ठ्यारो, डर, हिच्किचाहट सबै लिएर जाँदै थिएँ। मेरो कमजोर मनस्थितिमा साहस दिन भेटिएको पहिलो व्यक्ति थियो ऊ। उसैले मलाई कलेजका सबै कक्षा कोठाहरू देखाउने, टिचरहरूसँग परिचय गराउने, प्रशासनिक काममा सघाउने अनि नयाँ साथीहरूसँग भेट गराउने काम गरिदिएको थियो। उसको आफ्नै काका कलेजकाे प्रिन्सिपल रहनु भएका हुनाले ऊ कलेजसँग पहिलादेखि नै परिचित रहेछ।
दिन दिनैको भेटले ऊ सँगको मित्रता बिस्तारै बिस्तारै बढ्दै गए सँगै मलाई काठमाडौंका सबै गल्ली, बजार र पार्कहरू घुमाउने यहाँकाे बोलचाल, रहनसहन सिकाउने अनि नयाँ नयाँ सिनेमा आउने बित्तिकै देखाउने व्यक्ति पनि ऊ नै भयो।
फेसबुकमा पहिला फ्रेन्ड रिक्वेस्ट पठाउने पनि ऊ, भाइबरमा फोन गर्न सिकाउने पनि ऊ। फोटो पठाउन ह्वाट्सएपमा राम्रो हुन्छ भन्दै चलाउन सिकाउने पनि ऊ। गाउँको घर गएको बेलामा वाइफाइ राम्राे नचलेर कुरा गर्न नपाउँदा न्यास्रो लाग्याे भन्दै मेरो मोबाइल नम्बर माग्ने र आफ्नो दिने पनि ऊ।
ऊ भन्ने म मान्ने, ऊ अह्राउने म गर्ने यसरी बढ्दै गएको मित्रताले घरका सामान्य कामहरूमा पनि उसैको साथ चाहने भइसकेको रहेछ।
सँगसँगै बजार जाने क्रममा कुनै राम्रा लागेका चिजहरू म लगाउँथे र देखाउँथे, जब उसले मलाई सुहाउँदो रहेछ भन्थ्यो, म हत्तपत्त तिम्रो विवाहमा म यही लगाउने हो भनेर उसलाई जिस्काउँथे। ऊ सिरियस भएर सुनिरहन्थ्यो।
यसरी दिन, हप्ता महिना र वर्ष गर्दै चार वर्षकाे समय बित्दै गर्दा एकदिन कुरैकुरामा उसले मलाई घरमा आफ्नो विवाहको कुरा चल्न थालेको बतायो।
सुरूमा त म दङ्ग पर्दै भनेँ 'हो र? मैले अस्ति किनेको लेहेङ्गा लगाउने दिन आयो?' ऊ छक्क पर्दै मलाई हेरेर टोलाइरहेको रहेछ, तब भने म झस्कन पुगेछु र सोच्न पुगेछु, 'ओहो! साँच्चै उसको विवाह भयो भने मलाई अझै धेरै कुरा सिकाउने को? अह्राउने को? घुमाउने को? मसँग बोल्ने को? अनि मसँग हिँड्ने को? ओहो! म झसङ्ग भएँ, डराएँ र चिसो भएँ, अचम्म लाग्यो किन यस्ताे भएँ?
निक्कै हिम्मत जुटाएँ र उसलाई सोधें 'साँच्चै हो तिम्रो घरमा विवाहको कुरा चलेको?' उसले टाउको मात्रै हल्लायो केही बोलेन। मैले पनि फेरि दोहोर्याएर उसलाई सोध्न सकिनँ।
तर यो पटक उसले जान्न मात्र चाहेको रहेछ उसको विवाहको कुरा सुनेर मेरो अनुहारकाे रङ कस्ताे हुँदोरहेछ, अनि म उसँग टाढा हुन चाहन्छु या चाहन्न भनेर। ऊ बुझ्न चाहँदो रहेछ हामी मात्र साथी हौ? वा जीवन साथी पनि बन्न सक्छौं? भनेर।
उसले मलाई सोध्यो, 'के साँच्चै तिमी मेरो विवाहको कुराले खुसी छौ? हामी साथी मात्रै हौ ? या जीवन साथी बन्न सक्छौ?' मैले अब भने केही नसोची भनिदिएँ, 'म तिम्री जीवन साथी बन्न चाहन्छु।'
'यो विषयमा मैले गहिरिएर सोचेको त केही थिइनँ तर म तिम्रो विवाहको कुराले निक्कै तर्सिएँ। साँच्चै तिम्रो बिहे अरू कसैसँग भयो भने म उपस्थित हुन त के हेर्न र सुन्न पनि नसक्ने रहेछु।'
मेरो कुरा सुनेर ऊ निकै दङ्ग पर्यो र दुवैतर्फ घरमा कुरा गर्नुपर्ने सल्लाह दियो। त्यसपछि भने हामी आआफ्नो घरतिर लाग्यौं।
उसको कुराले बाटोभरी निकै खुसी भएँ। आनन्द भयो मन, तर त्यो खुसी केही बेरपछि फेरि डरमा परिणत भयो। ओहो! घरमा कुरा राख्नु,घरका मान्छेहरूको मन जितेर सहमति प्राप्त गर्न सक्नु उसकाे घर परिवारले पनि मलाई स्वीकार्नु,यो फेरि सानो कुरा कहाँ थियो र?
ऊ काठमाडौंकाे पुरानो बासिन्दा नेवारी परिवारमा जन्मेको मान्छे अनि म बाहुनकी छोरी हजुरआमाको बाहुनकै छोरालाई खुट्टा धोएर नातिनीको विवाह गर्ने रहर, आमा र बुवाको कर्तव्य निर्वाह गर्दै हुर्काएकी आमालाई हुने समाज र इष्टमित्रहरूले के भन्लान भन्ने कुराको डरसहित आफ्नै जातको केटासँग छोरीको विवाह गरिदिने चाहना, मेरो बितिसक्नुभएको बुबाले छिमेकी दिदीले सानो जातको केटासँग विवाह गर्दा राख्नुभएको धारणा, त्यस्तै जेठी दिदीको आफूले कुरा मिलाइसकेको धनाढ्य केटासँग बहिनीको विवाह गरिदिने योजना। सबैको इच्छा मारेर आफ्नो सौख पूरा गर्नुपर्ने चुनौती आइपरेको थियो ममाथि। तै पनि हिम्मत नहारिकन मनमनै खुसी हुँदै घर पुगेँ।
बिस्तारै बिस्तारै निक्कै दिनको मेहनतपछि म आमा, दिदी र हजुरआमाको गाली खाँदै रुँदै र आफन्तहरूलाई गुहार्दै आफ्नो रहर पूरा गर्न सफल चाहिँ भएँ।
उसले कसरी मिलायो सोध्न भ्याएकी थिइनँ। केही दिनपछि उसैले उसकाे र हाम्राे परिवार बसेर कुरा गर्न बोलायो। म, आमा र दिदीलाई लिएर उसको परिवारसँग भेट्न गएँ। उसकी आमाले त मलाई देख्ने बित्तिकै अँगालो हालेर माया गरेकी थिइन्। दिदीहरू भने खै किन हो त्यति खुलेर बोलेका थिएनन्। मैले त्यति वास्ता गरिनँ र गहिरिएर सोच्न पनि चाहिनँ। ऊ आफ्नै हो भन्ने थियो उसकी आमाले पनि आफूलाई मन पराएपछि म ढुक्क थिएँ।
दुवै पक्षमा राम्रै कुराकानी भएको थियो र टीकाटालो गर्ने निर्णयमा पुगिएको थियो।
त्यहाँबाट घर फर्केपछिका दिनहरू भने निकै बेफुर्सदिला बन्दै गए कुरा छिन्ने समयमा उसलाई के दिने ? उसका परिवारलाई कसरी स्वागत गर्ने? कसरी आफू राम्री देखिने ? अनि को को बोलाउने लगायत थुप्रै कामहरूमा तल्लीन भइरहँदा पनि मैले बेलाबेलामा आफ्नो बुवाको अभिभावकत्वलाई सम्झिँदै आँसु झार्न र आफ्नो सुखद दाम्पत्य जीवनको काल्पनिक सुन्दर महल ठड्याउन पनि भ्याएकी थिएँ।
टीकाटालो गर्ने भनेर तय गरिएको भन्दा दुई दिन अघि बिहानै उसको इनबक्स देखें, लेखिएको थियो, 'सधैंको ठाउँमा भेटौं ल?'
रोमान्चित भयो मन, यो खबर मैले खुसी हुँदै आफ्नी दिदीलाई सुनाएँ।
उनले एक्लै नजान र छोरीलाई साथी दिएर जान भनिन्। मलाई कता-कता रिस पनि उठ्यो। छोरी किन टाँसो लगाएको होला भन्ने लागेर पनि मैले केही बोलिनँ।
ऊ सधैँ भेटेको मान्छे भए पनि आज भेट्नुको मजा बेग्लै अनुभव गरेकी थिएँ।
मनमा डर लाज र अप्ठ्यारो सबै एकसाथ मिश्रित भएर आएका थिए। जे जे भए पनि धेरै मात्रामा मन खुसी नै थियो र म हतार हतार आफ्नो काम सकाएर उसले दिएको समयमा पुगिनेगरी घरबाट निस्किएँ। सधैं मलाई कुरेर बस्ने उसले आज भने मलाई आधा घण्टा कुरायो। मलाई कुर्नुमा पनि बेग्लै आनन्द लागिरहेको थियो।
ऊ परबाट आउँदै गरेको देखेँ। एकाएक ऊप्रति सम्मानको भाव जागृत भइदियो। हातमा एक बोतल पानी लिएर निराश र थकित मन लिएर आउँदै गरेको उसको अनुहारले मलाई विवाहको तनाव हाेला भन्ने मात्र बुझाएको थियो।
नजिकै आउने बित्तिकै उसले,न म आएको समय सोध्यो न मेरो खबर। मात्र यति भन्यो, 'हामी बीचका सबै कुराहरू अब बिर्सिदिनू?, हाम्रो विवाह नहुने भयो। मैले घर व्यवहार मिलाउनै सकिनँ।'
यति भन्ने बित्तिकै उसका आँखाबाट झरेका दुई थोपा आँसु मैले नदेखेकी होइन, कहिलेकाहीँ आफ्ना दुःख सुनाएर मैले आँसु झार्दा मलाई रूनबाहेक केही जानेको छौ र? भनेर जिस्काउने र सधैंजसो आफ्ना घर, बानी रूचि, परिवार, सञ्चो बिसञ्चो सबै सुनाएर मलाई हैरान पार्ने ऊ आज यत्तिमै सीमित भयो।
उसको भनाइ सकिनेबित्तिकै मेरो मनमा गएको भुइँचालोले म लरखराएँ, चकराएँ ,आँखा धमिला हुँदै गए र म अर्ध चेत भएर थचक्क बसेँ।
मैले ऊसँग सजाएको सपनाको मनमोहक महल नराम्रोसँग ढलाइदियो र मन थिलथिलो हुने गरी पछारिएँ। भत्कँदै गरेको महलको अन्य घटनाहरूले पनि मलाइ थिचेँ र मेरो मन पूरै टुक्राटुक्रा भएर भाँचियो।
उसको हातमा भएको बोतलको पानी खोसेर घटघटी पिएँ। थाहा नै भएन बोतलको पानी रित्तिसक्दा पनि म पिइरहेको रहेछु। पिएको बोतलकाे भन्दा धेरै पानी मेरा नयनहरूबाट झरिसकेका थिए। यी दृश्यहरू देखेर पनि नदेखे झैँ गर्दै ऊ आफ्नो बाटो लाग्यो। अर्ध चेतनामा पनि यति कुराहरू चाहिँ याद गरेको थिएँ।
त्यसपछि कसरी घर पुगेँ र मेरो हालत देखेर ककस्लाई के के भयो भन्ने केही जानकारी नपाएकी म चार दिन पछि पानी पानी भनेर बर्बराउँदै उठेकी थिएँ रे। घटघटी तीर्खा मेटिने गरी पानि पिइसकेपछि उस्ले भनेको अन्तिम वाक्यको याद गर्दै कारण बुझ्न मन लाग्यो र आफ्नो मोबाइल खोलेर उसैको नम्बर डायल गरेँ।
फेसबुक, भाइबर, ह्वाट्सएप, टिकटक सबैमा उसैलाई खोजेँ तर उसले मलाई सबैतिर ब्लक गरिसकेको रहेछ।
लाजै नमानी डाँको छोडेर रोएँ र धेरै आँसु बगाएँ उसका यादहरू बग्ने गरी। केही राहत भयो र उठेर कौसीतिर टहलिएँ। ऊसँगकाे बिछोडले नै भन्दा पनि मलाई बिछोडिनु पर्ने कारण बुझ्न नपाएकोमा बढी तड्पाहट भएको थियो।
ऊसँग घण्टौं गफ गरेर खुसी हुन सकिने मोबाइल अब छुन मन थिएन। उसका कुरा सुनाएर दङ्ग पर्न नपाएपछि कसैसँग बोल्न मन थिएन। खाना खायौ भनेर सोध्ने ऊ नभएपछि खानामा रूचि भएन।
उसकाे गीत सुनेर टोलाउन र आफ्नो स्वर सुनाएर रमाउन नपाउने भएपछि संगीत सुन्नमा पनि मन गएन। विवाहको तयारीमा जुटाएका सामानहरू दिदीले कतै जतन गरिदिएकीले हेर्न परेको थिएन भने सपनामा उसैलाई देखिने हो कि भन्ने डरले निदाउने पनि चाहना भएन।
चौबीस घण्टाको दिन चौबीस दिन जति लामो भएर बित्दै थियो। बाहिरी रूप मात्र देख्ने र मलाई धेरै माया गर्नेहरूले ममा थाेरै परिवर्तन देखेका भए पनि म भित्रको छटपटी, बेचैनी अनुत्तरित प्रश्नहरूको द्वन्द्व, उदासिपन, एक्लोपनको अनुमान लगाउन सक्ने कोही थिएन।
यति नै बेला मैले रूप, शिक्षा, धन, परिवार हुँदाहुँदै आत्महत्याको बाटो रोजेका केही परिचित अनुहारहरूलाई सम्झेँ र यसरी टुट्न पुग्दा पो मान्छेहरूले यो बाटो खोज्दा रहेछन् कि भन्ने शंका गर्न पुगेँ।
तर मैले चाहिँ बलवान मानिएको समयको विश्वासमा धैर्य गर्दै आफ्नो लागि आउने उचित समयको पर्खाइलाई रोजेँ र सीसाझैं टुक्रिएको मनको एउटा ठूलो टुक्रालाई हतियार बनाएर आत्मबल बढाउने लक्ष्य लिएँ।
अत्यासलाग्दा केही दिनहरू व्यतीत भइसकेपछि मलाई दिदीले उसको घर लिएर गई।
ऊ हरक्षण मेरो निगरानी गर्थी। बिहान योग अभ्यास गराउने, दिउँसो नयाँ साथीहरूसँग सम्पर्क गराउने, घुमाउने, राम्रा राम्रा पुस्तकहरू पढ्न दिने। मीठा परिकारहरू बनाउन लगाउने, बनाएर खुवाउने गर्दै उसले मलाई दिन सहज तरिकाले बिताउन सकिने बनाई।
जसो तसो तीन महिनाकाे समय बितेपछि भने मैले आफूमा नयाँपनको अनुभव गरेँ र ठूलै मानसिक युद्ध जितेको महसुस पनि गरें।
त्यसपछि मैले उसलाई कुनै काम गर्ने इच्छा बताए सँगै उसैले मेरो यो चाहना पनि पूरा गरिदिई। अब भने मेरो जीवनले गति लिएको आश गर्दै भूतको डर र भविष्यको चिन्ता नभई वर्तमानमा रमाउने कोसिस गर्न थालेँ।
समय आफ्नै गतिमा चल्दै थियो। एक दिन अफिसबाट फर्कंदै गर्दा विपरीत सिटमा बस्न पुगेँ। मेरो अगाडि बस्ने मान्छेले मलाई नियालिरहेको भान भएको थियो। केही समयपछि आँखा जुध्न पुगे उसले मुसुक्क हाँस्दै भन्यो, 'मलाई चिनिनौ? म सरोजकाे मिल्ने साथी। हामी एउटै कलेज पढेको हो नि। तिम्राे त सराेजसँग विवाह भएको होइन?'
बेला न कुबेला सराेजलाई सम्झाउने मान्छे देखेर रिस उठेको भए पनि ऊबाहेक उसकै र आफ्नै साथी पनि नचिन्ने गरी आफू सरोजसँगकाे सामिप्यतामा हराएका दिनहरू सम्झेर खिन्न भएँ।
मैले उसको प्रश्नको जवाफ दिन जरूरी ठानिनँ। जवाफ नपाएपछि उसले पनि के बुझेर हो फेरि सोधेन। मात्र मेरो मोबाइल नम्बर माग्यो।
मन नलागेरै पनि दिएँ र मेरो नम्बर पाएपछि ऊ माइक्रोबाट ओर्लियो।
म घर पुग्नै लाग्दा नयाँ नम्बरबाट कल आयो, उठाएँ उसैको रहेछ। उसले बोल्न सुरू गर्यो, 'म सराेजकाे नजिकको साथी भएको कारण उसले मलाई सबै कुरा बताएको हुन्थ्यो। हजुरसँग भेट्न जाँदा म पनि आएको हुन्थेँ। म पर बसेर हजुरहरूको भेट र कुराकानी हेरिरहन्थेँ। फर्केपछि उसले मलाई धेरैजसो कुराहरू बताउँथ्यो उसैले गरेको हजुरको वर्णनका आधारमा म नजानिँदो तरिकाले हजुरप्रति आकर्षित भएछु बिना बोलचाल।
जब मलाई सरोजले विवाहकाे कुरा सुनायो म निक्कै छटपटिएँ र विवाह अगाडि नै बाबु आमाको स्याहार गर्ने निहुँमा गाउँतिर लागेँ। केही असाध्यै निरस र कष्टकर समय व्यतीत भएपछि फेरि यतै फर्किएँ। आज हजुरलाई यो पहिरनमा देखेर र सरोजले मसँग गरेका हजुरहरूको अप्ठ्यारा व्यवहारका कुरा सम्झेर विवाह रोकिएको हो कि भन्ने शंका गर्दै हजुरको साथको चाहना व्यक्त गरेँ।'
यति भनेपछि उसले केही बोलेन। मैले पनि फोन काटिदिएँ। तर यो पुरूष, प्रेम र विवाह भन्ने शब्द सुन्नै नसकिने गरी भाँचिएको मेरो मनलाई, विवाहका लागि जोरजाम गरेका सामान हेर्दै रुँदै गर्ने मेरो आमाको व्यवहारले समय समयमा घोच्ने गरिरहेकै थियो। उसका लागि रहर गरेर आफू एक्लै बजार गएर किनिदिएका सामानहरूले समय समयमा झस्काउने गरिरहेकै थिएँ भने सबै कुरा बताउन आवश्यक नठानेर विवाह सरेको मात्र खबर पाएका आफन्तहरूले कहिले हो विवाह? भनेर गर्ने प्रश्नहरूले बेला बखत तर्साउने पनि गरिरहेका थिए।
आज पनि मूलढोकाबाट छिर्दै गर्दा मेरै भाँडिएको विवाहको कुरा गर्दै कसैसँग रुँदै गरेकी मेरी आमा को विवशता देख्न पुगेँ, आँसु त आफ्ना पनि कसैले नदेख्ने गरी कति झरेका थिए कति।, आज पनि नचाहँदा नचाहँदै झन् धेरै बगाउन पुगें,अधैर्य भएँ र केही नसोची आफैंले काटिदिएको नम्बरमा फोन गरेर आफू मञ्जुर भएको बताइदिएँ।